गोरक्ष समाचारदाता
दाङ, २६ असोज । कोरोना भाइरसको जोखिमको समयमा समाजमा लैङ्गिक हिंसाको अवस्था बारेमा सीसा नेपालले समुदायमै पुगेर स्थानीयसँग छलफल गरेको छ ।
संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. ४, ६, १५ र १८ नं. वडाका स्थानीयसँग कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपायसँगै लैङ्गिक हिंसाको अवस्थाका बारेमा सोमवार छलफल गरेको हो ।
युएसएआइडीको साझेदारी संघीयता सहयोग कार्यक्रम अन्तर्गत् संस्थाले तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडाहरुमा पुगेर स्थानीयसँग छलफलसँगै उनीहरुलाई कोरोना भाइरसबाट बच्न सहयोग पु¥याउने उद्देश्यले सचेतनासम्बन्धी पर्चा–पम्प्लेट समेत वितरण गरेको सीसा संस्थाकी अध्यक्ष साजिदा सिद्दिकीले जानकारी दिएकी छिन् ।
‘कोभिडको जोखिमको समयमा उनीहरुलाई सचेतनामुलक जानकारीसँगै समाजमा लैङ्गिक अवस्थाका बारेमा कार्यक्रम गरेका हौँ’–अध्यक्ष सिद्दिकीले भनिन्–‘छलफलमा उनीहरुलाई कोरोना भाइरससम्बन्धी सचेतनासँगै लैङ्गिक अवस्थाका बारेमा छलफल भएको हो ।’ उनले यस्ता कार्यक्रमलाई आगमी दिनमा समेत निरन्तरता दिने बताइन् ।
सीसा नेपाल संस्थाकी अध्यक्ष साजिदा सिद्दिकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १५ की वडा सदस्य जानका रेग्मीले जोखिमको समयमा सन्देशमुलक कार्यक्रमले महिलाहरुलाई सचेत बनाउने काम गरेको बताएकी छिन् । उनले अहिलेको कोरोना जोखिमको समय समाजमा लैङ्गिक हिंसाका घट्नाहरु समेत हुने गरेको भन्दै त्यस्ता घट्नाहरुबाट महिला पुरुषहरु सचेत हुनुपर्ने बताइन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की वडा सदस्य यमुना परियार, मेलमिलापकर्ता ज्वाला पौडेललगायतले बोलेका थिए । कार्यक्रममा चार वटा वडामा ८ वटा टोल विकास संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सीसा नेपाल संस्थाले साझेदारी संघीयता सहयोग कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ ।