प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत, ९० बेड सञ्चालनमा

गोरक्ष समाचारदाता
तुलसीपुर, ३० । हेल्थपोष्ट, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, अञ्चल अस्पताल हुँदै प्रादेशिक अस्पतालका रुपमा स्थापित भएको तुलसीपुर प्रादेशिक अस्पतालले सरकारले प्रदान गरेको ५० बेडको कर्मचारी÷स्वास्थ्यकर्मीहरुको दरबन्दीले अहिले ९० बेडमा सञ्चालन गर्नुपर्दा केही प्रशासनिक एवं प्राविधिक तथा व्यवस्थापकीय कठिनाई भएको बताइएको छ ।

प्रदेश सरकारको अस्पताल व्यवस्थापनमा सुदृढीकरण कार्यक्रमअन्तर्गत बिहीवार तुलसीपुरमा सम्पन्न भएको न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्यांकनको समीक्षा गोष्ठीमा यो तर्क प्रस्तुत गरियो । साथै समीक्षा गोष्ठीमा यो बर्षको मूल्यांकनमा प्रादेशिक अस्पताल एक खुड्किला माथि उक्लेको पनि बताइएको छ ।

गत साल मूल्यांकनमा सो अस्पतालले ३८ नम्बर पाएको थियो भने यो बर्षको मूल्यांकनमा ६६ नम्बरमा उक्लेको छ । यद्यपि सुधारका पक्षहरु भने धेरै रहेको अनुगमन तथा मूल्यांकनका स्रोतव्यक्ति अच्युतराज कार्कीले जनाएका छन् । ‘स्थलगत अनुगमन तथा मूल्यांकनमा अस्पताल गत सालभन्दा धेरै माथि उठेको छ तर पनि तत्काल सुधार गर्नुपर्ने तथा एक बर्षभित्रै सुधार गर्नुपर्ने धेरै पक्षहरु छन्, यसमा विशेष ध्यान दिनुहुनेछ भन्ने अपेक्षा छ’, समीक्षा गोष्ठीमा आफ्नो मूल्यांकन निष्कर्ष सुनाउँदै डा. कार्कीले भने ।

अस्पतालमा रेफरल केशहरुमा कमी आएको, मानव संशाधन र कन्सल्टेन्स सेवामा सुधार आएको तथा कोभिड–१९ को संक्रमण व्यवस्थापन र स्वास्थ्य उपचारमा समन्वयकारी भूमिका खेल्न सफल भएको एउटा सुधारात्मक पक्ष रहेको बताउँदै डा. कार्कीले फोहर व्यवस्थापन, क्यान्टिनको व्यवस्थापन, अस्पतालको म्यापिङ तथा संकेत, विभिन्न वार्डहरुमा भिन्नाभिन्नै नर्सिङ स्टेशन, इमर्जेन्सी ट्रियज एरियाको व्यवस्थापन, जनशक्तिको पूर्ण परिचालन तथा स्वास्थ्य सेवा विस्तारका सन्दर्भमा तत्काल सुधार गर्न पनि अस्पताललाई सुझाव दिइयो ।

त्यसैगरी अस्पताललाई बढी क्रियाशील र जनशक्तिलाई जवाफदेही बनाउन हरेक विहान व्यवस्थापकीय कन्फ्रेन्स पनि तत्काल शुरु गर्न सकिने पनि सुझाव थियो । ‘एउटा कुरा अस्पतालबाट निस्केको कुनै पनि फोहरलाई जलाउन तथा प्लाष्टिकजन्य पदार्थलाई गाड्न पनि मिल्दैन, फोहर संकलनका लागि गल्ने र नगल्ने बाल्टिनको व्यवस्थापन गरिएको छ, तर उठाउँदा फेरि एकै भ्यानमा राख्ने गरिएको भन्दै डा. कार्कीले फोहर व्यवस्थापनमा स्थानीय सरकार तथा केही इच्छुक गैरसरकारी संघसंस्थाहरुसँग पनि समन्वय र सहकार्य गर्न सुझाव दिए ।

साथै हरेक वार्डमा एकदमै सिकिस्त बिरामीका लागि तत्काल चिकित्सक बोलाउनका लागि कहिलेकाहिँ मोवाइल पनि सफल हुन नसक्ने बताउँदै सेन्ट्रल पेजिङ सिस्टम जडान गर्न पनि उनको सुझाव थियो, ताकि यो माइकिङ सुनेर सम्बन्धित चिकित्सक वार्डमा पुग्न सकोस् । अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अस्पताल विकास समितिका सदस्य प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अस्पतालको भौतिक एवं व्यवस्थापकीय सुधारका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग हुने आश्वासन दिए ।

‘म पनि यो अस्पतालको एक सदस्य हुँ, अस्पतालमा भैपरी आउने सबै समस्याको सहजीकरणमा मेरो सधै सकारात्मक भूमिका रहने छ’, प्रमुख अतिथि आचार्यले भने । अनुगमन तथा मूल्यांकन समीक्षाका विषयमा जनार्दन पाठकले विषय प्रवेश गराएको सो कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले अस्पतालले गत आर्थिक बर्षमा हासिल गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए । ५० बेड स्वीकृत दरबन्दीले ९० बेड सञ्चालन गर्नु आफैमा चुनौती रहेको स्मरण गर्दै डा. शर्माले यसबीचमा पनि अस्पतालले केही सुधारात्मक कार्यहरु गरेको स्पष्ट पारेका थिए ।

डेलिभरी र सर्जरीमा उल्लेख्य सफलता हासिल गर्दै अस्पतालले अघिल्ला बर्षहरुमा भन्दा रिफरल केसमा पनि धेरै कमी ल्याएको उल्लेख गरे । करिब ५३ हजार बिरामीको उपचार गरिएकोमा ६ सय जना बिरामीलाई मात्र अन्यत्र रिफर गर्नुपरेको डा. शर्माको प्रस्तुतीकरणमा उल्लेख थियो । प्रयोगशालामा भवन अभावका कारण कल्चर गर्न नसकिएको भन्दै अधिकांश परीक्षण अटोएनालाइजर मेसिनबाट हुँदै आएको पनि उनको अभिव्यक्ति थियो ।

फोहर व्यवस्थापनमा अस्पतालको केही कमजोरी रहेको बताउँदै उनले त्यसलाई वैज्ञानिक व्यवस्थापनका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने बताए । त्यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको नभई अक्सिजन जेनेरेटर मात्र सञ्चालनमा आएको बताउँदै कम्तीमा ६ वटा सिलिण्डर अटोमेटिक रुपमा सञ्चालनमा आइरहेको पनि उनको अभिव्यक्ति थियो । तिहारअघि सिटिस्क्यान मेसिन जडान हुनेमा विश्वस्त पार्दै उनले अब आइसियु र एनआइसियु कक्ष पनि चाँडै सञ्चालन हुने अभिव्यक्ति दिए । ‘मलाई थाहा छ, बाँसको झाडीमा हामीले क्यान्टिन चलाइरहेका छौं, त्यसलाई पनि सुधार गर्दै लैजाने छौं’, प्रस्तुतीकरणमा डा. सर्वेशले भने ।

तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन संयोजक नवराज लामिछानेले आवश्यक परेको विपद्मा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन एवं सूचना प्रणालीको विकास गर्न तुलसीपुर उपमहानगरपालिका सधै सकारात्मक रहेको बताए । प्रादेशिक अस्पताल तुलसीपुर उपमहानगरपालिकाको पनि स्वामित्व भएको उल्लेख गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाको आवश्यक सहयोग रहने उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निर्देशक डा. विनोद गिरीले तुलसीपुर प्रादेशिक अस्पतालको स्तरबृद्धि गरी कम्तीमा ३ सय बेडमा स्तरोन्नति गर्न प्रदेश सरकार लागिपर्ने पनि बताए । कार्यक्रमको सहजीकरण कौशल भण्डारीले गरेका थिए ।