उपमहानगरपालिकालाई भिटिएम सहयोग
गोरक्ष समाचारदाता
तुलसीपुर, २७ भदौ । तुलसीपुर क्षेत्रमा कोरोना महामारी नियन्त्रण र कोरोनाबाट संक्रमितहरुको पहिचान गर्न परीक्षण गर्ने भिटिएम सहयोग प्राप्त भएको छ ।
तुलसीपुर उपमहानगरपालिकालाई निजी स्वास्थ्य संस्थाहरुले भिटिएम सहयोग गरेका हुन् । शुक्रवार दुई निजी अस्पतालहरुले ५ सय १५ थान भिटिएम सहयोग गरेका छन् । सहयोग गर्ने निजी अस्पतालमध्ये तुलसीपुर सिटी हस्पिटलले २ सय थान किट र मेट्रो काठमाडौं हस्पिटल काठमाडौंले ३ सय १५ थान किट सहयोग गरेको हो ।
उक्त भिटिएम तुलसीपुर सिटी अस्पतालका सञ्चालक बिमल रिजाल, विनिल केसी र हेमराज बस्नेतले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । तुलसीपुरमा समुदाय स्तरमा कोरोना संक्रमित व्यक्तिहरु भेटिन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको समयमा समुदायमा नै अन द स्पट स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि दायरा बढाएको छ ।
परीक्षणको दायरा बढेसँगै तुलसीपुरमा भिटिएमको अभावले थप परीक्षणको लागि समस्या भइरहेको बेला समस्यालाई मध्यनजर गर्दै हस्पिटलले भिटिएम उपलब्ध गराएको भन्दै नगर प्रमुख पाण्डेले धन्यवाद ज्ञापन गरेका छन् ।
साथै प्रमुख पाण्डेले कोरोना नियन्त्रणमा निजी क्षेत्रबाट समेत सहयोग भइरहेको भन्दै थप सहयोग गर्न सबैमा अपील गरेका छन् । सहयोग प्राप्त भएसँगै तुलसीपुरमा पिसिआर परीक्षणको लागि थप सहयोग पुग्ने कोभिड–१९ का फोकल पर्शन बिमल केसीले जानकारी दिएका छन् । हालसम्म तुलसीपुरमा ३ हजार ५१ जनाको स्वाब परीक्षण गरिइसकिएको छ ।
