सेता आवरणभित्र कालो मन

प्रिय मित्र विष्णुजी
गोरक्ष राष्ट्रिय दैनिक पत्रिकामा असोज २६ गते तुलसीपुरमा स्वास्थ्य सेवाको यथार्थ धरातल भन्ने तपाईले लेख्नुभएको आलेख अध्ययन गर्ने अवसर प्राप्त भयो । अध्ययन गर्दै जाँदा म स्तब्ध भए । घटना र मर्म तपाईको परिवारसँग सम्बधित भए पनि स्वास्थ्य सुरक्षाजस्तो संवेदनशीलताले समुदायमा चासोको विषय बन्न गएको छ । तपाईले लेख्नुभएको आलेख प्रसङ्ग बुहारी सुस्मिताको प्रसुतिको सवाल थियो ।

गुमेको वस्तुको क्षतिपूर्ति हुने सम्भाबना मैले पनि देखेको छैन र तर घटना प्रस्तुतीकरणको अध्ययन गर्दै जाँदा तपाई र तपाईको परिवारले भोग्नुपरेको पीडा अरुले भोग्नु नपरोस् भन्ने छ । तपाई यो समुदायको सचेत नागरिक हुनुहुन्छ । सचेत नागरिकले आफूभन्दा भोलिका दिनमा यस्ता घटनाले अरु पीडित हुन नपरोस् भन्ने उद्देश्यलाई पुरा गर्नुभएको छ ।

चिकित्सकबाट भएको लापरबाही र कमजोरीका कारण तपाईको परिवारका सदस्यमाथि भएकोे ठूलो क्षति र चोट पुगेको छ । तपाईको उमेरको उत्तराद्र्धसम्म शिक्षा क्षेत्रमै सक्रिय रहनुभयो । जीवनमा कयौ दक्ष जनशक्ति उत्पादन गर्न तपाईको योगदानलाई यो समुदायले भुल्न सकिँदैन । चिकित्सकहरू देवतासरह हुन् । तर सेतो आवरणभित्रको कालो मन भएका कुनै चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान जान सक्ने सम्भाबना र अंगभंग हुन सक्ने देखिन्छ । तपाई र तपाईको परिवारमाथि परेको पीडालाई सम्झँदै गर्दा स्वास्थ्य क्षेत्रबाट पछाडि परेको तुलसीपुर क्षेत्रको यथार्थको स्मरण भयो ।

सरकारले स्वास्थ्यजस्तो संबेदनशील क्षेत्रको आवश्यकता तुलसीपुर क्षेत्रका लागि प्राथमिकतामा कहिल्यै राखेन । फेरि सम्झे यहाँका नागरिकले अस्पताल स्थापना गर्न भनी सञ्चालन गरेको महापुराणमा जुन उत्साहजनक सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रबासीले लिएको सामूहिक संकल्प पूरा गर्न २०६२ सालमा महापुराण सञ्चालन गरेका थियौं । तुलसीपुर उद्योग बाणिज्य संघ सक्रिय भयो । संघको अध्यक्ष दिपेन्द्रकुमार खत्री हुनुहुन्थ्यो ।

संस्थापक अध्यक्ष भएको हैसियतले म र पूर्ब अध्यक्षहरु तथा समितिहरु र दाङ जिल्लामात्र होइन यहाँबाट प्राप्त गर्ने स्वास्थ्य सेवाका लागि उत्साही हुँदै छिमेकी जिल्ला रोल्पा, रुकुम, सल्यान, प्युठानलगायत राजनीतिज्ञ, पूर्ब जनप्रतिनिधि, उद्योगी ब्यबसायी, अभियन्ता, नागरिक समाज, पत्रकारहरु, किसान, मजदुुर, सचेत नागरिकले अब महापुराण सञ्चालन गर्ने र त्यसबाट प्राप्त आर्थिक संकलनले अस्पताल स्थापना गर्ने अयिभानमा जुटेका थियौं ।

यहाँका प्रत्येक नागरिकहरुको पसिनाबाट निर्माण गरिएको तत्कालिन राप्ती अञ्चल अस्पताल हालको राप्ती प्रादेशिक अस्पताल हाम्रो लागि सम्पत्ति हो । के तपाई हामीले गरेको ती प्रयास नागरिकको स्वास्थ्यमाथि लापरबाहीकै लागि गरिएका थिए ? पक्कै होइन, जतिसुकै कुशल र दक्ष भए पनि गल्ती हुन सक्छ । तर गल्तीलाई सुधार गर्ने कि नगर्ने प्रश्न यहाँ छ ।

बिष्णु जी, बुहारी सुस्मिताले आफ्नो शारीरको एउटा अंग गुमाउनु परेको छ । चिकित्सकको लापरबाहीका कारण उनीले कति धेरै पीडि भोग्नुपरेको छ । थप उपचारका लागि समेत आर्थिक रुपमा क्षति हुन पुगेको छ । कुनै पनि चिकित्सकको लापरबाहीका कारण अब कसैको छोरी–बुहारीले शारीरिक अंग गुमाउन हुँदैन । स्वास्थ्य सेवालाई कर्मको रुपमा लिनुपर्छ, पैसाका लागि जे–पनि गरिदिने ब्यबहारलाई अन्त्य गर्दै सेवाको भावको संस्कृतिको बिकास गर्न सक्नुपर्छ ।

मेरो आग्रह हो, सरकारी अस्पतालभन्दा निजी अस्पतालप्रतिको मोहलाई चिकित्सकहरुले कम गर्दै जानुपर्छ । यो कुरा तपाईको आलेखमा पनि प्रस्तुत गरेको पाए । अन्त्यमा बुहारी सुस्मिताको स्वास्थ्य लाभको कामना । कोरोना भाइरस संक्रमणको त्रासमा पनि कर्तब्यनिष्ट भई अग्रपंक्तिमा खटिने चिकित्सक र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतप्रति नतमस्तक छु । कोरोना भाइरसबाट सबै सुरक्षित होऔ । अन्त्यमा बिजया दशमी, दीपावली तथा छठलगायतका पर्वको हार्दिक शुभकामना ।
तपाईको
डिल्लीबहादुर बस्नेत
तुलसीपुर ५ दाङ