भूवन पोख्रेल
संविधान दिवसका दिन विहानैदेखि राज्यद्वारा प्रदान गरिने मानपदवी पाउनेहरुलाई सामाजिक सञ्जालमार्फत् बधाई प्रदान गर्नेको लर्को लाग्यो । बधाई दिने र लिनेलाई वाहेक अन्यलाई ती व्यक्तित्वले राष्ट्रका लागि के चाहिँ योगदान गरेका रहेछन् भनी लक काट्नै मुस्किल प¥यो ।
राष्ट्रिय जीवनमा योगदान पु¥याएका व्यक्तिले तक्मा वा मानपदवी पाएका भए सामाजिक सञ्जालका पानाहरुमा अर्जुन पराजुलीको ‘तक्मा’ शीर्षकको कविता त्यति भाइरल हुने थिएन, सायद । हुन पनि यस पटक पदक पाउनेको सूचि पल्टाउँदा नेत्र रोग विशेषज्ञ सन्दुक रुइत र अन्य केही व्यक्ति वाहेक अधिकांश व्यक्तिले मुलुकमा के चाहिँ योगदान पु¥याए भन्ने बारेमा जग बेखबर छ र यसले झन जग हँसाउने कार्य भएको छ ।
प्रधानमन्त्रीको लगातार भट्टा देखिने गरी बढाइचढाइ स्तुती गान वा प्रशंसा वा भक्ति धारामा धारावाहिक लेख्ने प्रा.डा.हरु, सत्ताको प्रत्यष र परोक्ष चाकडी गरेकोदेखि सार्वजनिक पदमा बसेर तोकिएको जिम्मेवारीमै विफल भएकाहरु सूचिमा अटाउन सफल भएका छन् । मुलुकका लागि विशेष योगदान पु¥याएका कैयौँ परिचित नामहरु त्यस सूचिमा अटाउन सकेनन्, यसलाई विडम्बनापूर्ण मान्नुपर्छ ।
राष्ट्रले दिने मानपदवी, विभूषण, अलंकार तथा पदकमा किन यति धेरै लापरवाही र खेलाँची गरिन्छ ? कोरोनाको कहरमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र जनप्रतिनिधिले पदक पाउनु सकारात्मक हो । यसरी सत्ताको आसेपासे, चाकडीवाज तथा भक्ति गाँथा गाउनेहरु जसको पृष्ठभूमि र कार्यशैली केलाएर हेर्दा कुनै कोणले पदकको मान राख्न सक्ने देखिँदैनन् ।
तिनीहरुलाई मान पदवी प्रदान गर्नुले गणतान्त्रिक मुलुकमा राजतन्त्र हुकुम बक्सेकोझैँ र राणाकालमा देखिने चाकडीको झल्को देखिएको छ । यसलाई खेदपूर्ण ठान्नु पर्छ । यसले अझै पनि नेतृत्ववर्गमा गणतान्त्रिक चेतनाको सर्वथा अभाव देखाउँछ । यस्तो पदक राष्ट्रले प्रदान गर्ने हो, यसलाई पार्टी वा सरकार र गुटविशेषले आफ्ना आसेपासेलाई दिने चीज होइन । राष्ट्रले प्रदान गर्ने पदवीको आफ्नै गौरव र सान हुन्छ, सरकार त वितरण प्रक्रियामा सहभागी मात्र हुने हो । यो आफूलाई मन परेकोलाई प्रदान गर्दा यसको गरिमा र महत्व घटेर जान्छ ।
सबै राष्ट्रमा यस्ता मन पदवी वितरण हुन्छन्, जसको आफ्नै गरिमा र महिमा हुने गर्छ । पदक पाउने सम्बन्धित व्यक्तिभन्दा अरु नागरिकले उक्त व्यक्तिप्रति गौरवान्वित हुन सकून् । यसले गर्दा पदकको ओज स्थापित हुनसक्छ । नत्र केही योगदान नगरी मोलाहिचामा मान पदवी पाएकाले यसको बोझ जीवनभर बोकेर हिड्नुपर्ने हुन्छ ।
सत्ताको नजिक हुनेलाई विभूषित गर्दै जाँदा आम जनमानसमा यसको छवि गत्तिलो हुँदैन । कसैले मान पदवी पाइहाले पनि हल्काफुल्का ढङ्गले हेरिन्छ । वास्तवमा उक्त व्यक्तिले राष्ट्रिय जीवनमा के योगदान पु¥यायो त भन्नुभन्दा सत्ताको नजिक रहँदै भन्ने बुझाई सबैको ठहर्छ ।
पदक पाउन लायक व्यक्तिले पनि गौरवान्वित हुन सक्ने स्थिति बनाउनका लागि पनि सम्बन्धित निकायले मान पदवीलाई हल्काफुल्का रुपमा नलिई गम्भीरताका साथ लिन जरुरी छ । मान पदवी पाउनेहरुको नाम प्रकाशित हुनासाथ प्रायःजसो धेरैको योगदानमाथि प्रश्न चिह्न लाग्नुलाई पनि सही सन्देशको रुपमा लिइँदैन ।
राष्ट्रले प्रदान गर्ने मान पदवी विद्वता, शाहस, विज्ञता, वीरता, सेवाको कदर स्वरुपको पुरस्कार हो न कि चाकडी, चाप्लुसी र चम्चागिरिको इनाम । अलंकार त त्यस्तो व्यक्तिलाई शोभित हुन्छ जसले अरुहरलाई शोभा बढाएको हुन्छ, जसको झलमलाहट र सौन्दर्यको अरु व्यक्तिले अनुभूति गर्न सकेको हुनुपर्छ । जो व्यक्तिले अनुभूति गर्न सकेको हुनुपर्छ । जो व्यक्ति विभूषित हुनलायक नै छैन त्यस्तालाई मान पदवी प्रदान गर्नु भनेको त राज्यशक्ति र स्रोतको दुरुपयोग हो । तजविजको भरमा होइन मान पदवी प्रदान गर्ने ।
मान पदवी प्रदान गर्न त विवेकपूर्ण कार्ययोजना र कार्यशैलीको आवश्यकता पर्दछ । नेपालमा गणतान्त्रिक लोकतन्त्र स्थापित भइसकेपछि तक्मा र पदकहरुको ओज स्थापित गरिनु पर्दथ्यो । गणतन्त्र स्थापनापछि पनि पुरानो व्यवस्था अनुरुप विभूषित हुने प्रणाली खारेज भएकै हो तर त्यसपछिका सरकारले थिति बसालि पदकको ओज बचाउनै सकेनन् वा चाहेनन् ।
तक्माको सान र मानलाई बचाएर शोभनीय बनाउन सर्वप्रथम सत्तामा भएका शासक र प्रशासक सचेत बन्नुपर्ने हो । आफ्नो हात जगन्नाथ गर्ने प्रवृत्ति हातमा डाड बन्यो भएकाहरुले गर्दा अहिलेको मान पदवी पाउनेहरुमा आफ्ना मान्छेहरु सूचिमा धेरै हदसम्म अटाउन सकेको हो । यसलाई हटाउन नसके तक्मा वितरण प्रणाली केही गरे पनि निर्विवादित बन्न सक्दैन ।
तक्मा प्रदान गर्नेले त्यसको औचित्य पुष्टि गर्न नसक्ने र तक्मा लिनेले गर्व गर्नुको साटो धक मान्ने गरी जथाभावी वितरण गर्दा यसले तक्मा पाउने व्यक्ति मात्र नभई राष्ट्र र राष्ट्रपति कसैको पनि मान रहँदेन । मान पदवी प्रदान गर्ने मापदण्ड स्पष्ट र प्रक्रिया पारदर्शी हुनुपर्छ ।
मानपदवीको मान रहनका लागि पाउनेले पनि आफ्नो उच्च मूल्यांकन भएको ठान्नुपर्छ र आम नागरिकले पनि मान पदवीधारी व्यक्तिमा सम्मान भाव जाग्ने वातावरण सिर्जना हुनुपर्छ । मान पदवी व्यक्तिको घरको भित्तामा टाँगिएर शोभा बढाउने मात्र नभई त्यसता पदवीधारी व्यक्तिले मुलुककै सौन्दर्य बढाउन सक्नुपर्छ ।
नत्र मानबिनाका मान पदवीको कुनै औचित्य सावित हुँदैन । मान पदवी पाउने व्यक्तिको कसले कति योगदान गरेछन् भन्नेभन्दा पनि कुन व्यक्ति कति शक्ति, सत्ता र पार्टीको नजिक रहेछ भन्ने अनुभूति गर्ने गरी मान पदवी वितरण गरिनुले मान पदवीको ओज र सौन्दर्य घटाई कुरुप तुल्याउँछ ।
संविधान जारी भएको पाँच वर्ष पूरा भई ६ वर्षमा पुगेको छ । यस हिसाबले संविधानका दूधेदाँत झरेर स्थायी दाँत पलाउने बेला भइसक्यो । मुख्यतः गणतन्त्रलाई संस्थागत गर्ने तथा तत्कालीन राज्यको एकात्मक, केन्द्रीकृत संरचना बदल्ने हेतुले नयाँ संविधान लेखिएको थियो तर संविधानका पानामा लेखिएका हकअधिकारलाई आम नागरिकको दैनिक जीवनमा किन अझै पनि कार्यान्वयन गर्न सकिएको छैन ? संविधानलाई अझै पनि कार्यान्वयनमा ल्याउन नसकेकोमा अझै पनि आम नागरिक असन्तुष्ट छन् ।
लोकतान्त्रिक पद्धतिमा सबैको प्रश्न गर्ने अधिकार हुन्छ । प्रश्न उठेपछि त्इसको उत्तर दिने सामथ्र्य नेतृत्ववर्ग र राज्य सञ्चालन गर्ने वर्गले राख्नुपर्छ । खालि भाषण र प्रवचनका मीठा शब्दले जनताका असन्तुष्टि भेटिँदैनन् । उनका जिज्ञाशा र प्रश्नहरुको स्वागत गरिनुपर्छ । हरेक प्रकारका प्रश्न र बहसका लागि लोकतन्त्र खुलामञ्च सावित हुनुपर्छ ।
त्इसैले गणतन्त्र र संघीयतासम्बन्धी उठाएका प्रश्नको जवाफ निश्चय पनि सरोकारवालाले नागरिकलाई दिनुपर्छ । जनतालाई कागको कुहिरो बनाएर आफ्ना आसेपासेलाई राणाकालीन र पञ्चायती शैलीमा मान पदवी प्रदान गरिनुलाई जनताको कुन अर्थमा बुझेको होलान् भन्नेतर्फ राज्यसञ्चालक गम्भीर हुन किन नसकेका होलान् ?
परिवर्तनको मान्यता र मर्म जब खण्डित हुन्छ तब जनता परिवर्तनतर्फ असन्तुष्ट भइदिन्छन् । बारम्बार राजाबाटै लोकतन्त्रको हरण भइसकेकोले त्यसको पुनरावृत्ति नहोस् भनेर गणतन्त्रलाई लोकतन्त्रको सुरक्षा कवचका रुपमा स्थापना गरिउको । लोकतन्त्र र राजा सँगसँगै चल्न नसक्ने रहेछन् भन्ने निष्कर्ष स्वरुप गणतन्त्र स्थापना भएको हो ।
मुलुकमा गणतन्त्रको स्थापना हुनु भनेकै हुकुमी, हैकमी र ठालु प्रवृत्तिलाई जरैबाट उखेलेर विदाइ गर्नु हो । जो नेपाली नागरिक गणतन्त्र मनैदेखि चाहन्थे तिनले पक्कै पनि गणतन्त्रमा पनि राजाशाहीकै जक्कल गरिने छ भन्ने सोचेका थिएनन् तर यस गणतन्त्रकालीन नेतृत्ववर्गले नवस्थापित प्रणालीमा आफै राजा बन्न पुगेको जसतो व्यवहार गरिरहँदा राजा हटाएर पनि शासकीय शैलीमा परिवर्तन नभएको सन्देश गएको सत्य हो ।
अहिले एउटा राजाका ठाउँमा धेरैवटा राजा पाल्नुपरेको गुनासो जनस्तरबाट आइरहेको छ । गणतन्त्र संस्थापक रुपमा प्रतिविम्बित हुने भनेको राष्ट्रपतिमा हो तर राष्ट्रपतिलाई सरल र जनताको दिल नजिकको आफ्नै संस्था हो भनेर चिनारी नगरी राजर्शीशैलीमा तामझाम सहित प्रस्तुत गर्न खोजिरहँदा गणतन्त्र नचाहनेहरुलाई आलोचना गर्ने प्रशस्त मौका वा अवसर जुटेको छ ।
राष्ट्रपतिले राजाहरुले गर्ने क्रियाकलापै गर्नुपर्ने, यात्रा भ्रमण नभने सवारी चलाउनु पर्ने वा दरबारिया भाषा र भावभङ्गीलाई निरन्तरता दिइएपछि भिन्नता र फरक के नै रह्यो र ? राजा र राष्ट्रपतिमा भन्ने विषय स्वतः उठेका छन् । राष्ट्रपतीय संस्थाको प्रबन्धलाई किफायती बनाउनुपर्नेमा ऐयासीपूर्ण, भड्किलो, खर्चिलो र उत्ताउलो भयो भनी पटक–पटक राष्ट्रपति विवादमा तानिइरहनु परेको छ ।
राष्ट्रपति जनताको मन–भावना र वाणीमा आदरको केन्द्र बन्न सक्नु पर्दथ्यो । संविधान दिवसको अवसरमा वितरण गरिने मान पदवी जुन राष्ट्रपतिद्वारा प्रदान गरिन्थ्यो त्यस पनि जनताको भावनाको प्रतिबिम्बित हुनु पर्दथ्यो । राष्ट्रपति भनेको गणतन्त्रको अनुहार देखिने ऐना हो । आलंकारिक नै सही यही ऐनामा राज्यको चरित्र प्रतिबिम्बित हुनु पर्दथ्यो तर संविधान दिवसको अवसरमा पुरानै शैली पुनरावृत भयो ।
राष्ट्रपति सबैको अपनत्व होस् भन्ने आम नागरिकको चाहना हो तर राष्ट्रपतिको कुनै दल वा पार्टी विशेषको सल्लाहकार जसरी प्रस्तुत भएको आरोप खेप्नु पक्कै पनि गणतान्त्रिक नेपालका लागि शोभनीय हुँदैन । शासन सञ्चालन गर्न कुर्सीमा बसेका पात्रहरु इमानदार भएनन् भने संस्थाहरु क्रियाशील हुन सकेनन् भने त्यसको दोष गणतन्त्र लोकतन्त्र र संघीयतालाई कदापि दिने होइन ।
गणतन्त्रको अनुहारमा जनता प्रतिबिम्बित हुनु पर्छ र संघीयताले जनताको मुहारमा खुशी झर्नुपर्छ र जानताद्वारा लेखिएको संविधानले मौलिक हकको सुनिश्चित गर्न सक्नुपर्छ । यस व्यवस्थाको सञ्चालकको कार्यशैलीमा संविधानको सार्थकता सिद्ध हुन्छ ।
शासकले आफूलाई जब जनताभन्दा माथि राख्दछ र जनभावनालाई कुल्चन्छ तब ऊ जनताको युगबाट पछि हट्नुपर्छ । जनतालाई आफ्नै कुरामा सही थाप्न वाध्य पार्नु भनेको जनताको स्वतन्त्रता र विवेकको रक्षा गर्न नसक्नु हो ।
संविधानभन्दा कोही माथि छैन । एउटै राजनीतिक भूगोलभित्र कोही विजेता र कोही पराजित मनोविज्ञानमा बाँचिरहेको छ भने कसरी विश्वासको डोरी कसिलो बन्नसक्छ । सुखी र समृद्ध नेपालको सार्थकता विभाजित मानसिकताले कदापि हुन सक्देन । कुन अब्बल र कुन सब्बल भन्ने न्यायबोध मान पदवीले होइन जनआस्थाको भावले गर्छ ।
हाम्रो समाजको नग्न यथार्थ आफ्नो पराया देखाउने प्रवृत्ति छताछुल्ल भएको घटना मान पदवी वितरण सूचीमा नाम अटाउनु र हटाउनुलाई लिन सकिन्छ ।