अमरराज आचार्य
दाङ, २६ असोज । दाङको लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापन परियोजना सुरु गर्नथालेको छ । नेपाल नगरपालिका संघको सहकार्यमा यस प्रकारको परियोजना सुरु गरिएको
परियोजनाका फोकर्ल पर्शन गायत्रीकुमारी थापाले जानकारी दिएकी छन् । लमहीमा सुरु गर्न थालिएको दिसाजन्य फोहर व्यवस्थापनको डिपिआर समेत तयार भइसकेको छ । तयार भएको डिपिआरको बारेमा नगरपालिकाका प्राविधिकहरुलाई जानकारी गराएर ठेक्का आह्वान गरिने भएको छ । कोभिड–१९ का कारण डिपिआर तयार गर्ने कम्पनीका व्यक्तिहरु जिल्लामा आउन समस्या भएको बताइएको छ ।
जिल्लामै आएर जानकारी दिने भने पनि अब कोभिड–१९ को कारण आउन नसकेपछि अनलाइनबाटै भए पनि जानकारी गराउने तयारी भएको फोकल पर्शन थापाले जानकारी दिएकी छन् । ‘नगरपालिकाका प्राविधिकहरुलाई जानकारी दिइसकेपछि केही दिनभित्र ठेक्का आह्वान गरिने छ’ उनले भनिन् ।
परियोजना सञ्चालनका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच २०७५ पुस १० मा सम्झौता भएको थियो । नगरपालिका संघको सहकार्यमा देशभरका ५ वटा नगरपालिकामा यसप्रकारको परियोजना सुरु गरिएको हो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाईसम्बन्धीको कार्य नमुना परीक्षणको रुपमा अगाडि बढाइएको छ । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिङ नगरपालिका, भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गरिएको हो ।
परियोजना अन्तर्गत लमही नगरपालिका वडा नं. ५ मा रहेको ल्यानफिल्ड साइडमा यसका लागि भौतिक संरचना निर्माण गरिने भएको छ । ठेक्का गरेर छनोट भएपछि भौतिक निर्माणको काम सुरु हुने फोकल पर्शन थापाको भनाइ छ । यसै आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने तयारीका साथ काम अगाडि बढाइएको छ । ‘कुनै समस्या नआएमा यसै आर्थिक वर्षमा काम सम्पन्न गरिने छ’–थापाले भनिन् ।
भौतिक निर्माणका लागि २ करोड रकम खर्च लाग्ने फोकल पर्शन थापाले बताइन् । यसका लागि लमही नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा बजेट विनियोजन गरिसकेको उनको भनाइ रहेको छ । डिपिआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नुपर्ने छ ।
‘नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ, भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै गर्ने छ’–थापाले भनिन् । परियोजनाले दिसाजन्य लेदो व्यवस्था गर्ने काम गरिने फोकल पर्शन थापाले बताइन् । यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेप्टी टेङ्कीबाट निकालेर बाहिर फालिने फोहरलाई व्यवस्थापन गर्न सहज हुने भएको छ । यसले वातावरण सफा राख्न समेत सहयोग पुग्ने बताइएको छ ।
यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी टेङ्कीबाट निकालिएको फोहर राखेर त्यसलाई ठोसमा परिणत गरिने छ । जसलाई कम्पोष्ट मल बनाएर विक्री समेत गरिने उनले बताइन् । ‘जसले आम्दानी समेत हुने छ’–थापाले भनिन् । यस परियोजना सुरु भएमा फोहर व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
‘अहिले हरेक स्थानीय तहहरुलाई फोहर व्यवस्थानमा धेरै समस्या भोग्दै आएका छन्’–फोकल पर्शन थापाले भनिन् । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ । राजमार्गसँग जोडिएको नगरपालिका भएको कारणले पनि फोहर व्यवस्थापनमा समस्या भएको कारण लमही नगरपालिकालाई छनोट गरिएको बताइएको छ ।
अहिले घरघरबाट शौचालयको सेप्टी टेङ्कीबाट ल्याइएको दिसाजन्य फोहर ल्यानफिल्ड साइडमा व्यवस्थापन गरिने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निजी क्षेत्रको सहकार्यमा दिसाजन्य फोहर व्यवस्थापन गर्दै आएको बताएको छ । यस परियोजनाले फोहरलाई मोहरको रुपमा बदल्न सहयोग पु¥याउने अपेक्षा समेत नगरपालिकाले लिएको छ ।