Goraksha

National Daily

मेरो खुशी : जनमुखी सेवा दिँदा …

1 min read

मेरो इच्छा लाहुरे बन्ने थियो । मेरो बुबा पनि ब्रिटिस लाहुरेमा भर्ती भएर धेरै समय सेवा गर्नुभयो । त्यो देखेर मलाई पनि लाहुरे बन्ने सोच पलाएको थियो । तर म लाहुरे हुन गएपछि बुबाले लाहुरे हुनु हुँदैन भन्ने गर्नुहुन्थ्यो । म नखाई, नलाई तँलाई पढाउँछु पढनुपर्छ भन्नुहुन्थ्यो । लामो समय राष्ट्र सेवकको रुपमा काम गरेका तुलसीपुर निवासी विक्रमबहादुर सोमैले भने ।

‘जे हुन्छ राम्रोकै लागि हुन्छ भन्नछन् म लाहुरे नभए पनि नेपालमै जनताको सेवा गर्न पाए, म यसैमा खुशी छु, मेरो खुशी यही हो’ उनले भने । ईलाका प्रशासन कार्यालयका पूर्व प्रमुख समेत रहेका विक्रम सोमैले आप्mनो पहिलो खुशी जनताको सेवा नै रहेको बताए । ‘मेरो पहिलो खुशी नेपालमै बसेर नेपाली जनतालाई जनमुखी सेवा प्रदान गर्नु नै रहेको छ, यसैलाई पहिलो खुशी लेखिदिनुहोला’ –सोमैले भने ।

पाल्पा जिल्लाको तानसेन ७ सुन्दरगाउँमा जन्मिएर कर्मथलो हाल दाङको तुलसीपुर बनाएका सोमैले आफू प्रशासनको जागिर खाँदा दाङ, रोल्पा, बर्दिया हुँदै काठमाडौंको अन्तर्राष्ट्रिय विमान स्थलको अद्यागमन अधिकृतको रुपमा समेत रहेर काम गरेको सुनाए । त्यो सँगै उनले अर्को खुशी २०४२ सालमा नासुमा लोकसेवा पास हुँदा भएको सुनाए ।

एसएलसी पास गरेपछि पढ्दै गर्दा २०३५ सालमा मुखियामा लोकसेवा पास गरेका सोमैले लोकसेवा दिएको र आफू पास भएको पत्र पाएको सुनाए । त्यस्तै उनको पहिलो जागिर बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा भएको र त्यसपछि नासुमा नाम निकालेको उनले बताए । ‘मलाई आफन्तहरुले पनि लोकसेवा दिनुपर्छ जागिर खानुपर्छ भन्नुहुन्थ्यो, मैले लोकसेवा दिए अनि पास पनि भए म त्यतिबेला पनि खुशी भएको थिए’ –सोमैले भने ।

उनले नासुमा नाम निकालेर जिल्ला प्रशासन कार्यालय प्यूठानमा पोस्टिङ भए पनि अञ्चालधीश कार्यालय तुलसीपुरमा रहेर काम गरेको सुनाए । प्यूठानमा केही समय काम गरेको र त्यसपछि तुलसीपुरमा आएको उनले बताए । त्यस सँगैसँगै रोल्पामा ४ वर्ष सेवा गरेको बताए । उनले रोल्पापछि बर्दिया जिल्ला प्रशासनमा गएर सेवा गरेको बताए । त्यतिबेला बर्दियाको राजापुर ईलाका प्रशासनमा काम गर्दा पनि त्यहाँको विकास निर्माणदेखि अन्य कामहरु गरी जनतालाई सहज सेवा दिन पाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै तुलसीपुर कारागारको प्रमुख भएका सोमैले कारागार सुरक्षा, त्यहाँका बन्दीहरुलाई औषधोपचार तथा उनीहरुको सेवा सुविधाको राम्रो व्यस्थापन गरेकोमा पनि खुशी व्यक्त गरे । २०६४ सालमा अधिकृत भएर तुलसीपुर स्थित ईलाका प्रशासनमा आएको र यहाँ आएपछि जनप्रतिनिधि नभएको समयमा बजार व्यवस्थापन र यहाँको शान्ति सुरक्षा सबैको सहकार्यमा कायम गर्न पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए ।

‘त्यतिबेला जनप्रतिनिधिविहीन अवस्था थियो, सबैलाई मिलाएर सबैको काम गर्न पाउँदा मलाई निकै खुशी लाग्ने गरेको छ’ उनले भने । यहीले पनि यहाँका जनताले आफूलाई सम्झदा झनै खुशी लाग्ने गरेको सुनाए । उनले यहाँ हुँदा सबैको मन जितेर सहज छिटोछरितो सेवा दिएर जनताको मन जितेकोमा पनि खुशी व्यक्त गरे । उनले दूरदराजका जनतालाई नागरिता प्रदान गर्दा हुने समस्याको समाधान गरेको पनि बताए ।

‘त्यतिबेला हामीले एउटा नगरपालिकासँगै १५ वटा गाविस हेर्नुपर्ने अवस्था थियो, मैले सबैलाई सहज सेवा दिएको थिएँ’–उनले भने । उनले सेवाग्राहीहरुलाई सन्तुष्टि दिन पाउँदा खुशी र आनन्दको अनुभूति मिलेको बताए । उनले दूरदराजबाट नागरिता गराउन आउनेहरुका लागि दलित सेवा संघबाट बाटो खर्चको व्यवस्था समेत मिलाएको सुनाए । ‘उहाँहरुले दलितलाई मात्र बाटो खर्च दिनुहुन्थ्यो, मैले अन्य बेखर्चीलाई पनि दिनुपर्छ भनेर पहल गरेको थिए’–त्यो पनि मेरो खुशी हो’–उनले भने ।

त्यस्तै सोमैले ८४ वर्षकी सासुआमाको चौरासी गरी उहाँको नाममा बृद्ध सेवा समितिमा अक्षयकोष स्थापना गर्दा पनि खुशी लागेको सुनाए । उनले विभिन्न समयमा विभिन्न सामाजिक काममा लाग्न पाउँदा पनि खुशी हुने गरेको सुनाए । त्रिभुवन विमान स्थलमा रहँदा पनि धेरैलाई सेवा गर्ने अवसर पाएकोमा पनि खुशी व्यक्त गरे ।

उनले विदेश जाने र आउने नेपालीलाई खानादेखि विभिन्न सहयोग गरेको बताए । उनले कोही पानी खान नपाएको अवस्थामा पनि आफूले त्यसको व्यवस्था मिलाएको बताए । त्यस्तै २०३२ सालमा शारदा मावि मदन–पोखरा पाल्पाबाट एसएलसी पास गरेका सोमैले एसएलसी पास हुँदा पनि अर्को खुशी मिलेको सुनाए । उनले त्यति पास भएको सुनेपछि खुशियालीमा जल्बी खुवाएको सुनाए ।

उनले आफूले सेवा गर्दा घरपरिवारको पनि सहयोग प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे । उनले श्रीमती खेलकुद विकास समितिको कार्यालय प्रमुख तथा सुटिङ प्रशिक्षक रहेको र उनको साथ र सहयोगले आफू यहाँसम्म आएको भन्दै खुशी व्यक्त गरे । त्यस्तै छोरा अष्ट्रेलिया र छोरी यूकेमा बस्दै आएको र उनीहरुको प्रगतिमा पनि आफू खुशी भएको सुनाए ।

त्यस्तै रफिकोलको सदस्य समेत रहेको सोमैले आफू जागिरपछि सामाजिक सेवामा लागेको र यसैमा खुशी मिलेको सुनाए । उनले सामाजिक सेवामा लाग्दा आफूलाई पछिल्लो समयमा खुशी मिलेको सुनाए । तुलसीपुर निवासी विक्रमबहादुर सोमै ईलाका प्रशासन कार्यालय तुलसीपुरका पूर्व प्रमुख तथा राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका कार्यसमिति सदस्य हुन् ।

प्रस्तुती : बालाराम खड्का