सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने व्यक्ति म छुः महामन्त्री कोइराला
दाङ,८ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतीमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको बताएका छन् ।
महाधिबेशन नजिकिदै जाँदा नेपाली काग्रेसमा सभापती पदका लागी दावी गर्दै महामन्त्री कोइरालाले देउवाको प्रतिस्पर्धी आफू मात्रै भएको दावी गरेका हुन ।
आगामी १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने बताए । ‘पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने हैसियत मसँग छ’–उनले भने–‘ रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न सक्दैनन् ।’
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको कोइरालाको भनाई थियो ।
पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने समेत बताए ।
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको भएको महामन्त्री कोइरालाको आरोप छ । आफु सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडी बढाउने दावी कोइरालाले गरेका छन् ।
तोकिएकै मिति फागुन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानमा ल्याउन सकिने उनको भनाई रहेको थियो । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।
अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताएका थिए । सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उनको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको समेत बताए । लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको कोइरालाको भनाई थियो ।
