बालबालिका बचाऔं

लामो समयपछि खुलेको लकडाउनपछि निजी तथा सामुदायिक विद्यालयहरु भौतिक रुपमै सञ्चालनमा आएका छन् । केही विद्यालयहरुले दुई वा तीन सिफ्टमा कक्षा सञ्चालन गरिए पनि केही विद्यालयहरु भने यस अघि जस्तै नियमित रुपमै सञ्चालन हुनथालेका छन् ।

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको अनुमति नदिएर वैकल्पिक शिक्षा पद्धतिलाई अवलम्बन गर्न निर्देशन दिइरहेको अवस्थामा पनि स्थानीय तहहरुले शिक्षाको सबै अधिकार स्थानीय पालिकालाई आएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको दाबी गरेका छन् ।

तर समग्रमा विद्यालयमा सामाजिक दूरी, अनिवार्य रुपमा मास्क लगाउने तथा सेनिटाइजर र साबुनपानीको प्रयोग गर्नेजस्ता मापदण्ड समेत पूरा हुनसकेका छैनन् । यति हुँदासम्म पनि स्थानीय पालिकाका शिक्षा विभागहरुले अर्थपूर्ण रुपमा अनुगमन गरी स्वास्थ्यका मापदण्ड पालना गराउनेतर्फ उद्धत देखिएका छैनन् ।

यसै कारण पनि पूर्वी नेपाल, मध्यनेपालदेखि पश्चिम नेपालसम्मकै विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नदेखिएका विद्यालयमा पनि संक्रमणको सम्भावना व्यापक बन्दै गएको छ । दाङ जिल्लाकै केही पालिकामा रहेका केही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा समेत यो संक्रमण देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कोरोनाको संक्रमण फैलन थालेसँगै यसले सबैभन्दा बढी बालबालिका प्रभावित हुने र निधन समेत हुनसक्ने चेतावनी दिइरहेको अवस्थामा यहाँका स्थानीय पालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड नै नअपनाएर विद्यालय सञ्चालनमा ल्याउन निकै दुर्भाग्यको अवस्था हो ।

संक्रमण फैलिसकेपछि घोराही उपमहानगरपालिकालगायत केही पालिकाले दशैँसम्मका लागि विद्यालयमा सार्वजनिक बिदा दिइसकेका छन् । तर संक्रमण समुदाय स्तरसम्मै फैलिएको तुलसीपुर उपमहानगरपालिकाले भने विद्यालय बन्द गर्ने नीति लिएको छैन । यसले विद्यालय स्तरमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमयणको समेत सम्भावना नजिकिएको छ । यदि विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलन थाल्यो भने त्यसले कुनै पनि समुदायलाई अछूतो राख्ने छैन ।

अहिलेका बालबालिका भोलिका कर्णाधार हुन् । यी बालबालिकाहरु स्वस्थ हुनसके मात्र भविष्यमा उत्पादन हुने जनशक्ति पनि दक्ष हुनसक्छ । आजका बालबालिकाले भोलि विश्व चलाउने हो, मुलुक हाँक्ने हो । यिनै बालबालिका राजनेता बन्ने हुन्, यिनै बालबालिकाहरु प्राविधिक जनशक्तिका रुपमा स्थापित हुने छन् भन्ने कुरालाई स्थानीय पालिकाले गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

यस्तो विषम परिस्थितिमा भीडभाडकै अवस्थामा शैक्षिक संस्थामा भौतिक उपस्थिति गराएर पठनपाठन गराउन अभिभावक समेत तयार नरहेको अवस्थामा निहित आर्थिक स्वार्थका लागि विद्यालयहरु जबर्जस्त रुपमा सञ्चालन गर्न खोजिनु उपयुक्त होइन । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई खेलवाडका रुपमा नलिऔँ ।

बालबालिकाको स्वास्थ्यमा गम्भीर बन्दै उनीहरुको स्वास्थ्यको अधिकारलाई सम्मान गरौँ । बालबालिकालाई संक्रमणको भयावह अवस्थाबाट जोगाऔँ ।