विद्यालयमा स्वास्थ्य मापदण्डको उपहास

विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानीय पालिकाहरुमा सामुदायिक तथा निजी विद्यालयहरु समेत खुलेसँगै दाङ जिल्लाका स्थानीय पालिकाहरुमा पनि निजी तथा सामुदायिक विद्यालयहरु खुल्दै छन् । आधाभन्दा बढी पालिकामा विद्यालयहरु भौतिक उपस्थिति सहित पठनपाठनमा जुटिरहेका छन् भने बाँकी केही पालिकाहरुमा पनि विद्यालय खुल्ने क्रम सुरु भएको छ । यस अघि अनलाइन कक्षा सञ्चालन गर्दै आए पनि अनलाइन कक्षाले एकतिहाई विद्यार्थी पनि समेट्न नसकेको अवस्थामा यस्ता कक्षाहरु बन्द गरेर धमाधम विद्यार्थी र अभिभावकहरु विद्यालयमा बोलाएर भर्ना गरिरहेका छन् । केही विद्यालयहरुले बैशाख देखिकै शुल्क लिने कसरत समेत गरिरहेका छन् । यो मात्र होइन, सरकारले आधारभूत शिक्षासम्म कुनै पनि शुल्क नलिने भनिए पनि सामुदायिक विद्यालयहरुले समेत विद्यालय सहयोगका नाममा शुल्क लिइरहेका छन् । विद्यालयमा पछिल्लो समयमा सबैभन्दा भीडभाडको अवस्था देखिएको छ ।

सरकारले सबै क्षेत्रमा सामाजिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको संक्रमण समुदाय स्तरसम्म फैलिएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले समेत स्थानै किटेर सामाजिक भीडभाड हुने स्थानहरुबाट नै कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलिइरहेकाले यसलाई तत्काल बन्द गर्न र नेपाल सरकारले तोकेका स्वास्थ्यका न्यूनतम मापदण्ड सामाजिक दूरी, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोगजस्ता मापदण्ड कायम हुन सकिरहेको छैन । दिनदिनै एक हजारको हाराहारीमा नागरिक संक्रमित हुँदै गएको तथा लगालग नागरिकको कोरोना भाइरसको संक्रमणका कारण निधन हुँदै गएको अवस्थामा यहाँका अधिकांश विद्यालयहरुमा नेपाल सरकारले तोकेको न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्डहरु कायम हुनसकेको अवस्था छैन । केही विद्यालयहरुले विभिन्न सिफ्टमा कक्षा सञ्चालन गरेर सामाजिक दूरी कायम गर्न खोजेको देखिए पनि केही नाम चलेका र धेरै विद्यार्थी भएका विद्यालयहरुमा भने न्यूनतम स्वास्थ्य मापदण्ड पूरा हुन सकेको अवस्था छैन । जसका कारण विद्यार्थी र शिक्षकहरु मात्र होइन, समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ ।

संघीय सरकारले यो अवस्थालाई ध्यानमा राखी भौतिक उपस्थितिबीच विद्यालय नियमित रुपमा सञ्चालन नगर्न भनिरहेको अवस्थामा स्थानीय पालिकाहरुले भने धमाधम विद्यालय सञ्चालन गरिरहँदा केही जिल्लाका विद्यालयहरुमा विद्यार्थी र शिक्षकहरुमा समेत संक्रमणको अवस्था देखिएको छ । यदि विद्यालयमा संक्रमण फैलियो भने त्यसले स–साना बालबालिकालाई संक्रमणबाट मुक्त हुन वा निको हुन ठूलो समस्या देखिने छ । किनकि बालबालिकामा पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक क्षमताको विकास समेत भइसकेको हुँदैन । यस्तो अवस्थामा बालबालिकालाई संक्रमणबाट जोगाउनु सबैभन्दा उपयुक्त विकल्प हो । किनकि भाविष्यमा देश चलाउने राजनेताहरु यिनै कलिला बालबालिका हुन्, स्थास्थ्य क्षेत्र र शिक्षा क्षेत्रलगायत सम्पूर्ण निकायहरु सञ्चालन गर्ने यिनै बालबालिकाहरु हुन् । संक्रमणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर प¥यो भने त्यसमा देशले भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने छ । यो अवस्थामा स्वास्थ्यप्रति अत्यन्तै गम्भीर हुन आवश्यक छ । संक्रमण फैलनसक्ने अवस्थालाई विशेष ध्यान दिएर सरकारले तोकेका न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नसके मात्र विद्यालय सञ्चालन गरौँ । अन्यथा बालबालिकाको स्वास्थ्यमा खेलवाड नगरौँ ।