जेसीज सप्ताह सम्पन्न
दाङ, २४ असोज । दाङ महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम समापन गरिएको छ । सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नं. १३ को बाह्रकुने दह परिसरमा एक कार्यक्रमको आयोजना गरी सप्ताहको समापन गरिएको हो ।
कोरोना भाइरस संक्रमणको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थाहरुलाई समापन गर्दै सप्ताहको समापन गरिएको थियो । कोरोना भाइरस संक्रमणको समयमा पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने संस्थाहरुलाई सम्मान गरिएको थियो ।
जसमा नेपाल पत्रकार महासंघ दाङ, दाङ जिला उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, नेपाल परिवार नियोजन दाङ, नेपाल रेडक्रस सोसाइटी दाङ, नर्सिङ संघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङलाई सम्मान गरिएको थियो ।
दाङ महिला जेसीजका अध्यक्ष जीवा भुसालको अध्यक्षता एवं सांसद अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनु गौरवको विषय भएको भन्दै दाङ जिल्लाले राजधानी पाउनुलाई अवसरको रुपमा लिन अनुरोध गरे । उनले स्थायी राजधानी तोकिसकेकाले अब पूर्वाधार निर्माणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
लामो समयदेखि आफूहरुले लुम्बिनी प्रदेशको राजधानी दाङ बनाउनुपर्ने माग राखेको भन्दै श्रेष्ठले प्रदेशको १२ वटै जिल्लालाई न्याय हुने गरी प्रदेश सरकारले दाङ राजधानी बनाउने निर्णय गरेकोमा धन्यवाद दिए । साथै उनले दाङ महिला जेसीजले सामाजिक कार्य र युवाहरुको क्षमता विकासका लागि गरेको कार्यहरु महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा ब्रह्मकुमारिज ईश्वरीय विश्वविद्यालय राप्तीका प्रमुख गीता न्यौपाने, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, तुलसीपुर जेसीजका पूर्व अध्यक्ष दीपेश भण्डारी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाल, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निर्मला गौतम रेग्मी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष सञ्चिता गौतम, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष रेखा शर्मा, रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दीलिप न्यौपानेलगायतले भनाइ राखेका थिए ।
सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक नारायणी भण्डारीले वृक्षारोपण, रक्तदान, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग, व्यवसायीहरुलाई मनोपरामर्श प्रशिक्षण, सन्देशमुलक रचना वाचन र महिलाहरुका लागि सपिङ–ब्याग बनाउने तालिम आयोजना गरेको जानकारी गराएकी थिइन् ।
कार्यक्रम संयोजक सिन्धु रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसीजका सदस्य अर्चना शर्माले आस्था पाठ गराएकी थिइन् । कार्यक्रमको सहजीकरण दाङ महिल जेसीजका महासचिव संगीता गिरीले गरेकी थिइन् ।