एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित, संक्रमितको संख्या ३५ हजार ५२९

दाङ,११ भदौ । नेपालमा एकैदिन आज कोरोना भाइरसका एक हजार १ सय ११ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार १११ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार यो पछिल्लो समयको सवैभन्दा धेरै संख्यामा वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।