विकल्प देऊ स्थानीय सरकार

पार्किङ ठीक ठाउँमा छैन, माइकिङ ठीकै हो
बालाराम खड्का
तुलसीपुर, ९ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर ट्राफिक कार्यालयको संयुक्त टोलीले तुलसीपुर बजारका विभिन्न चोक–चोकमा सडकमा सवारी पार्किङ नगरौं भन्ने माइकिङ गर्दै सबैलाई सचेत बनाएको छ ।

सचेतनाको अभियान यो पहिलो होइन । तर स्थानीय सरकारले सवारी पार्किङको अल्पकालीन एवं दीर्घकालीन सोच नै नबनाएका कारण पार्किङको समस्या दुई दशकदेखि नै यस्तै अवस्थामा रहेको स्थानीय व्यवसायी शंकर शर्माले बताएका छन् ।

अनावश्यक स्थानमा बाटो नै छेक्नेगरी सवारी पार्किङ गर्नु उपयुक्त होइन, तर पनि पार्किङको व्यवस्थापन गर्नु स्थानीय पालिकाको दायित्व हो, दिनदिनै माइकिङ गर्न प्रहरीलाई झन्झट दिनुभन्दा उपयुक्त स्थानमा पार्किङको व्यवस्थापन हुन आवश्यक छ’, शर्माले बताए । साँघुरो सडक, फुटपाथमा सामग्री, सडक वरपर त्यसैमा निर्माण सामग्री । सोही सडक छोपेर व्यापार, पैदल यात्रुदेखि ठूला–साना सवारी साधनहरुको आवत–जावत । त्यसैमा सवारी पार्किङ ।

मुख्य सडकमा खाल्डा–खुल्डी, छाडा चौपायाहरुले गर्दा पनि साँघुरो सडक वरपर ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । त्यसको विकल्प पनि केही छैन । विकल्प छ त सडक छेउछाउमा सवारीहरु मिलाएर राख्ने र सडक छोप्ने गरी राखिएका ठेलागाडा र फुटपाथका पसलहरु हटाउने । यो अभियान तुलसीपुर बजारमा बर्षेनी चल्ने गर्दछ ।

सवारीको उच्च चापले साना सवारीसाधन पार्किङको व्यवस्था सहज भए तापनि ठूला सवारी साधनहरु भने एक मिनेट अडिए भने बाटो नै जाम हुने गरेको छ । त्यसका साथै पैदल यात्रु हिँड्ने ठाउँमा पनि निर्माण सामग्री राख्दा समस्यामाथि समस्या थोपरिएको छ । साँघुरो सडकमा सहज ट्राफिक व्यवस्थापनको काम भने नियमित हुने गरेको छ ।

सडक वरपर मोटरसाइकल, कारजस्ता साना सवारी साधनहरु पार्किङका लागि रेखा भने कोरिएको छ । तर सो रेखा नघाएर सवारी साधन पार्किङ गर्दा पैदल यात्रु तथा सडकमा गुड्ने गाडीहरुलाई भने विभिन्न समयमा समस्या पर्ने गरेको छ । यसको दीर्घकालीन समस्या समाधानका उपायहरु भने खोजिएको छैन ।

यसले एकातिर बजार अस्तव्यस्त भएर कुरुप देखिने गरेका छ भने दुर्घटनाको जोखिमसमेत बढेको छ । तर पछिल्लो समयमा यहाँको प्रहरी, उपमहानगरपालिका र ट्राफिक प्रहरीले बजार व्यवस्थापनका लागि सहकार्य गरेर केही दिनदेखि ट्राफिक व्यवस्थानमा तल्लिन देखिन्छन् ।

गाडीमा माइकिङ गर्नुका साथै स्वयं नेपाल प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरपालिका कर्मचारीहरुले दैनिक सवारी साधन व्यवस्थापन र फुटपाथका पसलहरु हटाउने काम शुरु भएको छ । उनीहरुलाई सम्झाई–बुझाई गर्नुका साथै सवारी पार्किङका बारेमा सचेतना दिने काम शुरु गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले पहिलो चरणमा सचेतनाका लागि माइकिङ र सवारी साधनहरुलाई व्यवस्थापन गर्नका लागि सम्झाई–बुझाई गर्ने काम शुरु गरेको बताए ।

उनले बजारमा विभिन्न स्थानमा यो अभियान शुरु गरेको बताए । उनले फुटपाथमा पसलहरु राखेका र सामग्रीहरु राखेर बाटो नै अवरोध गर्नेहरुको पसलहरु हटाउने काम भएको बताए । ‘तीन दिनसम्म हामीहरुले सचेतना दिने कार्यक्रम सञ्चालन गरेका छौं, यसपछि पनि अटेर गरे नियमानुसार कारबाही हुनेछ’, प्रमुख केसीले भने ।

त्यसैगरि नगरवासीहरुले भने माइर्किङ गरेर मात्र ट्राफिक व्यवस्थापन नहुने भन्दै दीर्घकालीन समस्या समाधानका लागि उपायहरु खोज्नुपर्ने बताएका छन् । ‘ठाउँ सानो छ, कहाँ पार्किङ गर्ने ? धेरै समस्या छ, यसको दीर्घकालीन उपायहरु नखोजेसम्म व्यवस्थापन गर्न कठिन छ’, स्थानीय किरण पुनले भने । उनले सडक वरपर मोटरसाइकल राख्न नदिने र पसल अगाडि राख्ने भने पनि त्यो कार्यान्वयन हुन कठिन हुने बताए ।

तुलसीपुरका मुख्य सडक ‘क’ लाइनमा विशेष गरी सवारीसाधन र पैदल यात्रुहरुको बढी भीडभाड हुने गरेको छ । सबै वित्तीय संस्था र बैंकहरु ‘क’ लाइनमा भएकाले पनि बढी भीडमाड हुने गरेको छ । ‘सवारी साधन राख्ने उपयुक्त स्थान छैन, बाटो वरपर राखे कारबाही हुन्छ भनेर माइर्किङ भएको छ, विकल्प के ? स्थानीय सरकारले पनि यसको विकल्प खोज्नुपर्छ’, सवारी चालकहरु भन्छन् ।

त्यस्तै ठूला सवारी चालकहरुले भने बाटैभरि पार्किङ र पैदल यात्रुहरुले गर्दा दुर्घटनाको जोखिम बढेको बताए । त्यस्तै ठूला सवारी साधनहरुका लागि वैकल्पिक व्यवस्थापन गर्न सके बजारमा हुने भीडभाड भने अलि कम हुने बताइएको छ । ‘तुलसीपुरमा भित्रने र बाहिरिने ठूला सवारी साधनहरुको लागि बैकल्पिक व्यवस्थापन गर्न सके राम्रो हुने थियो’, स्थानीय माधव केसीले भने ।

तुलसीपुरलाई व्यवस्थित र अस्तव्यस्त सवारी पार्किङको समस्या समाधानका लागि विभिन्न समयमा बहस र छलफल चले पनि समस्या भने ज्यूँका त्यूँ छन् । सम्बन्धित सरोकारवालाहरुले यसलाई गम्भीरताका साथ लिनुपर्ने नगरवासीहरु बताउँछन् ।