वडा कार्यालयमा ताला, जनप्रतिनिधि र कर्मचारी भ्रमणमा

दाङ,११ पुस । दाङमा एक वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयमा ताला लगाएर भ्रमणमा गएका छन । दंगीशरण गाउँपालिका वडा नं. ५ का जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयमा ताला लगाएर भ्रमणमा गएका हुन । वडा अध्यक्ष दिपक गौतमलगायत जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएपछि बुधवारदेखि वडा कार्यालयमा ताला लागेको छ । तीन दिनसम्म वडा कार्यालयमा ताला लाग्दा सेवाग्राही मर्कामा परेका छन ।

जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयमा ताला लगाएर भ्रमणमा गएपछि स्थानीय सेवाबाट बञ्चित भएका छन । वडाध्यक्षलगायतका जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएपछि आफुहरु सेवा बञ्चित हुनु परेको दंगीशरण गाउँपालिका वडा नं. ५ का स्थानीय शोभाकर न्यौपानेले बताए ।

वडा कार्यालयमा ताला लगाएर जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएको बारेमा आफुलाई थाहा नभएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले बताए । ‘वडा कार्यालयको टिम भ्रमणमा जाने कुरा थियो,त्यही अनुसार भ्रमणमा जानुभएको होला’,गाउँपालिका अध्यक्ष चौधरीले भने,‘तर वडा कार्यालयमा ताला नै लगाएर गएको बारेमा मलाई थाहा छैन ।’

यस विषयमा बुझ्न खोज्दा दंगीशरण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक गौतमको मोवाइन नं. ९८४७८९५६१९ अफ रहेको छ ।