द्वन्द्वपीडितको गुनासो ‘उपचार गर्ने पैसा छैन, राज्यले हेर्दैन’

लिलाधर वली
दाङ, ६ असोज । पुन्या चौधरी स्वास्थ्यमा समस्या आएपछि केही दिन पहिले उपचारका लागि घोराहीमा रहेको एक अस्पतालमा चेकअप गर्न पुगिन् । पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याका कारण पीडित उनले उपचारका लागि छोरासँग पैसा मागिन् ।

तर छोराले पैसा छैन भनेपछि आफूसँग भएको केही पैसा लिएर उपचारका लागि घोराही आइन् तर त्यो पैसाले उपचार हुन नसकेपछि उनी उपचार नगरी घर फर्किइन् । ‘अस्पतालमा खुन, पिसाव र एक्सरे गर्नुपर्छ भन्यो, त्यसका लागि कति रुपैयाँ लाग्छ भनेर सोध्दा ८ हजार रुपैयाँ भन्यो । तर मसँग ५ हजारमात्र थियो । पैसा नपुग्ने भएपछि उपचार नगरी घर फर्किए’, विश्व शान्ति दिवसको अवसरमा घोराही–१७ बर्गदीमा निर्माण गरिएको शहीद स्मृति पार्कमा आयोजना गरिएको कार्यक्रममा उनले भनिन्– ‘घरमा कमाउने मान्छेलाई सेनाले मा¥यो, छोराहरुले उपचारका लागि पैसा माग्दा पैसा छैन भन्छन्’, उनले भनिन्– ‘अब मैले कसरी उपचार गर्ने ?’ सरकारले आफूहरुजस्ता पीडितलाई परिचय–पत्र बनाएर अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिदिए राम्रो हुने थियो ।

उनका श्रीमान सोरंगरा चौधरीलाई २०५८ साल मंसिर १३ गते नेपाली सेनाले गोली हानेर मारेको थियो ।  त्यस्तै गुनासो छ, घोराही उपमहानगरपालिका–१७ निवासी दोपद्रा न्यौपानेको पनि । उनले राज्यले द्वन्द्वपीडित परिवारलाई न्यायको अनुभूति गराउन नसकेको बताइन् । पीडित परिवारलाई परिचय पत्र बनाएर उपचारमा छुटसँगै पीडित परिवारका सदस्यलाई रोजगारी दिने व्यवस्था गरे आफूहरुजस्ता पीडित परिवारलाई राहत हुने उनको भनाइ छ ।

‘द्वन्द्वपीडित परिवारलाई राज्यले हेर्न नसक्दा कतिपय परिवार समस्यामा पर्ने गरेका छन्’, उनले भनिन्– ‘त्यस्ता परिवारहरुको दुःखमा मलम लगाउनका लागि राज्यले द्वन्द्वपीडितको भावनालाई समेटेर कार्यक्रम ल्याउनुपर्छ ।’ संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला

सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राज्यले पीडित परिवारलाई न्यायसँगै आत्मसन्तुष्टि हुने खालका कार्यक्रमहरु ल्याउन नसकेको गुनासो गरेका थिए । सशस्त्र द्वन्द्व सकिएको लामो समय भैसक्दा पनि पीडित परिवारहरुले अझै न्यायको अनुभूति गर्न नसकेको भन्दै बक्ताहरुले राज्यको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका उपप्रम्ुख श्रीधर शर्मा पौडेलले पीडित परिवारलाई न्यायको अनुभूति हुने सरकारले तहबाट कार्यक्रम आउन आवश्यक रहेको बताए । राज्यले समयमै द्वन्द्वपीडित घरपरिवारलाई न्यायको अनुभूति गराउन नसक्दा अहिलेसम्म पीडित परिवार झन्पछि झन् समस्यामा फस्दै गएको बताएका थिए ।

‘राज्यले समयमै द्वन्द्वपीडितका समस्या सम्बोधन गर्न नसक्दा अहिलेसम्म समस्या आउने गरेका छन्’, शर्माले भने– ‘समस्याहरु समाधानका लागि अब केन्द्रीय सरकारसँगै जिल्ला, पालिका र वडा सरकारहरुले ध्यान दिन आवश्यक छ ।’ उनले द्वन्द्वपीडितहरुका समस्या समाधानका लागि वडा तहबाटै पहल शुरु गर्न सकियो भने आगामी दिनमा पीडित परिवारका गुनासाहरु कम हुने समेत बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका–१७ का वडा अध्यक्ष खुशीराम चौधरीले आफू नेतृत्वमा आएदेखि नै द्वन्द्वपीडित परिवारलाई जोड्ने गरी आत्मसम्मानदेखि क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउँदै आएको बताएका थिए ।कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डेय, नेपाल बार एसोसियसनका प्रतिनिधि किरण पौडेल, इन्सेकका कार्यक्रम संयोजक बिनोद केसीलगायतले बोलेका थिए ।

संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जालका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला कानुन र विकास मञ्चकी संयोजक गोमा महराले गरेकी थिइन् । विश्व शान्तिको अवसर पारेर सञ्जालले २०५८ साल मंसिर १३ गते सामूहिक हत्या गरेका बगर्दीका ११ जना शहीद परिवारको सम्झनामा निर्माण गरिएको शहीद स्मृति पार्कमा दीप प्रज्वलनसमेत गरेको थियो । कार्यक्रममा सञ्जालले द्वन्द्व पीडित परिवारका सदस्यहरुलाई कोरोना भाइरसबाट बच्नका लागि मास्क, सेनिटाइजर र ग्लोब्स सहयोग गरेको थियो ।