सुर्खेत, २७ असोज । आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि धर्मराउन पुगेको महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो ।
नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रस्तावबाट पछाडि हटेका छन् ।
योसँगै मुख्यमन्त्रीको पद तत्कालका लागि जोगिएको उनको सचिवालयले जनाएको छ । आफू सुरक्षित रहेको सन्देश दिन मुख्यमन्त्री शाहीले मंगलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कुनै पनि हालतमा मिल्न दबाब दिएपछि दुई पक्षबीच वीरेन्द्रनगरमा सोमबारबाटै छलफल चलेको थियो ।
अन्ततः मंगलबार नेपाल पक्षलाई तीन मन्त्री र सचेतक दिन मुख्यमन्त्री तयार भएपछि सहमति जुटेको बताइएको छ । अविश्वासको प्रस्तावमा छलफल गर्न मंगलबार दिउँसो १ बजे बैठक डाकिएको थियो । तर, हस्ताक्षर गरेका नेपाल पक्षका सांसदहरु उपस्थित नभएपछि उक्त बैठक नै प्रभावित भएको छ । पदीय भागबण्डा मिलेपछि नेपाल पक्षका सांसदहरु पछाडि हटेका हुन् । योसँगै मुख्यमन्त्रीलाई तत्कालका लागि राहत मिलेको छ ।
स्रोतका अनुसार मंगलबार नै नेपाल पक्षले मन्त्रीका लागि मगुका सांसद चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटका करवीर शाहीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार चाँडै मन्त्री नियुक्त गर्ने तयारी छ । अविश्वासको प्रस्तावमा नेपाल समूहका सात जनाले हस्ताक्षर गरेका थिए ।
केन्द्रको दबाब र प्रदेशमा भागबण्डा मिलेपछि आफूहरु पछाडि हटेको नेपाल पक्षका एक सांसदले बताए । यो सहमति कार्यान्वयन भएमा कर्णालीमा नेपाल समूहका चारजना मन्त्री हुनेछन् । अहिले नेपाल पक्षमा प्रकाश ज्वाला आर्थिक मामिलामन्त्री छन् । यता नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नभएपछि अविश्वासको प्रस्ताव दर्ता गराएको पक्ष भने आन्तरिक छलफलमै रहेको छ ।
४० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाका ३३ जना सांसद छन् । जसमध्ये अध्यक्ष केपी ओली पक्षका १२, प्रचण्ड पक्षका १३ र नेता नेपाल पक्षका ८ जना सांसद छन् ।