दाङ,२२ भदौ । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड ( साविकको ग्रामीण महिला उत्थान केन्द ) दाङले ४० हजार बढि रकम जम्मा गरेर सहयोग गरेको छ ।
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एंव नियन्त्रणका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० हजार ९ सय ५७ रुपैया राष्ट्रिय बाणिज्य बैकंमा रहेकोे खाता नं १९६००००००११०१ मा जम्मा गरेको संस्थाले जानकारी गराएको छ ।
साबिकको ग्रामीण महिला उत्थान केन्द्रले बिगत १६ बर्षदेखि नै आत्मनिर्भर र सशक्त समाजको सिर्जनाका साथ सामाजिक रुपान्तरणका लागी महिला सशक्तिकरण,महिलाहरुको उत्थान,आत्मनिर्भर तथा स्वरोजगारका सवालमा बिभिन्न कामहरु गर्दै आईरहेको संस्थाका संस्थापक अध्यक्ष आशमानी चौधरीले जानकारी दिएकी छिन ।
संस्थाले बिपन्न, दलित, पछाडी पारिएका बर्गहरुको उत्थान र महिला सशक्तिकरण तथा महिला उद्यमशिलतामा जोड दिदै घरपरिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागी समुदायस्तरमा रहेर बिभिन्न आयमुलक किसिमका कामहरु गर्दै आईरहेको छ ।
वर्तमान परिबेशमा देश नै बिषम परिस्थीतिबाट गुज्रीरहेको अवस्थामा सामाजिक उत्तरदायीत्व बहन गर्दै आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाले आर्थिक सहयोग खातामा जम्मा गरिदिएको हो ।
संस्थाले यसअघि दंगीशरण गाँउपालिका, बंगलाचुली गांउपालिका, राप्ती सोनारी गाँउपालिका बाँके, घोराही उपमहानगरपालिकामा समेत सहयोग रकम हस्तान्तरण गरिसकेको छ ।