राधेश्याम उपाध्याय
पाण्डवहरुको बाह्र वर्ष पनि यस्तै धर्म कर्मको चर्चा र अतिथि विप्रहरुको सेवा सत्कार गरी पूरा भयो । धर्मराजसँग वरदान र गुरु धौम्यसँग आशीर्वाद प्राप्त गरी पाण्डवहरु गुप्तवास लाग्ने तयारिमा लागे ।
विराट पर्व ः– पाँच पाण्डवहरु आपसमा सल्लाह गरी अहिलेको अवस्थामा ज्ञानि बृद्ध सत्पात्र र सज्जन विराट राजा भएकाले विराट कहाँ बस्ने विचार गरे । सबै भाइहरुको सल्लाहमा युधिष्ठिर मत्स्यदेशका विराट राजासँगै बसी राजाको सल्लाहकारका रुपमा बस्ने राजाको मनोरञ्जनका लागि पासा खेल्ने र कङ्क नामको ब्राह्मण भएर रहने भए । भीम भान्सेका रुपमा बसी परेका समयमा राजाको अन्य काम समेत गर्ने र वल्लव नामले रहने भए ।
त्यसैगरी अर्जुनले स्वर्गमा गएको समयमा उर्वसि अप्सराबाट प्राप्त श्रापको सदुपयोग गरी एक वर्ष नपुंसक भई राजाका दरवारमा रानी छोरी, बुहारीलाई नृत्यको तालिम दिने र बृहन्नला नामले रहने भए । नकुलले विराट राजाको तवेलामा घोडाहरुको रेखदेख र पालनपोषण गर्नेे र ग्रन्थिक नामले रहने भए । सहदेव गोठालो बनेर गाइहरुको रेखदेख तथा पालनपोषण गरी राजाको सेवा गर्ने र तन्तिपाल नामले रहने भए ।
त्यसैगरी द्रौपदीले सैलन्ध्री नाम राखी रानी सुदेष्णासँग बसी रानीको सेवा गर्ने । आपसमा सल्लाह गरे । रथ घोडा सारथी सेवकहरुलाई इन्द्रसेनसँग द्वारिका पठाए भने द्रौपदीसँग रहेका सेविका गणहरुलाई पाञ्चाल देशमा द्रुपदसँग पठाए भने सबैलाई पाण्डवहरु कता गए भनी सोधे भने हामीलाई द्वैतवनमा विदा दिए र आधा रातमा उठेर वनको बाटो समाई कता गए हामीलाई थाहा भएन भन्नु भनी सिकाए र गुरु धौम्यसँग राजसेवाको शिक्षा लिए ।
राजाको आज्ञा नपाई पाले लाई नसोधी राजाको कोठाभित्र नजानु, बस्दा राजाको आसनभन्दा तलको आसनमा कसैसँग नछोईने गरी बस्नु, राजाले परामर्श नमाग्दै परामर्श दिने सिकाउने काम नगर्नु, राजाले सोधे र बोल्नै परे राजा र राज्यको हितमा राम्रोसँग सोच–विचार गरी बोल्नु, राजाहरुले प्रशंसा पनि खोज्ने भएकाले समय र प्रसङ्ग बुझेर प्रशंसा पनि गर्नु, हात्तीमा, रथमा, घोडामा, पलंगमा, राजा बस्ने स्थानमा राजाभन्दा पहिला नबस्नु, राजाका साम्ने अगाडि नबस्नु दायाँ–बायाँ केही कदम टाढा बस्नु, अहिले राजा खुसी छन् भनी बढी नबोल्नु सदैब सावधान भएर बोल्नु, राजालाई सदैव आगो सरी ठान्नु, रक्सी, जाँड, जुवाडे, चोर, बेश्या यी दुर्जनहरुसँग कहिले पनि व्यवहार नगर्नु ।
घोडामा, हात्तीमा, रथमा, पाल्कीमा वाहानमा चढेर र सशस्त्र पनि राजाका नजिकै नजानु । रानी दरबारमा वस्ने सुसारेहरुसँग धेरै मेल नगर्नु । राजासँग बस्दा हात–खुट्टा मुख विनाकारण चलाउने वा हल्लाउने नगर्नु । उत्ताउलो हुने गरी बढी नहाँस्नु हाँस्नु परे पनि मन्द मुस्कान हास्नु । राजा र राज कुमारहरुले जे सही र ठूलो भन्दछन् त्यही ठूलो र सहीभन्दा खुसी मान्दछन् सोही कुरा बोल्नु ।
राजाहरुले अर्कोलाई केही कामको लागि हुकुम दिँदा मेरो लागि के हुकुम छ भनी सोध्यो भने आफ्नो हितैषी मान्दछन । यी सबै कुराको ख्याल गरी राजाको दरवारमा वर्ष दिन कटाउनु पर्दछ भनी पुरोहित धौम्यले युधिष्ठिरलाई सम्झाउनु भयो । प्रस्थानको समयमा गर्नुपर्ने मंगल कार्य यज्ञादी गरी आशीर्वचन दिई विदा गरे ।
पाण्डवहरुले आश्रममा रहेका बाँकी ऋषिमुनि ज्ञानी तपस्वीसँग शुभआशीर्वाद लिई यज्ञ अग्निकुण्डको प्रदक्षिण गरी बिदा भई कुटी त्यागेर पाण्डवहरु द्रौपदीका साथ माधवलाई सम्झेर यमुना नदीको तिरतिरै उत्तर दिशा (जंगल) तर्फ लागे । यज्ञानी लिएर धौम्यजी पनि पञ्चाल देशतर्फ लागे ।
पाण्डवहरुले आफ्ना हातहतिया राख्नु ः– जंगलै जंगल नदीका तिरतिरै जाँदा पाण्डवहरु धुलो र माटोले गर्दा मलिन देखिन्थे । कसैले कहाँ जाने भनेर सोधे विराट राजाको नगरी जाने भनी हिँड्न लागे । दुखका साथ केही समय घामपानी मा हिँड्दा फुस्रा र धुस्रा भई चिन्न नसकिने भए र यसरी वन जंगल छिचोल्दै नगरको नजिक पुगे । द्रौपदी थकित भई आज यहीं वास बसौं भोलि विहानै विराट राजाको नगर जाऊला भनी भन्न लागिन ।
युधिष्ठिरको आदेशमा अर्जुनले बोकेर हिँड्न लागे । मत्स्यपुरी सिमाना नजिकै पुगेपछि केहीबेर विश्राम गरे । अब हामी यी अस्त्रशस्त्र लिएर नगरभित्र जान हुँदैन सबैले चिन्न सक्दछन् र शत्रुले पत्ता लगाए भने पुनः बाह्र वर्ष वनबास बस्नुपर्ने हुन्छ त्यसैले अस्त्रशस्त्र कुनै युक्तिले यही लुकाई जानु पर्दछ भनी सबै पाण्डवहरुले आ–आफ्ना हातहतियार अस्त्रशस्त्रहरुको बलियो गरी सहदेवले बाँधे र एउटा टाकुराको नजिकै रहेको शमीको ठूलो रुखमा जसको नजिकै डरलाग्दो समसान घाट थियो त्यही रुखमा उपयुक्त छ भनी नकुलले रुखमा लगी सुरक्षित र बलियो गरी बाँधे । कसैले गठरी देखि हेरीहाल्ला भन्ने शंकाले नजिकै रहेको समसान घाटमा रहेको एक मुर्दा ल्याई त्यहीँ बाँधिदिए ।
पाण्डवहरुराजा विराटकहा“ जानु ः–
आफूहरुमा कहिले काँहि भेट भएमा गोप्य कुरा गर्न आफूहरुको गुप्ती नाम समेत राखे । युधिष्ठिरको ‘जय’ भीमको ‘अजय’ अर्जुको ‘विजय’ नकुलको ‘जयत्सेन’ र सहदेवको ‘जयद्धल’ भन्ने राखे र विराट राजाको दरवार नजिक गई दिव्य नगरको शोभा हेरे । यो एक वर्ष को गुप्तवास कसरी कटाउने भनी चिन्तित भई युधिष्ठिर जगत्जननी दुर्गामाताको स्तुति गर्न लागे । तिनको स्तुतिले प्रशन्न भएर दुर्गा भवानीले दर्शन दिनुभयो र हे युधिष्ठिर तिमीदेखि म प्रशन्न भएर विजय तथा राज्य प्राप्तिको वरदान दिई तिमीहरुलाई कसैले पनि चिन्ने छैन केही चिन्ता नमान संग्राममा तिम्रो विजय हुनेछ ।
सबै कौरवहरुलाई पराजित गरी आफ्नो साम्राज्य र वैभव पाउने छौं । तिमीहरुलाई आशिष दिए पाँचै भाइ खुसी हुनेछौं मत्स्यदेशमा राजा विराट कहाँ गएर बस्दा कसैले पनि तिमीहरुलाई चिन्न सक्ने छैनन् तिमीहरुको रक्षा हुनेछ भनी देवी अन्तध्र्यान हुनुभयो । जगत् जननीबाट रक्षाको वरदान पाएपछि युधिष्ठिरहरु जान्हवी गंगा नदी किनारमा गई गंगा स्नान, नित्य तर्पण गरी पितृहरुको स्मरण गरी खुसी साथ ब्राह्मणको लुगा लगाएर हातमा सुन्दर पाशा लिएर मत्स्यदेश विराट राजा कहाँ गए । दरवार नजिकै विलक्षणका ब्रह्मण लाई देखि शंका मान्दै राजाले को रहेछन् भनी आफ्ना दूतलाई बोलाउन पठाए ।
दूतसँग युधिष्ठिर राजा अगाडि उपस्थित भए र राजाले अचम्म मान्दै तिमी को हौ ? के खोज्छौ ? काहाँ जान भनी हिडेका छौ ? भनी सोधे । यो सुनि युधिष्ठिर नम्र हँुदै हे राजन म कङ्क नाम गरेको ब्राह्मण हुँ । युधिष्ठिरका समिप बसी उनीसँग पासा खेली मनोरञ्जन दिने र राजनीतिक सल्लाह दिने गर्दथे अहिले उनीहरुलाई छलले सर्वस्व हारी दुख परेर वनतर्फ लागे । म पनि हजुरका शरणमा अएको छु भने । यो सुनेर विराट राजाले तिम्रो यो अद्भुत रुप देखेर म खुसी भए वर माग तिमी यो देशको शासन सत्ता चलाऊ भन्न लागे ।
यो सुनेर युधिष्ठिरले राजन म एउटा वर माग्दछु म हजुरसँग खुसीसाथ जुवा खेल्नेछु मैले जितेको बेला धनका लागि कचिङ्गल गरी कसैले पनि त्यो धन खोस्न नपाउन र कस्तै अप्ठारो परे पनि म निचहरुसँग वादविवाद गर्ने छैन भनी मागे । यो सुनेर विराट राजाले पनि सबै सभासदहरुलाई अब कङ्कलाई आदर गर्नु र बस्ने खाने सबै राम्रो व्यवस्था गर्नु । कङ्कले अब राज्यभरीमा आई परेको सबै काममा मलाई सहयोग गर्ने छन् भनी आदेश दिए । क्रमशः