बडा दशैँ २०७७ र कोभिड–१९

नारायणप्रसाद श्रेष्ठ
आपसी मेल र भाइचाराको अभिबृद्धि गर्दै सत्यको विजयी हुने यथार्थ कहानी बोकेको बडादशैँ अब केही दिनपछि हाम्रो घरआँगनमा भित्रिँदै छ । आसुरी शक्तिको नाश गरी दैवीय शक्तिको स्थापना गर्दै बाँच र बचाउको सिद्धान्त बोकी आउन लागेको बडादशैं २०७७ हिन्दूहरुको महान पर्व हो ।

सामाजिक सद्भाव र पारिवारिक मिलन हुने अवसर जुटाएको यो पर्वले साच्चिकै रुपमा नयाँ परिवशे उद्घाटन गर्न पुगेको छ । असत्यमाथि सत्यको विजयी हुने आध्यात्मिक सत्यभित्र मनाइने यस पर्वले आचरण र अनुशासित मर्यादाभित्र रहन सबैलाई प्रेरणा प्रदान गरेको छ । दृष्टिदोष र क्षणिक स्वार्थका कारण आशक्तिभित्र लुटपुटिएको दानवीय चरित्र कसरी अहंकारी हुँदोरहेछ, यसको उजागर गर्दै झुठ, फरेव र आशक्तिमा होइन यथार्थ सत्यभित्र रहेको मानवीय आचरण र व्यवहार गर्न गराउन यस पर्वले शिक्षा दिन पुगेको छ ।

दुःखपछि सुखको अनुभूति हुने गरी विछोडपछिको मिलनले ल्याउने उत्साह, खुशी र उमंग यो पर्वसँग गाँसिएको छ । असत्यमाथि सत्यको विजयाको प्रतीक स्परुप मनाइने यस पर्वले अत्यचार र दूराचार लामो समयसम्म रहँदैन, दृष्टिदोषका कारणले उत्पन्न हुने दानवीय चरित्र अनिवार्य रुपले नाश हुन्छ भन्ने यथार्थ सत्यकथा बोकेको छ । यो पर्वले स्वार्थ र सम्पन्नताले आफूलाई जति पनि उच्च ओहदाको पकडी गुथे पनि पाप धुरीबाट कराउँछ र यो अवश्य नाश हुन्छ भन्ने सन्देश सिकाउन पुगेको छ ।

काम, क्रोध, लोभ, मोह र अहंकार मानव जीवनलाई प्रदूषित बनाउने गलत आचरण भएकोले यसलाई जरैदेखि निर्मुल गर्नुपर्छ भन्ने सत्य यहाँ जोडिएको छ । चर्मदृष्टिले देखेको सबै वस्तु सत्य हुँदैन र असत्यले सत्यलाई कहिल्यै ढाक्न छोप्न पनि सक्दैन भन्ने यथार्थ बोकेको बडादशैं पर्व हिन्दू अनुयायीहरुका लागि महान खुशीको पर्वको रुपमा देखापर्दै आएको छ ।

आसुरीशक्तिबाट प्राप्त हुने क्षणिक खुशीले सांसारिक जीवन कति पतीत हुँदोरहेछ ? यो सन्देश प्रवाह गर्दै असल कर्म भनेको पुण्य हो र आचरणहीन कर्म र परचिन्तन परामुखी आचरण भनेको पाप हो भन्ने कुरा यस पर्वले सबैलाई स्पष्ट पार्न खोजेको देखिन्छ । त्यसैले सत्यवादी चरित्र आफैबाट सुरु गर्न तथा दुःखपछिको सुख अनुभूति गर्ने पर्वको रुपमा यसलाई मनाउनु पर्छ ।

यसरी सुरु हुन थालेको बडादशैं पर्व २०७७ कार्तिक १ गते घटस्थापनासँगै सुरु हुँदै छ । शक्तिपीठको पूजाअर्चना तथा घरआँगनको कोठा, चोठा सफा गरी यो पर्व मनाउने गरिन्छ । स्वस्थ र आदर्श जीवनशैलीले मानव जीवनमा नयाँ सञ्चार जागृत गर्छ भन्ने मान्यता रहेको यस पर्वमा सबै टोल मिली, धारा, कुवाँ, इनार, पाटी, पौवा, सत्तल, चोक, गल्ली सबैतिर सरसफाई गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

नौ दिनसम्म विभिन्न शक्तिको पूजाअर्चना गरी दशौँ दिन विजयोत्सवको रुपमा मनाइने यस पर्वले असल आचरणको विजारोपण गराउने उद्देश्य बोकेको देखिन्छ । भ्रमभित्र पालिएको दृष्टिदोषलाई हटाई यस पर्वमा सबैले राम्रो लाउने, मीठो खाने प्रबन्ध गरेको हुन्छ । आफ्नो गक्ष अनुसार हाँसी–खुशी रमाइलो गर्दै मनाइने यस पर्वमा रामले रावणमाथि गरेको विजय अथवा आसुरीशक्तिमाथि दैवीय शक्तिले प्राप्त गरेको विजय गाँथा यस पर्वमा समेत जोडिएको छ । क्रोध र घमण्डले ल्याउने परिणतिको पर्दाफास गर्दै स्वार्थ धेरै टिक्दैन, असत्य दिगो रहँदैन भन्दै सबैलाई सचेतना अभिबृद्धि गर्न खोजेको छ ।

यति मात्र होइन यस पर्वभित्र आधा आकाश ढाकेको महिलाशक्तिभित्र छिपेको शाहस, धैर्य, अठोट र लगनशीलता पनि यहाँ देखाउन खोजिएको देखिन्छ । महिलाशक्तिको अतुलनीय उदाहरण दिँदै विजयोत्सवको रुपमा मनाइने यस पर्वले हिन्दू सभ्यताको उत्कृष्ट चरित्र प्रदर्शन गर्न खोजेको छ । यसरी विविध उद्देश्य बोकेर आफू र आफ्नो परिवेशभित्र रमाइलो गरी मनाउने बडादशैं पर्व हाम्रो घरआँगनभित्रै आउँदै छ ।

यसको गरिमा र महिमा आफ्नै किसिमको रहेको छ । विदेशी भूमिमा पनि नेपालीले मनाउने बडादशैं पर्वलाई सकारात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ । त्यतिमात्र होइन बडादशैं पर्वले विश्वरंगमञ्चमा संस्कृतिको छुट्टै अस्तित्व कायम गरेर नेपालीको पहिचान बनाएको छ । नेपाली धर्म र संस्कृतिका धनी हुन् भनी विश्वले मानिआएको पनि छ । तसर्थ यस पर्वको मर्म र भावलाई बुझी हामी सबैले यसलाई प्रेरणाको स्रोतको रुपमा स्वीकारी खुशी र हर्षका साथ मनाउने गर्नु पर्छ ।

अहिले कोभिड–१९ को विश्वव्यापी कहरले यो पर्वलाई साँघुरिने अवस्थामा पु¥याए पनि यसको महिमा उच्च छ । कोरोनाको कारणले उत्पन्न भएको रोग र भोगको अप्ठ्यारो परिस्थितिले अहिले हाम्रो महान चाड बडादशैं पर्वलाई खुम्च्याउने परिस्थिति पनि देखापर्दै छ । सरकारले यस पर्वलाई आफ्नै परिवारभित्र सीमित राख्न, अनावश्यक हिडडुल, घुमफिर नगर्न सबैलाई अपील गरेको छ । पहिले बाँचौँ त्यसपछि अगामी सालमा धुमधामसँग बडादशैँ मनाउँला भन्दै दशैँमा तडकभडक तथा भीडभाड नगर्न सबैलाई चेतावनी स्वरुपको अनुरोधपत्र जारी गरेको छ ।

विगत वर्ष जसरी हामीले यस पर्वलाई मनाएका थियौँ त्यही स्वरुप दिन अहिलेको परिस्थितिले अस्वीकार गरिरहेको अवस्था पनि छ । तसर्थ, बडादशैँभित्र लुकेको सत्यलाई आत्मसात गरी जीवनरुपी डुङ्गालाई सहज गति दिन नियम र कानुनको पावन्दीभित्र रही यस वर्षको दशैँ मनाऔँ । यो पनि हाम्रो आफ्नै किसिमको मौलिक सोच हुन पुग्ने छ । कोभिड–१९ ले विश्व आक्रान्त भइरहेको अवस्थामा विगत वर्ष मनाउने तरिकाले यदि हामीले पर्वलाई तडकभडक धुमधामसँग मनाउने परिस्थिति जन्मायौँ भने यसले दूरगामी असर नपार्ला भन्न सकिन्न ।

दिनहुँजस्तो कोभिडको विरामी बढिरहेको सन्दर्भलाई हेर्ने हो भने यो वर्षको दशैँलाई हामीले आफ्नो आचरण र व्यवहारमा परिस्कृत गरी अनुशासित र मर्यादिन हुन सुझाइरहेको छ । पर्व र संस्कृति आफ्नो भए पनि रोग आफ्नो हुँदैन भन्ने सत्य यस वर्ष देखापर्ने अवस्था रहेको छ । नाँच्ने गाउने रमाउने भन्दा बडादशैंले बोकेको सत्य ग्रहण गर्ने किसिमले सत्यवादी चरित्रभित्र आफूलाई रमाउने कोशिस गरौँ । बडादशैँ हाम्रो आदर्श चिन्तनबाट कायम भएको हिन्दूहरुको महान पर्व र संस्कृति हो । यसलाई जीवनोपयोगी मार्गतर्फ अग्रसर गराई दशैँ मनाऔँ ।

कोरोनाले विश्वव्यापी सन्त्रासले गुज्रिरहेको हाम्रो वर्तमानलाई यदि हामीले वाह्य आवरणमा सजाइएको क्षणिक वासनायुक्त मनोरञ्जन प्रदान कार्यलाई प्राथमिकता दिई पर्व मनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुने हो भने हाम्रो वाह्य आवरणमा सजाइएको रमाइलोपनले केही क्षण सार्थकता त लेला तर यदि यसैको कारणले जीवनमा अन्य कुनै भयले पिछा ग¥यो भने हाम्रो वाह्य चिन्तनमा मात्र होइन अन्तर मन पनि अस्वस्थ हुनसक्छ ।

हामी झन बढी पीडामा गुज्रनुपर्ने अवस्था हुन्छ । तसर्थ, असत्य कुराको पछि नलागी सत्यमा आधारित चरित्र निर्वाह गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित गरौँ । विजयादशमीले बोको सत्य ग्रहण गरी आफूलाई पनि सत्यपथमा अग्रसर गराऔँ । बडादशैँ सत्यमा आधारित आचरण र व्यवहार सिकाउने महान् पर्व पनि हो । यसलाई यसरी बुझी विजयादशमी खुशी साथ मनाऔँ । यो वर्तमान समयको आवश्यक हो । विजयादशमी २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना ।