तुलसीपुरमा आधुनिक बसपार्कको उद्घाटन

दाङ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक वसपार्कको उद्घाटन गरिएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडको लागतमा शिवशक्ति कन्स्ट्रक्सनले २ वर्ष लगाएर निर्माण गरेको वसपार्कको प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शुक्रावर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री पोख्रेलले बसपार्क शहरको पहिचान भएको वताएका थिए ।

संरचना निर्माणसँगै त्यसको व्यवस्थापन पनि मुख्य चूनौतिपूर्ण भएको मुख्यमन्त्री पोख्रेलले बताएका थिए । ‘ जिल्लामै पहिलो पटक सुविधा सम्पन्न बसपार्क तुलसीपुरमा निर्माण भएको छ, यो राम्रो काम हो’, मुख्यमन्त्री पोख्रेलले भने,‘ अव यो बसपार्क व्यवस्थापन गर्ने जिम्मा यातायात व्यवसायीको हो ।’ उनले पहिलो चरणको काम पुरा भएको वताउँदै आधुनिक वसपार्क वनाउनका लागि सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

यसको आम्दानी वढाएर व्यवस्थित गर्नका लागि सबैले भुमिका खेल्नुपर्ने मुख्यमन्त्री पोख्रेलको भनाई रहेको थियो । विकासका लागि जनताको साथ आवश्यक भएको भन्दै मुख्यमन्त्री पोख्रेलले विवादले विकास अवरुद्ध हुने बताएका थिए । वसपार्क तुलसीपुरका लागि सुन्दर उपहार भएको पनि मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वसपार्कको पहिलो चरणको काम भएको भन्दै थप काम तत्काल अगाडि वढाउने वताए । वसपार्कबाट कुनै पनि ठाउँको पहिचान हुने भएकाले सबैलाई असल व्यवहार गर्न समेत उनले आग्रह गरेका थिए ।