कोरोनाले सिकाएको व्यापारिक ‘ट्रिक’,अब ‘होम डेलिभरी कल्चर’

अमरराज आचार्य
दाङ, २४ भदौ । दाङमा खाजा, खानाको ‘होम डेलिभरी’ सेवा (होटलले नै ग्राहकको घर पु¥याई दिने सेवा) त्यति चलेको थिएन । ‘अर्काले प्याकेटमा हालेर कस्तो ल्याइदिन्छ, बरु आफै गएर हेरेर ल्याउने’ भन्ने मानसिकता ग्राहकहरूमा थियो ।

तर कोरोनाले नयाँ अभ्यासको शुरुवात गरिदिएको छ, फोनबाट मगाएको प्याकेटको खाजा खाना खाने संस्कृतिको विकास गरिदिएको छ । होटलहरूमा बसेर खाँदा भीडभाड हुन्छ भनेर पहिलेजस्तो ग्राहकको उपस्थिति त्यहाँ हुँदैन । ग्राहकमा विकास हुँदै गएको संस्कृति आफ्नो व्यवसाय चलाउनुपर्ने होटलवालाको बाध्यताका कारण ‘होम डेलिभरी’ सेवा होटल व्यवसायमा प्रचलित हुन थालेको छ । लकडाउनकै अवधिमा होम डेलिभरी सेवा दिने उद्देश्यले होटलहरू स्थापनासमेत भएको पाइएको छ ।

कुनै समयमा ग्राहकको राम्रो उपस्थिति देखिने होटलहरू पनि लकडाउन भएदेखि बन्दप्रायः रहेका छन् । तीनै होटलमध्येको एक घोराहीस्थित डिलाइट कर्नर दि फेम्ली रेष्टुरेण्ट प्रालिका म्यानेजर दिलिप खनालले होम डेलिभरी सेवा आफूहरूको बाध्यता रहेको बताए । ‘होटलमा आएर खान सरकारले रोक लगाएपछि हामी बाध्य भएर होम डेलिभरी सेवा दिएका हौं’, म्यानेजर खनालले भने । लकडानको धेरै मारमा होटलव्यवसाय परेको उनको भनाइ रहेको छ ।

होम डेलिभरी सेवा दिए पनि न्यून मात्रामा व्यापार हुने गरेको उनले बताए । ‘लकडाउनको कारण सबै मानिसहरु घरमा रहने भएकाले होम डेलिभरीमा कम जाने गरेको छ’, म्यानेजर खनालले भने । बजार खुल्ने समयमा सबै व्यस्त हुने भएकाले खाजा होटलबाट मगाएर खाने गरेको उनको भनाइ रहेको छ । अन्य समयमा अफिसहरु तथा पसलहरुबाट अर्डर आउने गरेको उनी बताउँछन् ।

व्यापार कम भएपछि अहिले घर भाडा तिर्ने तथा कर्मचारीको खर्च व्यवस्थापन गर्न नै समस्या रहेको खनाल बताउँछन् । अहिले डिलाइट कर्नरमा १४ जना स्टाफमध्ये ४ जना मात्र काममा आएका छन् । जिल्ला बाहिर घर भएकाहरु अहिले घर गएको उनले बताए । ‘नजिकैका स्टाफहरुलाई मात्र बोलाएर काममा लगाएका छौं’, खनालले भने ।

अहिले १२ बजेदेखि बन्द हँुदा थप समस्या भएको उनले बताए । ‘खाजा जाने भनेको १ बजेपछि हो १२ बजे नै बन्द हुन थालेको छ यसले थप समस्या बनाएको छ’, उनले भने । लकडाउनको समयमा माग गरिएको स्थानसम्म खाजा लिएर जाँदा पनि समस्या हुने गरको उनको भनाइ रहेको छ ।
घोराही काठेकोहलस्थित द टेष्ट होटल रेष्टुरेण्टले पनि होम डेलिभरी सेवा दिन शुरु गरेको छ ।

ग्राहकलाई आफ्नो स्वाद चखाउन होम डेलिभरी सेवा शुरु गरिएको सञ्चालक मोहन सेनले जानकारी दिए । होम डेलिभरी सेवा दिए पनि मूल्यमा भने कुनै वृद्धि नभएको उनको भनाइ रहेको छ । होम डेलिभरीमा खर्च वढी हुने गरेको उनी बताउँछन् ।

अहिले घोराही बजार क्षेत्रलाई मध्यनजर गरेर सेवा दिइएको छ । ‘पछिल्लो समयलाई मध्यनजर गरेर यस प्रकारको सेवा शुरु गरेका हौं’, सञ्चालक सेनले भने । सेवा शुरु गरिए पनि लकडाउनको कारण समस्या भएको उनले बताए । दिउँसोको बन्दले आफूहरूको व्यवसायमा समस्या पारेको उनको भनाइ रहेको छ । ‘पछिल्लो समय होम डेलिभरी अनिवार्य आवश्यकता भएको छ’, उनले भने । यसले समयको सदुपयोगसँगै सहजतासमेत भएको सेनले बताए ।

लकडाउनको समयमा पनि सहजरुपमा डेलिभरी गर्न दिएमा सहज हुने घोराहीमा रहेको फुड ग्यालरीका सञ्चालक शरद गोतामेले बताए । खाना पनि अत्यावश्यक सेवा भएकाले होम डेलिभरी सेवालाई सहज बनाउन उनले आग्रह गरे । ‘हामीलाई स्वास्थ्य सेवा सुरक्षा अपनाएर माग गरेको स्थानसम्म पु¥याउन सहयोग गरिदिनुपर्दछ’, उनले भने । ग्राहक बाहिर निस्कनु नपर्दा स्वास्थ्यको दृष्टिले यो सेवा राम्रो हुने उनको भनाइ रहेको छ । अर्डर आएको स्थानसम्म पु¥याउन जाँदा स्वास्थ्य सुरक्षा अपनाएर जाने गरेको कारण सहज हुने उनी बताउँछन् ।

आफूले डेलिभरी सेवालाई प्राथमिकता दिएको उनले बताए । अहिले १२ बजेदेखि लकडाउन भएको कारण समस्यामा परेको उनको भनाइ रहेको छ । ‘बिहानभरी खोलेर मात्र के गर्नु विहान चिया मात्र जाने गर्दछ’, उनले भने । दिउँसो खाजा माग हुने समयमा बन्द हुने भएकाले धेरै समस्या भएको छ । लामो समयसम्म लकडाउन हुँदा जिल्लामा रहेका होटल व्यवसाय नै संकटमा परेको होटल सञ्चालकहरु बताउँछन् ।बैंकको किस्ता, घरभाडा, र कर्मचारीलाई कसरी तलव खुवाउने भन्ने चिन्तामा व्यवसायीहरु रहेका छन् ।