निजी क्षेत्रको माग कोइलावास भन्सार चलाऊ

दाङ, ६ असोज । जिल्लाको एकमात्र कोइलावास भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले तथा जिल्लावासीले माग गरेका छन् । भन्सार सञ्चालनमा आएमा दाङसहित साविक राप्ती अञ्चललाई नै सहजता हुने र जिल्लाको आर्थिक विकासमा ठूलो भूमिका खेल्ने निजी क्षेत्रको विश्वास छ ।

कोइलावास भन्सार सञ्चालनमा आएपछि जिल्लामा सामान आयात–निर्यातमा सहजता हुने गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताए । यस नाका हुँदै सामान ल्याउँदा छिटो तथा मूल्यमा समेत सस्तो हुनेछ’, उनले भने । अहिले यो भन्सार सञ्चालन नहुँदा जिल्लामा आयात तथा निर्यात कृष्णनगर भन्सार र रुपैडिया भन्सारबाट गर्नुपर्ने बाध्यता छ ।

कृष्णनगर भन्सार र रुपैडिया भन्सारबाट सामान आयत निर्यात गर्दा लामो दूरी भएकाले ढुवानी गर्दा रकम धेरै लाग्ने गरेको व्यवसायीहरु बताउँछन् । नेपालमा पहिले चलेको भन्सार रहेको यसलाई सञ्चालन गरिनुपर्ने अध्यक्ष आचार्यले बताए । ‘यो पुरानो चलेको भन्सार हो जिल्लाका भविष्यसँग जोडिएको छ’, उनले भने– ‘अहिले लमहीदेखि कोइलावाससम्म बाटोसमेत पक्की भइसकेको हुँदा सञ्चालनमा ल्याउनसमेत सहज हुन्छ ।’

केही भौतिक संरचना भएको र केही संरचना थप गरी कर्मचारी थप गरेर यस भन्सारलाई सञ्चालनमा ल्याउन सकिने उनले बताए । भारतीय कस्टम पनि नजिकै ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ रहेको छ । यस भन्सार सञ्चालन भएमा साविक राप्ती अञ्चल दाङ, रोल्पा, प्यूठान, सल्यान र रुकुमका नागरिकलाई समेत सहजता हुनेछ ।

कोइलावास पुगेका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भन्सार सञ्चालनमा ल्याउनका लागि आफूले आफ्नो तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । भन्सार अवलोकन गर्न पुगेका मन्त्री पोख्रेलले भन्सार सञ्चालन गर्न आवश्यक भएको भन्दै सहयोग रहने बताएको अध्यक्ष आचार्यले बताए । भन्सार सञ्चालनमा ल्याउनका लागि मुख्यमन्त्री सकारात्मक रहेको उनको भनाइ छ ।

‘यस क्षेत्रको बिकासको लागि तपाईहरु लाग्नुहोस्, आवश्यक पर्ने स्थानमा सहयोग हुनेछ’, मुख्यमन्त्री पोख्रेलले भने– ‘भन्सार सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकार तथा संघीय सरकारमार्फत पनि पहल थालिने छ ।’ कोइलावास भन्सार सञ्चालनमा ल्याउन लामो समयदेखि माग गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।

लामो समयदेखि माग गरे पनि हालसम्म सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । ‘यो भन्सार दाङको भविष्यसँग जोडिएको छ’, अध्यक्ष भुसालले भने– ‘भन्सार सञ्चालनमा आएपछि दाङ जिल्लालाई मात्र नभई पहाडी जिल्लाका लागिसमेत सहजता हुनेछ ।’ यस भन्सार सञ्चालन भएमा जिल्लामा भएका उत्पादन भारत हँुदै अन्य देशमा पठाउन तथा भारत तथा विदेशबाट सामान ल्याउन पनि सहजता हुनेछ ।

‘आफ्नै भन्सार भएमा अरु नाकासम्म पुग्नुपर्ने बाध्यता हट्नेछ’, उनले भने । यो भन्सार पहिले धेरै चल्ने नाका रहे पनि अहिले सुनसान रहेको छ । बाटो नहुँदा समस्या थियो तर अहिले बाटोसमेत पक्की भएको हुँदा सरकारले छिट्टै सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने उनको भनाइ छ ।

भन्सारमा केही भौतिक संरचना थप गरेर सञ्चालनमा ल्याउन सकिने भुसाल बताउँछन् । कोइलावास भन्सार सञ्चालनमा आएपछि जिल्लाको आर्थिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने छ । आर्थिक विकाससँगै अन्य विकासमा पनि सहयोग पुग्ने जिल्लावासीको अपेक्षा छ ।