Goraksha

National Daily

संक्रमितको संख्या ३२ हजार बढि, १५७ जनाको मृत्यु

दाङ,८ भदौ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ३२ हजार बढि पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

सोमवार २४६ महिला र ४९७ पुरुषमा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर १३८ जना आईसीयूमा रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा सोमवार आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीमा चार जना रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । आइतबार तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।