दाङमा अधिकांस कोरोना संक्रमित घरमै

दाङ, २७ असोज । जिल्लामा पछिल्लो समय कोरोना संक्रमित बढिरहँदा कोरोना संक्रमितको उपचारका लागि खोलिएको कोरोना विशेष अस्पताल भने खाली हुँदै गएको छ । पछिल्लो समय दाङमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।

एक साताको तथ्यांक अध्ययन गर्दा जिल्लामा कोरोना संक्रमित बढेर आएको छ । सरकारी लापरबाहीका कारण जिल्लाका अधिकांश कोरोना संक्रमितहरु पछिल्लो समय घरमै बस्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७ जना पुगेका छ । उनीहरुमध्ये १ हजार १ सय ३९ जना उपचारपछि घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए ।

उनका अनुसार दाङका ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ३ सय बढी संक्रिय संक्रमित छन् । उनीहरुमध्ये दश बेड आइसियुसहित करिब ७० जना विरामीको उपचारका लागि प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा अहिले १० जना मात्रै कोरोना संक्रमितहरु उपचाररत छन् ।

देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टरमा ४१ जना रहेका छन् भने कतिपय कोरोना संक्रमितहरु होटेल आइसोलेसनमा बसेका छन् । ३ सय बढी कोरोना संक्रमितहरु घरमै बसेका छन् । घरमै होम आइसोलेसन बसेका कोरोना संक्रमितहरुको अवस्था के छ भन्ने अवस्था पालिकास्तरमा रहेका स्वास्थ्य शाखामा हुनुपर्ने हुन्छ ।

होम आइसोलेसनको अवस्था के छ ? संक्रमितको अवस्थाका बारेमा बुझ्नुपर्ने भए पनि अहिले बेखवर भएको संक्रमितहरुको गुनासो छ । विगतमा स्थानीय तहले कन्ट्रयाक्ट ट्रेसिङ गरे पनि अहिले त्यो पनि बन्द भएको छ । स्वेच्छिकरुपमा जिल्लामा कोरोना परीक्षण हुने गरेको छ ।

थपिए ३ हजार ५ सय ५६

देशभर मंगलवार कोरोना भाइरसका ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ३ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७८ हजार ७ सय ८० संक्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

अविवाहित बढी जोखिममा

हालै गरिएको एक अनुसन्धानले कोरोना संक्रमण भयो भने त्यसबाट मृत्यु हुने जोखिम विवाहितलाई भन्दा अविवाहित व्यक्तिलाई बढी हुने देखाएको छ । स्विडेनमा गरिएको अनुसन्धानले यस्तो दाबी गरेको हो ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमणबाट मृत्यु हुने खतरा विवाहितलाई भन्दा अविवाहितलाई तथा महिलालाई भन्दा पुरुषलाई बढी हुने देखाएको हो । उक्त अनुसन्धानअनुसार महिलालाई भन्दा पुरुषलाई कोरोनाबाट मृत्यु हुने जोखिम २ गुणा बढी हुन्छ भने महिला हुन् वा पुरुष, विवाहितलाई भन्दा अविवाहितलाई मृत्युको जोखिम डेढ गुणा बढी हुन्छ ।

उक्त अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ । जुन तथ्यांकमा त्यहाँ कोरोनाका कारण मृत्यु भएकामा अविवाहित पुरुषको संख्या बढी छ भने तिनको उमेर २० वर्ष वा त्यसभन्दा केही बढी पाइएको छ ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धानमा स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका अनुसन्धानकर्ता स्भेन ड्रेफलले भनेका छन्, ‘खासगरी अरू देशमा भन्दा स्विडेनमै जन्मिएका मानिसमा यस्तो जोखिम बढी पाइएको छ । कोरोनाबाट मृत्युको जोखिम कम आय र शिक्षासँग पनि जोडिएको पाइयो ।’ कम शिक्षा र आय भएका मानिसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन नसक्ने वैज्ञानिकको दाबी छ ।

एन्टिजेन परीक्षण शुल्क १ हजार

मन्त्रालयले कोरोनाको एन्टिजेन परीक्षणका शुल्क १ हजार रुपैयाँ तोकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ को चौथो संशोधन स्वीकृत भएको भएको जनाउँदै परीक्षणको शुल्क पछि परिमार्जन हुँदै जाने बताए ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन, इमरजेन्सी युज अथोरोइजेसनबाट मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएका किटमात्र सूचिकृत हुनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाएका प्रयोगशालालाले मात्र यो परीक्षण गर्न पाउनेछन् ।

बायोसेफ्टी प्रोटोकल नमुना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकेबमोजिम हुनेछ । परीक्षणको नतिजा पोजेटिभ आएका इडिसिडी र सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ ।