दैलोमै टाँसिएका ड्राइभिङ सेन्टर हटाइयो
तुलसीपुर, ९ भदौ । यातायात व्यवस्था कार्यालयको एक किलोमिटर वरपर ड्राइभिङ सेन्टर तथा संस्थाहरु राख्न नपाइने नियम छ । तर तुलसीपुरमा भने यातायात कार्यालयको दैलोमै ड्राइभिङ सेन्टर रहेका थिए ।
निर्देशिका बमोजिम सबै संस्था र सेन्टरहरुलाई कार्यालयले हटाएको जनाएको छ । मौखिक जानकारी गराउँदा अटेरी गरी नहटाएपछि कार्यालयले १५ दिने सूचना जारी गरी सबै ड्राइभिङ सेन्टर तथा संस्थाहरु परिसर वरपरबाट हटाएको छ । यातायात कार्यालयको एक किलोमिटरभित्र रहेका सबै सेन्टर तथा संस्थाहरु हटाएको कार्यालय प्रमुख मित्रलाल ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार हाल एउटा पनि कार्यालय र बोर्डहरु त्यहाँ नरहेको जानकारी दिए । योसँगै अब यातायातमा हुने बिचौलियाहरुको बिगबिगी पनि अन्त्य भई सहज सेवा हुने अपेक्षा गरिएको छ ।
यातायात कार्यालय अगाडि हुने भीडभाड र जमघट पनि अब कम भएको कार्यालयले जनाएको छ । ‘हामीहरुले यसअघि मौखिक जानकारी दिएका थियौं तर मौखिकभन्दा कार्यान्वयन नभएपछि लिखित सूचना जारी गरेपछि हाल सबै अन्यत्र सरेका छन्’, उनले भने । ढकालले योसँगै यातायातमा सहजता र भीडभाड पनि कम भएको बताए ।
कार्यालयको दैलोमै ड्राइभिङ सेन्टर तथा यातायातसम्बन्धी काम गर्ने संस्थाहरु रहेकाले ज्यादै भीडभाड हुने गरेको र त्यसको पनि अन्त्य भएको उनले बताए । यातायात कार्यालयमा काम हुँदा तथा नहुँदा पनि त्यहाँका मानिस अनावश्यक जाने प्रचलन पनि धेरै थियो । त्यसको समेत अब अन्त्य हुने कार्यालयले जनाएको छ ।
‘यातायातकै कर्मचारी जस्तो देखिने र सेवाग्राहीहरु पनि झुक्ने अवस्था अब आउने छैन्’, उनीहरु कार्यालय परिसर भन्दा केही टाढा हुँदा सहजता हुनेछ’, कार्यालय प्रमुख ढकालले भने । कार्यालयमा आउने सेवाग्राहीहरुले उनीहरुबाट सेवा पाउने भए पनि त्यसको सटामा थप रकम पनि तिर्नृपर्ने बाध्यता थियो ।
‘काम छिटो हुने भन्दै सेवाग्राहीहरुले उनीहरुलाई ल्याएर काम गराउने गरेका थिए । त्यसको समेत अब केही हदसम्म अन्त्य हुने एक सेवाग्राहीहरुले बताए । ‘कार्यालय परिसरभन्दा एक किलोमिटर टाढा उनीहरु गएपछि अब भीडभाड पक्कै पनि कम हुनेछ’, प्रमुख ढकालले भने । यातायात विभागले पनि सहज सेवा र गलत गतिविधि हुन नदिन यो निर्देशिका ल्याएको कार्यालयका एक कर्मचारीले बताए ।
