सिमेन्ट उद्योगसँग भाडा बढाउन टिप्पर व्यवसायीको माग

दाङ, ८ असोज । स्वर्गद्धारी टिप्पर व्यवसायी यातायात प्रालिमा आवद्ध टिप्पर व्यवसायीहरुको बुधवार सम्पन्न बैठकले चुनढुंगा खानीबाट सिमेन्ट कारखानासम्म बोक्दै आएको चुनढुंगाको भाडा बढाउने निर्णय गरेको छ ।

स्वर्गद्धारी टिप्पर व्यवसायी प्रालिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकले घाोराही सिमेन्ट कारखानाकालागी प्रतिटन २५ रुपैया र देउखुरीको सम्राट सिमेन्ट कारखानाकालागी प्रतिटन १ सय रुपैया भाडा बृद्धि गर्न संम्वन्धित उद्योगसंग माग गर्ने निर्णय गरेको हो ।

हाल घोराही सिमेन्टमा प्रतिटन ५ सय २५ रुपैया र सम्राट सिमेन्टमा प्रतिटन ६ सय ५० रुपैयामा चुनढुंगा बोक्दै आएको प्रालिले जनाएको छ । भाडादर कायम गराउनकालागी उद्योगसँग वार्ताकालागी भरतनाथ योगीको संयोजकत्वमा ५ सदस्यीय वार्ताटोली समेत गठन गरिएको छ ।

वार्ता टोलिका सदस्यहरुमा रमेश डांगी, शिव पुरी, भेषराज खत्री र पूर्ण शाही रहेका छन् । व्यवसायीहरुले आफ्ना माग यहि असोज १६ गतेसम्म पुरा नभए टिप्पर बन्द गरेर आन्दोलन गर्ने निर्णय भएको समितिले जनाएको छ ।