गरिब घरपरिवार पहिचान गर्न तथ्याङ्क संकलन
तीर्थराज ज्ञवाली
मसुरिया, १ असोज । राप्ती गाउँपालिकामा गरिब घरपरिवार पहिचान गरी परिचय–पत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलनको काम सम्पन्न गरिएको छ गत फागुनदेखि सुरु भएको तथ्याङ्क संकलन कार्य कोरोना कहरका कारण केही समय रुकावट भए पनि गत जेठदेखि पुनः समाजिक दूरी कायम गर्दै सुरु गरिएको थियो ।
एक जना सुपरीवेक्षक र सात जना गणक सहितको टोलीले राप्ती गाउँपालिका क्षेत्रको सम्पूर्ण घरपरिवारको सम्पूर्ण जानकारी सहित तथ्याङ्क संकलन गरेको थियो । राप्ती गाउँपालिकामा पछिल्लो तथ्याङ्कअनुसार १० हजार ७ सय २० घरधुरीको विवरण लिइएको सुपरीवेक्षक बासुदेव थापा क्षत्रीले जानकारी दिए ।
गरिब घरपरिवार पहिचान गरी परिचय–पत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सर्भरमा पठाएको जानकारीका आधारमा कुनै घरपरिवारको वर्गीकरण गरिने व्यवस्था रहेको छ । सो तथ्याङ्क संकलन राप्ती गाउँपालिकामा कम्प्यूटर एसिस्टेड पर्सनल इन्टरभ्यु सिस्टमबाट गरिएको थियो ।
गाउँपालिकाले गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरणका लागि गरिएको तथ्याङ्क संकलनको कामलाई प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्न साथै कोही घरपरिवार सो तथ्याङ्क लिने कामबाट नछुट्ने व्यवस्थाका लागि वडा, टोल, समूहबाट जानकारी, सञ्चार माध्यमबाट सूचना प्रवाह गरी नागरिकमा चेतना फैलाइएको थियो ।
कुनै एक घरको तथ्याङ्क दिने समयमा घरमुलीको नाम, परिवार संख्या, जग्गाको विवरण, अन्य आम्दानीको स्रोतलगायत करिब १०० बढी प्रश्नमा रहेर जानकारी, घरको र घरमुलीको फोटो खिच्ने काम तथा जिपिएस लोकेशन समेत लिइएको सुपरीवेक्षक क्षत्रीले बताए ।
गरिब परिवारको वर्गीकरण र प्रारम्भिक सुचि प्रकाशनका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले संकलित तथ्याङ्क विश्लेषण तथा स्वीकृत परिमार्जन सुचि समेतको आधारमा गरिब परिवारलाई अति गरिब, मध्यम गरिब, सामान्य गरिबमा वर्गीकरण गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रालयको योजनाअनुसार गरिव परिवारको रुपमा पहिचान भएका परिवारलाई परिचय–पत्रको आधारमा व्यवस्था तथा कार्यक्रम ल्याउने योजना रहेको छ ।
गरिब परिवार पहिचान तथा परिचय–पत्र वितरण निर्देशिका २०७५ को अनुसुचि १ को गरिब परिवार पहिचानका सुचकको आधारमा मापदण्ड निर्धारण गरी गरिब परिवार र गरिबीको प्रकार पहिचानका लागि तथ्याङ्क विश्लेषण प्रोक्सी मिन्स टेस्ट वा अन्य प्रचलित विधिद्वारा प्रत्येक परिवारको प्राप्त गरेको समृद्धि मापन सुचकाङ्कले निर्धारण गर्ने व्यवस्था रहेको छ ।
गरिब परिवार पहिचानको सूचि प्रत्येक पाँच वर्षमा अद्यावधिक गर्नसक्ने र गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ वमोजिम परिचयपत्र प्राप्त गर्ने व्यक्ति वा परिवारले प्रचलित कानुन वमोजिम सार्वजनिक तथा अन्य निकायबाट प्रदान गरिने सुविधा र सहुलियत प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।
