मन्सु बस्नेत
सहर भन्नेबित्तिकै बाक्लो बस्ती, भौतिक पूर्वाधारहरुलगायत अन्य सुविधायुक्त स्थानलाई बुझाउँछ । विश्वमा करिब ६० प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोवास गर्दछन् ।
नेपालमा ५९ दशमलव ९ प्रतिशत (थप भएका नगरपालिका सहित) जनसंङ्ख्या बसोवास गर्दछन् । मानिस आफ्ना आवश्यकता पूरा गर्न तथा सामाजिक, आर्थिक, राजनीतिक एवं अन्य कारणले सहर केन्द्रित हुने गर्छन् । जसले गर्दा मानिसको अत्यधिक चाँप हुने गर्छ ।
उज्ज्वल भविष्य सहित सुन्दर सपना बोकेर सहर छिरेकाको छुट्टै सहरिया कथा छ । कहिलेसम्म चल्छ जीवन ? कोरोनाको कहरमा, मृत्यु भन्दा मानवताको संकट छायो सहरमा । साच्चिकै अकस्मात आइपरेको कोरोना महामारीको संकटले नेपाललाई पनि अछूतो राखेन ।
कोरोना भाइरस चीनबाट सुरु भएर विश्वभर फैलिनथालेपछि नेपालले पनि गत चैत ११ देखि लकडाउन अर्थात् बन्दाबन्दी भएको हो । जसका कारण, मानवीय गतिविधि अत्यावश्यक काममा मात्र सीमित भएका छन् ।
यस अवस्थामा हुँदाखाने र हुनेखाने बीचको फरकपना सामाजिक सञ्जालमा छरपष्टका दृश्यले सिद्ध गरेका छन् । लकडाउनमा पनि हुनेखानेहरु चौरासी व्यञ्जनमा मस्त थिए र अझै पनि छन् । तर, यता दिनभर काम गरेर विहान बेलुकी मामको जोहो गर्नेहरुको दैनिकी नर्कजस्तै भयो र अझै पनि उस्तै छ ।
एक गास खानको लागि सहरका चोकमा तड्पिनु परेका दृश्यले सचित्र वर्णन गरेको छ । जो दिनभर काम गरेर पनि जीवन धान्न धौ–धौ परिरहेका मानिसको अवस्था देख्दा लाग्थ्यो, लकडाउन हुनेखानेहरुका लागि गरिएको हो कि ?
उसो त सहरसँगको मेरो सम्बन्ध पनि लामो समयदेखि गाँसिएको छ । गाउँ हुँदा सानोमा आमाले भन्ने गर्नुहुन्थ्यो ‘तीतो मीठो जे छ छिमेकीसँग बाँडेर खानुपर्दछ अनि दीन–दुःखीलाई सहयोग गर्नुपर्दछ’ भनेर तर यो सहरले मलाई स्वार्थी बन्न सिकाएको छ ।
एउटै देश र एउटै भू भागमा बसे पनि आफनो र पराई भन्न सिकाएको छ । भनिन्छ ‘तपाईंको असली चरित्र त्यतिबेला मात्रै थाहा हुन्छ, जतिबेला छिमेकीलाई अर्थात् अर्को व्यक्तिलाई संकट पर्दा कस्तो व्यवहार देखाउनुहुन्छ ? हो, यस्तै भएको छ, हाम्रो सहर हजारौँ रहर र सपना सजाएर बसेकाहरुका लागि ।
कोरोनाका कारण धेरै मानिसहरुको रोजीरोटी खोसिएको छ । धेरैको व्यापार व्यवसाय बन्द भएका छन्, जसका कारण उनीहरुलाई विहान बेलुका हातमुख जोर्न कठिन छ ।
अस्ति भर्खरै कीर्तिपुरको घटनालाई लिन सकिन्छ कि कोठाभाडा तिर्न नसक्दा घरधनीले कोठामा बस्नेलाई मृत्यु उपहार दिएको घटनाले संकटमा पर्दा सहरले देखाउने प्रवृत्तिलाई छर्लङ्ग पारेको छ ।
यसैगरी मेरो नजिकैको साथी जो करिअर बनाउने सपना बोकेर सहर छिरेको धेरै भयो । वर्षांै अघि सपनाको सहर छिरको उसको दैनिकी पनि उस्तै तर कथा अलि पृथक छ । राजधानीमा रोजीरोटी गरेर करिअर बनाउने उसको सपनामा पनि कोरोनाले नराम्रो गरी लपेटेको छ ।
कोरोनाको कहरमा अभाव र दबाबमा उसको दैनिकी पनि चलिरहेको छ । बानेश्वर स्थित साँघुरो कोठाको निसास्सिँदो बसाईंमा उसका दैनिकी क्यालेण्डरका पानाहरु फेरिरहेका छन् । तैपनि कामको बोझ, समस्याहहरुसँगै निहुँ खोज्दै दैनिकी बिताउँदै सुन्दर भविष्यका सपना उसका कम्ति छैनन् ।
यद्यपि, गाउँ फर्कने चाहना नभएको पनि होइन तर कोरोनोको कहरमा उसले सहरबाट गाउँको घर फर्कन सकेन । कोरोनाको डर छ नै । समयमै तलव नपाउने नियति उसको छँदै छ । यसैमा पनि घरबेटीको घुर्की सुनिनसक्नु छ ।
तैपनि मनभित्र हजारौँ पीडाहरु गुम्साएर खुशाउने उसको आदत बसेको छ । सहरमा करिअर बनाउने सुन्दर भविष्यको लागि मिहिनेत गरिरहेका छन् । भन्छन्, ‘साँझ–विहान घरबेटीले भाडा भन्दै थर्काउँछन्, अझ त्यति मात्रै कहाँ हो र विहानको खाना जसोतसो खाएको छु बेलुकामा चिउरा र पानीले दैनिकी कट्ने गरेको छ ।’
यी त प्रतिनिधिमुलक पात्रका घटना हुन् । अरु कति मानिसहरु घरभाडा तिर्न नसक्दा र भएको रोजगारी पनि गुमाउँदा सडकको बास भएका छन् । एक छाक खानको लागि भौँतारिरहेको हामी प्रष्ट देख्न सक्छौँ ।
वास्तवमा भन्ने हो भने सहरी क्षेत्रले ग्रामीण जनताको श्रमको शोषण गरेको छ । ग्रामीण श्रमको कम मूल्य भुक्तान गरेर आफू सम्पन्न भएको छ । अहिले धेरै मानिसलाई सहरले हामीलाई शोषण गरेको रहेछ भन्ने अनुभूति भइरहेको छ ।
यसर्थ, सामान्य आधारभूत आवश्यकता पूरा गर्न सहर छिरेकाहरु अहिले भोकभोकै हिडेर आफ्नो गाउँ फर्किन वाध्य भएका छन् । उनीहरु भन्छन्– ‘खान पाएको भए त हामी यहीँ बस्थ्यौ नि !’ अन्त्यमा हरेक संकटसँगै अवसरका उपायहरु पनि सँगसँगै आउने गर्दछन् । तसर्थ, अहिलेको कोरोना संकटमा चुनौतीलाई अवसरका लागि जुट्नु चाहिँ अवश्य पर्दछ ।