घोराही उपमहानगरपालिका असोज ४ गतेसम्मलाई सिल
दाङ, ३१ भदौ । घोराही उपमहानगरपालिकामा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई सिल गरिएको छ ।
कोरोना परिक्षणका क्रममा मंगलवार घोराही उपमहानगरपालिकाका स्वास्थ्य, भौतिकलगायतका शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनका लागि उपमहानगपालिका सिल गरिएको हो ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले आज एक प्रेस विज्ञप्ती निकालेर भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने जनाएका छन् । कार्यालय बन्दका क्रममा स्वास्थ्य सेवा, विपद् ब्यवस्थापन र सरसफाई सेवालगायत अत्यावश्यक सेवा दिने जनाएको छ ।
मंगलवार घोराहीमा २३ जनामा कोरोना संक्रमण देखिएको थियो । जिल्लाका अन्य स्थानीय तहको तुलनामा घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितहरु धेरै रहेका छन । घोराहीमा उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ८८ जना पुगेको छ । उनीहरु मध्य २ सय ७७ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् ।
सोमवार दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकालाई पनि सिल गरिएको थियो । पछिल्लो समय दाङको कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी रहेको छ ।
