कोरोना जोखिम कम गर्न मास्क अभियानलाई बढाउदै मञ्च

दाङ,२५ असोज । लकडाउन हटेसँगै जिल्लामा लापरवाहीका कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि भैरहेको भन्दै वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले जिल्लामा मास्क वितरण अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ ।

दाङको नेपाल–भारत सिमा क्षेत्र कोइलावासमा बसेको मञ्चको बैठकले मास्क अभियानको समिक्षा गर्दै अभियानलाई व्यापक बनाउने निर्णय गरेको हो । लापरवाहीका कारण जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएको अवस्थामा सरकारले पीसीआर परिक्षण रोक्नु गलत भएको भन्दै मञ्चले पीसीआर परिक्षणको दायरा बढाउन माग गरेको मञ्चका जिल्ला अध्यक्ष सरोज शाहले जानकारी दिएका छन् ।

‘पहिलो चरणको मास्क वितरण लागि मञ्चले स्थापना गरेको मास्क बैंक अभियान सफल भएको बैठकले निष्कर्ष निकाल्दै अहिले थप जोखिम बढेको भन्दै अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ’–अध्यक्ष शाहले भने–‘त्यसका लागि स्थानीय तहलगायतका विभिन्न क्षेत्रसँग समन्वय गरेर जिल्लाका दशवटै पालिकास्तरमा मास्क वितरण अभियानलाई बढाउने निर्णय गरेको छ ।’

बैठकले जोखिम युक्तक्षेत्रका मानिसहरुको पीसीआर परिक्षण गर्ने बातावरण मिलाउन समेत स्थानीय सरकारसँग माग गरेको छ ।

त्यस्तैगरी बैठकले दाङको सिमा क्षेत्रमा नेपालमा र भारत जोड्ने सवैभन्दा ठुलो नाका रुपमा रहेको कोइलावाससम्म बाटो पिच भैसकाले उक्त नाका सञ्चालनका लागि पहल गर्न समेत सरकारसँग माग गरेको छ । कोइलावास नाका सञ्चालन नहुँदा स्थानीयले हिडेर भारतका विभिन्न सिमावर्ती बजारमा गएर सामग्री किन्नुपर्ने बाध्यता रहेको भन्दै उक्त बाध्यता हटाउनका लागि नाका सञ्चालन गर्न माग गरेको हो ।

साथै बैठकले प्रदेश नं. ५ को स्थायी मुकाम दाङको भालुवाङ क्षेत्रमा ल्याउन आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रदेश सरकार,प्रदेशसभा सदस्य नागरीक समाज, पत्रकार तथा अन्य सारेकारवाला निकायलगायतका सम्पूणलाई धन्यावाद ज्ञापन गरेको छ ।

साथै बैठकले अव छिट्टै दाङबाटै प्रदेश सरकारको प्रशासनिक कार्य सञ्चालनको माग गर्दै बिस्तृत गुरुयोजना निमार्ण गरी संरचना निर्माणको कामलाई तत्काल अगाडी बढाउन माग गरेको मञ्च दाङका सचिब अमर क्षितिज भण्डारीले जानकारी दिएका छन् । बैठक वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाहको अध्यक्षतामा बसेको थियो ।