दाङ महिला जेसीजको सप्ताह सुरु

दाङ, १८ असोज । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । आइतवार घोराहीमा रहेको दाङ महिला जेसीजको परिसरमा वृक्षारोपन गरेर सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यालय परिसरमा विभिन्न पुष्पका विरुवाहरु रोपेर सप्ताहव्यापी कार्यक्रमको सुभारम्भ गरिएको थियो । दाङ महिला जेसीजकी अध्यक्ष जीवा भुसालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि जेसीजको महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

सप्ताहको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले सामाजिक विकाससंगै युवाहरुको नेतृत्व र क्षमता विकासका लागि सकारात्मक सोचको विकास आवश्यक रहेको बताएका थिए । त्यसका लागि जेसीजले महत्वपूर्ण भूमीका खेल्ने गरेको बताए । ‘युवाहरुको नेतृत्व र क्षमता विकास गर्दै सामाजिक विकासका लागि जेसीजको महत्पूर्ण भूमिका हुने गरेको छ’–नगर प्रमुख चौधरीले भने–‘आगामी दिनमा पनि सकारात्मक सोच र एकताका माध्यमबाट सामाजिक विकासका लागि थप भूमिका रहनेछ ।’

महिलाहरुको नेतृत्व र क्षमता विकास गर्दै अघि बढाउन आवश्यक रहेको भन्दै नगर प्रमुख चौधरीले त्यससका लागि दाङ महिला जेसीजको क्रियासिलता प्रसंशा योग्य भएको समेत बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरापलिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले महिलाहरुलाई संगठित गर्दै अघि बढाउन महिला जेसीजको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

‘दाङ महिला जेसीजले महिलाहरुलाई संगठित गरेर उनीहरुको क्षमतासँगै व्यत्तित्व विकासका भूमिका खेल्दै आएको छ, यो अत्यन्त राम्रो काम हो’–वडा अध्यक्ष पाण्डेयले भने–‘महिला जेसीजको सकारात्मक कार्यमा वडा कार्यालयको सधै साथ र सहयोग रहेछ ।’ उनले महिलाहरुको नेतृत्व र क्षमता विकासस्ाँगै सामाजिक कार्यमा समेत अघि बढ्न महिलाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अहिलेको कोरोना महामारीको समयमा सामाजिक दुरी कायम राखेर कार्यक्रमलाई अघि बढाउन आग्रह गरेका थिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै समय प्रभावित रहेको भन्दै बक्ताहरुले प्रभावित समुदायलाई लक्षित गरेर आगामी दिनमा कार्यक्रम गर्न समेत सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारी, नेपाल जेसीज तालिम आयुक्तका कोषाध्यक्ष विरसिंह महरा, दाङ महिला जेसीजका संस्थापक निर्मला गौतम, लमही जेसीजका अध्यक्ष सपना पाण्डे, सामुदायिक वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, त्रिभुवननगर जेसीजका अध्यक्ष माधव पौडेललगायतले सप्ताहव्यापी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक बसान्त भन्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष सिन्धु रिजालले कार्यक्रमबारे जानकारी गराएकी थिइन । अर्चना शर्माको आस्थापाठ गराएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष नारायणी भण्डारीले जानकारी गराएकी थिइन ।

कार्यक्रममा सहभागीहरुलाई महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष अनिता ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन । महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत १९ गते सोमवार घोराहीमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा उपस्थीतिका लागि महिला जेसीजकी अध्यक्ष जीवा भुषालले सवैलाई अनुरोध समेत गरेकी छिन ।