विश्वव्यापी कोरोना भाइरसको संक्रमणको जोखिम दिनदिनै बढिरहेको अवस्थामा फेरि लकडाउनका अभ्यासहरु हुँदैछन् । यस अघि संघीय सरकारले मुलुकैभरि गरेको लकडाउनलाई अब स्थानीय पालिकाहरुले आ-आफ्नो विश्लेषण अनुरुप लकडाउनको अभ्यासमा छन् । कहीँकतै निषेधाज्ञा समेत जारी गरेको पनि अभ्यास देखिएको छ । संक्रमणबाट जोगाउने उच्चतम उपायका रुपमा संघीय सरकार एवं स्थानीय पालिकाहरुले लिइरहेका छन् । यद्यपि लकडाउनकै अवधिमा पनि अत्यावश्यक सवारी साधनहरुलाई भने अनुमति दिइने छ । जिल्ला प्रशासन कार्यालयले त्यस्ता सवारीसाधनहरुलाई सवारी पासको पनि व्यवस्थापन मिलाउने छ । स्थानीय तहहरुले सवारी पासको अनुमति दिनसक्ने छन् । यस्तै अभ्यास अनुरुप नेपालका करिब आधाभन्दा बढी भूभागमा लकडाउन आदेश जारी भइसकेको छ । सम्भवतः कोरोना संकट व्यवस्थापन केन्द्र दाङले पनि आइतवारदेखि फेरि लकडाउन गर्ने मनस्थिति बनाएको छ । चौतर्फी जनदबाब तथा संक्रमणको जोखिम पनि बढिरहेको अवस्थामा लकडाउन एउटा उच्चतम विकल्प पनि हुनसक्छ ।
अहिलेको आवश्यकता भनेको कोभिड-१९ को संक्रमणलाई समुदाय स्तरमा फैलन नदिनु नै हो । त्यसका लागि सामाजिक दूरी कायम गर्नु, भीडभाड भएको स्थानमा नजानु, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नु र शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिकताले भरपुर खाना खानु र नियमित व्यायाम गर्नु नै उपयुक्त हुन्छ, जुन नागरिकले गर्ने दायित्व हो । यो विषयमा स्थानीय सरकारको पनि आ-आफ्नै दायित्व रहन्छन् । संक्रमणको रोकथामका लागि उच्चतम विकल्प सम्भव भएसम्म संक्रमितलाई कोरोना विशेष अस्पताल पठाउनु नै हो । त्यसका लागि अस्पतालको क्षमता र सेवा विस्तारमा विशेष ध्यान दिनु आवश्यक छ । त्यसपछिको पाटो भनेको होम-आइसोलेशन हो । त्यो कतिसम्म सम्भव हुन्छ भन्ने विषयमा स्थानीय पालिकाको निगरानी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको निगरानी र परिवारका सदस्य स्वयम्को निगरानी पनि हो । यो अवस्थामा कोरोनाको संक्रमणलाई सामान्य अवस्थामा लिई संक्रमित व्यक्तिसँग अन्य निरोगी व्याक्ति पनि सम्पर्कमा आए भने त्योभन्दा ठूलो दुर्भाग्य अर्को कुनै हुने छैन ।
हो, जनताको चाहना पूणर् रुपमा लकडाउन हो । सम्भवतः पालिकाका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरुको उपस्थितिमा बसेको बैठकले लकडाउनको चाहनालाई सम्बोधन गर्ने छ । तर खासमा लकडाउन अवधि कतिका लागि हो र यो अवधिको बीचमा स्थानीय पालिकाहरुले के-के दायित्व निर्वाह गर्ने ? नागरिकले के-कस्तो भूमिका निर्वाह गर्ने ? क्वारेन्टाइन र आइसोलेशन वार्ड व्यवस्थापन कहाँ-कहाँ गर्ने ? अत्यावश्यक अवस्थामा विरामीहरुलाई उपचारका लागि अक्सिजन र सघन उपचारको व्यवस्थापन कसरी गर्ने भन्ने तयारीका लागि लकडाउन हुन उपयुक्त हुन्छ । खालि लकडाउन गरेपछि हाइसन्चोको मनस्थितिमा लकडाउनको उपदेयिता हुन सक्दैन । लकडाउनबीच संक्रमणलाई व्यवस्थित गर्ने योजना ल्याऊ । नागरिकले अर्थपूणर् लकडाउनको अपेक्षा गरेका छन् ,जसले संक्रमणको जोखिमलाई केही हदसम्म पनि घटाउने होस् ।