विनोद पोख्रेल
२०७७ बैशाख १८ गते
मैले एउटा कुरो निष्कर्षकै रुपमा बुझेको जस्तो मानेको छु । पूरै दावी गर्न त सक्दैन तर पनि कुरो त्यही होजस्तो लाग्छ । प्रकृति जब आफै आफ्नो सुरक्षाको लागि क्रियाशील हुन्छ त्यतिबेला अरु कसैको केही लाग्दैन । उसले पनि सायद बाध्यताले आफ्नै नियम पनि मिचिदिन्छ ।
यो परिवेशको विरुद्धमा उजुर गर्ने वा विन्ति गर्ने कतै ठाउँ पनि हुँदैन । अहिले प्रकृति त्यही मुडमा छ । बैशाखका दिनहरुसमेत बर्षाका जस्ता भएका छन् । गर्मीको महसुस नै भएको छैन । दाङको सन्दर्भमा भन्ने हो भने बढी गर्मी हुने महिना बैशाख, जेठ र भदौ हुन् । असार, साउनमा पनि खेतीपाती र पानीको प्रशस्त पहुँचले वातावरण नियन्त्रणमै हुने गर्छ । तर यसपल्ट बैशाखको आधाभन्दा बढी बितिसक्दा पनि गर्मीको त्यस्तो अनुभव छैन ।
प्रकृति यस्तै बनेपछि कसैको केही लागेको छैन । सायद यो प्रकृतिको तानासाही हो । जसलाई नियन्त्रण गर्ने कसैको ताकत छैन । अथवा आफूमाथि बढी अन्याय भयो भन्ने मानेर प्रकृति ठूलो आन्दोलनमा लागेको छ । यस्ता आन्दोलनहरुले पनि नियमको सीमा नाघेकै हुन्छन् । अथवा प्रकृतिले अति भएपछि अति गर्नेहरुमाथि आक्रमण गरेर आफ्नो ताकत प्रमाणित गर्दैछ । यसको प्रतिवाद गर्ने ताकत आफूलाई सचेत, बुद्धिमान, विकसित, संवेदनशील आदि के–के भनेर आफै आत्मश्लाधामा डुबेको मानिस भन्ने प्राणीसँग नभएको देखिँदैछ ।
त्यस्ता माथि भनिएका गुणहरुको स्रोतसमेत प्रकृति नै हो तर स्रोतलाई नै अनावश्यक चोट पु¥याउँदा उसले बदला लिँदैछ । यसलाई नम्र भाषामा भन्दा प्रकृतिले मानिसलगायत सबैलाई आफ्नो क्षेत्र, सीमा र अनुशासनबारे शिक्षा दिँदैछ । चेतना र विवेक हुनेले शिक्षा लिन सक्छन् तर यी नहुने आत्मश्लाधामा डुबेका, विज्ञानको भरमा आफूले प्रकृति विजय गरेको सम्झने मूर्खहरुले शिक्षा लिन पनि सक्दैनन् । प्रकृतिलाई जति प्रताडीत गरिएको छ त्यो मानिसले आफ्नो क्षमताले भन्दा पनि बढी विज्ञानका सहायताले गरेको छ । यसको उद्देश्य सुविधा भोगी हुनुमात्रै छ, कल्याणको कुरा पटक्कै छैन ।
सुविधा स्वार्थ हो भने कल्याण मानवता हो । मानिस भएर सुविधाको मात्रा जति सक्यो धेरै प्रयोग गर्ने प्रतिस्पर्धामा लागेर असक्षम र निरीहहरुको हकसमेत मार्ने अमानवीय चरित्रलाई लक्ष्य बनाउनेहरुलाई सायद प्रकृतिको यस्तो तानाशाही समय–समयमा आवश्यक पर्छ । यदि यस्तो हो भने यो अन्तिम प्रहार होइन । बरु एउटा प्रक्रिया हो भनेर बुझ्नुपर्ने हुन्छ । कहिले काहीँ त मलाई सन्तोष पनि लाग्छ । यहाँ थुन्नेहरु पनि थुनिएका छन् । अरुलाई हेपेर वा मारेर आफूलाई विशेष शक्तिशाली सम्झिनेहरु पनि हेपिएका छन्, मारिएका छन् ।
कतै एउटा निरीह नागरिकलाई पनि सन्तोष दिन मै हुँ भन्नेहरुको निरीहता देखाइदिएको हो कि ? जसले त्यो निरीहमा पनि आत्मविश्वास जाग्न सकोस् । कुनै ठाउँ यस्तो छ जहाँ तिमी शक्तिशालीहरु र मजस्ताहरुलाई बराबरी व्यवहार गरिन्छ भनेर उसले पनि बुझ्न सकोस् र आफ्नो महत्व जान्न सकोस् ।
२०७७ बैशाख १९ गते
वर्तमान बन्द परिवेशमा एउटा नयाँ अनुभव पनि मैले गरेको छु । यो पक्ष सायद छोइएको छैन । मानिसलाई समय बिताउन या त काम चाहिन्छ या त मानिस । मानिस पनि आफ्नो अनुकूलको । अहिलेको परिव्ेशमा त्यस्त्रो मानिस भेट्न त मुस्किल छ । मेरो आशय आफ्नो परिवारभन्दा बाहिरको मानिससँग हो । न
त्र आफ्नी श्रमिती, छोरा, बुहारी, नातिहरु सँगै छन् । यिनीभन्दा आफूअनुकूल को होला र ? तर यिनको पनि आफ्नो संसार छ । यिनीहरु पनि आवश्यक, अनावश्यक काममा व्यस्त हुन्छन् । त्यस्तो बेला बढी छटपटी हुन्छ । अनि मैले काम खोज्छु । मलाई थाहा छ स्वभावले म अल्छी छु । उमेरले पनि धेरै काम गर्न सक्दैन । अझ अर्को र सायद मुख्य कुरो जुन परिवेशमा हामी हुर्कियौ त्यसमा घरका कामलाई त्यति महत्व नै दिइन्नथ्यो ।
घरको काम गर्ने त या त अरु मानिस हुन्थे या त महिलाहरुले नै बढी गर्नुपथ्र्यो । त्यसकारण पनि मबाट काम सम्भव छैन । तर पनि छटपटीले के गरुँ के गरुँजस्तो लाग्छ । काम गरेकालार्य अरु केही नभए पनि घरको वरिपरीको सफाई गर्दा पनि काम हुन्थ्यो । मेरो समस्या त शुरु कहाँबाट गर्नेसमेत छ । त्यसबाहेक सरसफाईका लागि हसियाँ, खुर्पा आदि सजिलरी र उचित तरिकाले प्रयोग गर्न जान्दैन । सायद त्यसैले हो कि यी भाँडा या त छैनन् छन् भने पनि कसैका विट छैनन्, कसैका धार छैनन् ।
चाहिने बेलामा ठीक–ठाक छैनन् । मैले गर्न सक्ने र रमाइलो मान्ने भनेको काम तरकारी टिप्ने हो । त्यो भने गर्छु । आजभोलि रुख, बोरी टिपेर सकियो । अब कहिलेकाहीँ गोलभेडा टिप्छु, कहिले गाभा काट्छु । त्यसैमा खुब काम गरेकोजस्तो महसुस गर्छु । यो बन्दको समयमा तरकारी घरमै भएकाले पु¥याउने प्रयास भयो । अलि–अलि भाँटा पनि फले । हिउँदे सिमी र बन्द–गोभीले पनि महत्वपूर्ण स्थान पाए । मैले आफूले त्यति मन नपराउने तरकारी हुन् यिनी तर पनि खाएँ । रोज्ने मौका नै छैन । सकेसम्म घरकै जे भेटिन्छ त्यही खाने हो । यसको कारण बन्द पनि हो र डर पनि हो ।
म काम गर्ने कुरामा थिएँ । आजभोलि जति काम खोज्न मन लाग्छ, त्यति पहिले लागेको भए तरकारी नै पनि अलि धेरै हुन्थे कि भन्ने कल्पना गर्छु र एक्लै हाँस्छु । आँशु त लुकाउन पर्छ नै । परिवेशले हाँसो पनि लुकाउन परेको अनुभव गर्छु । आजभोलि त झरीले पनि काम गर्न नदिएकोजस्तो लाग्छ । काम नगर्नेलाई एउटा–एउटा निहुँ पनि बनिहाल्छ । अनि आफ्नो संस्कार, चाख, परिस्थिति, बाध्यता सबैलाई मिलाएर आफ्नो चरित्र र भावनासँग जोडेर हेर्छु र भन्छु सबै मन बहलाउने कुरा मात्र हुन् । मबाट केही हुँदैन ।
कामको कल्पना गरिन्न । किनभने ऋतुअनुसार, मौसमअनुसार गर्ने कामहरु निश्चित छन् । गर्नेले गरिरहन्छन् । मजस्ताले यस्तो भए त वा तेस्तो भए त भनेर कल्पना गर्ने हो । भिण्डी खन्ने भएको छ । पानी आउँदा पानीले छेक्छ नआउँदा कोदालो छैन । एकैछिनमा कम्मर दुख्छ । अझ नढाटेर भन्ने हो भने तरकारीको विरुवा नै खन्ने गर्छु । एकदिन अलि पहिले प्याज खन्न बसेँ । जंगल र प्याज बरारीजस्तै खने अनि छाडेर भागेँ । सीमसमेत छैन । तर पनि आजभोलि काम खोज्छु । आफै हाँस्छु ।