
यम रेग्मी
त्यस रातको घटनाले रक्षामा आफ्नाबाटै धेरै परिवर्तन देखियो । ऊ खुब डराई । बाबाको गाउँसमाजमा मान सम्मान सम्झिई । आफ्नो हैसियत सम्झिई । गोपालको हैसियत सम्झिई । आफ्नो जात सम्झी । उसको जात सम्झी । आफ्ना इस्टमित्र नाता–गोता सम्झी । उसको इस्टमित्र नातागोता सम्झी । आकाश र पातालको फरक देखी । दिन र रातको फरक देखी । उसलाई ठूलै अपराध गरेझैँ लाग्यो । सोच्दा–सोच्दा ऊ यति तल खसिसकी, उसलाई ठूलै खाडलमा भासिएझैँ लाग्यो । जिउँदो मरेझैँ लाग्यो । कसैले थाहा नपाएको र कसैले केही नभनेकोले ऊ केही सहज भई ।
फूलबारीमा अम्बा बोटमा थियो । अम्बा निख्रिँदै थियो । कताकति थिए बोटमा पाकेका अम्बा । रक्षालाई खुब मन प¥यो अम्बा । गोपाल अम्बाको बोटमा चढ्यो । ठूला पाकेका अम्बा भेटायो, बोटमा । अम्बा टिप्यो खानलाई मुखमा हात पु¥याएको के थियो । झल्यास रक्षाको अनुहार आँखामा आयो । उसको मायाले एक्लै खान सकेन ।
बोटबाट रक्षा सुत्ने कोठा स्पष्ट देखिन्थ्यो । कोठातिर हे¥यो पुलुक्क । रक्षालाई विस्तरामा पल्टिएको देख्यो । बोलाउन सकिन । संकेत दिँदै गीत गाउन थाल्यो, ‘मलाई पनि अंगे्रजीमा बोल्न सिकाई देऊ न !’
रक्षा पुलुक्क उठी विस्तराबाट । पुलुक्क हेरी अम्बाको बोटतिर रिसाएको अनुहारले । गोपाल मुसुक्क हाँस्यो रक्षालाई देखेर । उसले हाँसोको जबाफ रिसले दिई । ड्याम्म झ्याल लगाई । झ्याल खोल्दै खोलिन ।
गोपाललाई नमीठो लाग्यो रक्षाको व्यवहार । मन चसक्क ग¥यो । अनुहार मलिन भयो । घाँटी अवरोध भयो । धेरैबेर पाकेको अम्बा हातमा छोपेर हेरिरह्यो । उसले ती अम्बालाई एक्लै खान मन लागेन । बोटदेखि केही पर ढुङ्गाको ठूलो चट्टा थियो । ढुङ्गामाथि फाल्यो पाकेका दुवै अम्बा । थिलोथिलो भयो अम्बा । ओइलिएको मन बोकेर रुखबाट ओर्लियो । सरासर गाउँतिर लाग्यो । दिन बुरेपछि देखाप¥यो ।
‘काँ म¥या थिस् ? यत्रो दिनभरि ?’ सीता भैँसीलाई गोठभित्र लग्दै बोली । सीताको चर्को आवाजले भैँसी चिम्कियो । हातको दाम्लो फुत्कियो । ह्या–ह्या गर्दै तोरीबारीमा गर्कियो ।
गोपाललाई ठिङ्ग उभिएको देखेर सीता बोली– ‘के हेर्छस् ? त्यसरी लाटाले केरा हेरेझैँ । जा तेरो बालाई धपाएर ले । सार्की मात्तियो भने बोसाले के पुच्छ भन्थे रैछ ।’
गोपाल तोरी बारीमा कुद्यो, भैँसी फर्काउन । सकिन, भैँसी आफ्नो बारी पार गरेर पनि छिमेकीको बारीमा पुग्यो ।
सीता भैँसीतिर हेरेर बोली, ‘राम ! राम !! राम !!! अब मार्ने भयो सुगसुगेले । एक त राम्ररी बोल्दैन । त्यसैको बारीमा जानुपर्ने यो भैँसीको साडो पनि ।
त्यो सार्कीको बान नि, हेर तो । झन अगाडिबाट छेक्ला भनेको त झन पछाडिबाट धपाउँछ । यो सार्कीको बानको पनि मात्तिएछ । सार्की मात्तियो भने बोसाले ‘ढेल’ पुच्छ भन्थे रैछ । यसलाई त घरबाट ननिकालेर भैन ।
रक्षा झ्याल खोली र तालबाट बोली, ‘छ्या के बोलेको आमा त्यस्तो ! तपाईंलाई लाज शर्म केही छैन ?’
‘केको लाज हँ ? त्याँबाट नबोल धेरै त डन्किनी । आएर छेकी लाग्नु त काँ हो काँ अझ महारानी बनेर माथिबाट बोल्छेस् ?’ सीता भैँसीको रिस छोरीमाथि खन्याई ।
रक्षा केही बोलिन । जसरी ढोका खोलेकी थिई त्यसरी नै बन्द गरी ।
केही बेरपछि सबै मिलेर भैँसीलाई बाने । वातावरण सहज भयो । तर आफ्नो मरेको बाउलाई पुकारेर गाली गरेकोले गोपाल शान्त हुन सकेन । घरी मरेको बाबुको याद, घरी रक्षाको मायाले छाती पोलिरह्यो । रातभरि रक्षाको मायाले सुत्न सकेन ।
रक्षा मनलाई बसमा राख्न खोज्दै थिई । उसको चेतनाले दूर हुन खोजिरहेको थियो । दिउँसोको आमाको अपमान र तिरस्कारपूर्ण व्यवहार गोपालप्रति मायाको सागर उर्लेर आयो । मर्यादाको बाँध भत्कायो । मनलाई सम्हाल्न सकिने । ऊ पनि रातभरि सुत्न सकिने । छट्पटी चलिरह्यो । सायद मायाको धर्म नै यस्तै हुन्छ होला ।
मध्यरात भएको थियो, छाती पोलिरह्यो । आँखा रसाइरहे । मन पात–पातमा उडिरह्यो । विस्तराबाट जुरुक्क उठी । झ्र्वार सलाई कोरी । पानस बाली । उज्यालो भयो कोठा । तर मन उज्यालो भएन । नजिकै पानीको बोत्तल थियो । घटघटी एक बोत्तलको पानी पिई । लामो श्वास फेरी । पानीले घाँटीलाई केही शीतलता त दियो तर मनलाई शीतलता दिन सकेन । छटपटी पहिलेको जस्तै रह्यो ।
सुस्तरी ढोका घ¥याक पारी र खोली । मध्यरातमा कोठा बाहिर निस्की । आकाशभरि गमक्क कोइरो थियो । एक÷दुईवटा तारा पिलपिल गर्दै रोइरहेका थिए । मस्तसँग निदाएकी थिइन्, पृथ्वी । विश्राम गरेको थियो, यो संसार ।
पेटीबाट हेरी गोठतिर । ढोकाको चरबाट बाहिर उज्यालो आएको देखी । मनमा झन खुलदुली बढायो, उज्यालोले । छामछुम गर्दै गोठतिर लागी । सुस्तरी ढोकाको नजिक गई । ढोकाको पल्ला अलिकति तानी । पल्लाको चरमा आँखा मिलाई । बन्दुकको नालमा सिपाही निसाना लगाएझैँ । यस्तो दृश्य देखी कोठाभित्र ।
झलमल्ल थियो, कोठा । गोपाल लामो सुस्केरा हाल्यो । जुरुक्क उठ्यो विस्तराबाट । चाकल मारेर थचक्क बस्यो तपस्वीझैँ । आँखा चिम्म ग¥यो । हात पछाडि सिरानीतिर लग्यो । छामछुम पा¥यो हातले । सिरानीबाट फोटो निकाल्यो । हातमा फोटो लियो ।
केही बेर हातमा फोटोलाई टोलाइरह्यो । मुसुक्क हाँस्यो । फोटसँग मौन सम्वाद गरिरह्यो । ढोकातिर पुलुक्क हे¥यो । कोही देखेन । फेरि हातको फोटोलाई केही नजिक ल्यायो । वायाँ हातमा फोटो राख्यो । फेरि टोलाएर धेरै बेर हेरिरह्यो फोटोलाई । सुस्तरी दायाँ हात फोटोमा पु¥यायो । कपाललाई सुस्तरी छोयो चोर औलाले । केही बेर कपाललाई मुसारिरह्यो । कपालबाट निधारमा आंैला पु¥यायो । केहीबेर फेरि निधारमा राख्यो औँला । सोही क्रमले गालामा छोयो । अधरमा
छोयो । आँखामा छोयो ।
जब आँखामा औंला राखेर परेलीलाई खेलाइरह्यो ।
तप्प–तप्प परेलीबाट आँसु खस्यो फोटोमाथि । धानका पातबाट विहानीमा शीतका थोपा खसेझैँ । हातले लपक्क पुछ्यो फोटाको आँसु ।
फेरि केहीबेर हे¥यो फोटोलाई बेहोसी नजरले । फोटोसँग कुरा ग¥यो एक पटक । लपक्क छातीमा टाँस्यो फोटो । टाउको ठाडो पा¥यो, सिधा रुखझैँ । लामो श्वास फाल्यो नाकबाट । आँखा चिम्म ग¥यो केहीबेर । विस्तारामा गम्लङ्ग पल्टियो ठूलै रुख जरैबाट पल्टिएझैँ ।
केही बेर शान्त रह्यो मरेको जीवझैँ ।
एक्कासी जुरुक्क उठ्यो खराब सपनाबाट उठेझैँ । घोप्टो प¥यो विस्तरामा । हुँक्क–हुँक्क रुन थाल्यो । जब हुँक्क–हुँक्कको आवाज बाहिर आउन थाल्थ्यो । उसले मुखमा सिरकको बुजो लगायो । घोप्टो पर्दै रोइरह्यो ।
रक्षा योभन्दा अगाडिको दृश्य हेर्न सकिन । भित्रबाट भक्कानो फुटेर आयो । बल गरेर रोकी आवाजलाई । फरक्क फर्की । जसरी गएकी थिइ, त्यसरी नै पलङमा आई । गम्लङ्ग पल्टिइ । लामलुम सिरक ओढी । गोमनसर्प डल्लो परेझैँ डल्लो परी । सिरकभित्र आवाज निकालेर रुन थाली । धेरैबेर रोइरही ।
फेरि सोच्न थाली । कसरी उसले मेरो फोटो प्राप्त ग¥यो ? म वाहेक कसले दियो उसलाई मेरो फोटो ? धेरै कुराहरू मनमा खेलिरहे । भर्खर आँखा निद्राले लठ्ठिँदै थिए ।
पलाँसे थारु गाउँमा ‘कुखुरी काँ’ भाले बासेको आवाज आयो । उज्यालो हुन लागेको संकेत दियो, भालेले । बल गरेर सुत्ने प्रयास गर्दै थिई ।
बाहिरबाट ढोका ढ्याक–ढ्याक पारेको आवाज आयो । आँखा मिच्दै विस्तराबाट उठी । घो¥याक भित्रबाट ढोका खोली । आमा रहिछन् ।
आमाले छोरीको अनुहारतिर हेर्दै बोलिन, ‘छिटो उठेर बाहिर
आइज? तँसँग एउटा काम छ ।’
क्रमशः …