चाहिएको युरिया, आयो डिएपी
गोरक्ष समाचारदाता
तुलसीपुर, २५ भदौ । यहाँका किसान करबीर खत्री धानका लागि अनुदानको रासायनिक मल युरियाको खोजीमा धेरै भौतारिए । तर मल पाएनन् । मलको अभावमा देशभरिका किसान समस्या भएसँगै धेरै जसो दाङका किसानहरुले पनि यस बर्ष धान बालीमा मल हाल्न पाएनन् ।
धान फुल्ने बेला किसानलाई युरिया मल अत्यन्त आवश्यक छ, तर यो बेला सरकारले डिएपी मल पठाएर किसानलाई गुन लगाउन खोजेको छ । तर तत्कालका लागि धानमा हाल्न डिएपी मल आवश्यक छैन । डिएपी मल त तोरी र गहुँ छर्ने बेलाका लागि मात्र उपयुक्त हुने किसानहरुको भनाइ छ । मलको अभाव हुँदा धेरै जसो किसानहरुको धानले बाला नै फालेन ।
जिल्लाको घोराही र लमहीमा केही मल आए पनि तुलसीपुरमा साउनदेखि युरिया मल आएन । तर केही किसानहरुले भने दोब्वर मूल्यमा मल किनेर पनि धानबालीमा हालेको बताउँछन् । अन्य समयमा कृषिलाई पहिलो प्राथमिकतामा राख्ने भने पनि यसतर्फ भने कसैले पनि ध्यान नदिएको किसानहरु बताउँछन् ।
‘यस बर्ष समयमै खेती भएको थियो, धानले गाँजा हाल्ले समयमा मल नै पाएन’, कृषक झुपु चौधरीले भने । उनले अब तोरीका लागि पनि मल नपाइने हो कि भन्ने चिन्तामा आफूहरु रहेको बताए ।
उनीजस्तै अन्य किसानहरुले भने समयमै मल नपाउँदा धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरे । ‘साउनदेखि तुलसीपुरमा मल आएको छैन । युरिया मलका लागि अन्यत्र जानलाई कोरोनाको महामारीले सताएको छ, यस बर्ष धान उत्पादन सोचे जस्तो हुने भएन’, किसान प्रकाश खड्काले भने ।
उनले तोरी खेतीका लागि भने डिएपी मल बुधवार लिएको बताए । राज्यले किसानहरुको समस्यालाई नवुझ्दा किसानहरु मारमा परेको कृषकहरु बताउँछन् ।
समयमा रासायनिक मलको आयात हुन नसक्दा बजारमा देखिएको अभावका किसानहरु आक्रान्त बनेका छन् ।
देशकै मुख्य खाद्यबालीको रुपमा रहेको धानमा मल हाल्ने सिजनमै मल अभाव हुँदा उत्पादनमा ह्रास आउनेमा किसानहरु चिन्तित छन् । कोभिड–१९ का कारण अरु क्षेत्रहरु धरासायी भएको र कृषिबालीमै सबैको आशा जागेको बेला किसानहरुले मल नपाएपछि कतै खाद्य संकटको अवस्थाबाट गुज्रिनुपर्ने त होइन भन्ने आशंका समेत किसानहरुको छ ।
नेपालमा अनुदानको मल आपूर्ति गर्ने जिम्मेवारी दुईवटा सरकारी कम्पनीहरु कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई दिइएको छ । नेपालमा त्यसमध्ये पनि कृषि सामग्रीले करिब ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले करिब ३० प्रतिशत मलको आपूर्ति गर्ने गरेका छन् ।
घोराही क्षेत्रमा साल्ट टे«डिङले भने युरिया मल यस बर्ष उपलव्ध गराएको थियो । यता कृषि सामग्री कम्पनी लिमिडेट तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले अब युरिया मलको सिजन गएको र ५० टन डिएपी मल आएको बताए । उनका अनुसार तुलसीपुरमा साउनदेखि एक बोरा पनि युरिया मल आएन । जो धानबालीका लागि मल आवश्यक पर्ने समय हो ।
मल आए पनि कार्यक्षेत्र धेरै र थोरै मल आउने गरेका कारण विभिन्न समयमा समस्या पर्ने गरेको उनले बताए । न्यौपानेका अनुसार तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकामा सामग्रीले यहीबाट मल उपलव्ध गराउने गरेको छ ।
तोरीको सिजन शुरुसँगै ५० टन मल आएको र सबै मल बुधवार ३६ वटा विभिन्न सहकारीलाई वितरण गरेको उनले बताए । यो सिजनमा तुलसीपुर क्षेत्रमा मात्र २ सय ५० टन मल आवश्यक पर्ने गर्छ । २ सय ५० जन मल माग गरे पनि ५० टनमात्र आएको उनले बताए ।
‘भैरहवामा हामीहरुले २५० टन मल माग गरेका हौं ५० टन आयो अब आउने नआउने निश्चित छैन’, उनले भने । त्यसैगरी घोराहीमा भने हाललाई डिएपी मल स्टम रहेको कृषि सामग्री कम्पनी लिमिटेड घोराहीले जनाएको छ ।
