Goraksha

National Daily

‘राजनीतिभन्दा कृषिमै सन्तुष्ट छु’

पूर्वमन्त्री लोकेन्द्र बिष्टको कृषि क्रान्ति

दाङ, ८ भदौ । राजनीति छोडेर कृषि व्यवसाय रोजेका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले दाङको बिजौरीमा ड्रयागनफ्रुटको उत्पादन गरेर विक्री गर्न सुरु गरेका छन् । पहिलो र दोस्रो लटको फल बेचिसकेका विष्ट अब तेस्रो लटको फल विक्री गर्दैछन् ।

फल उत्पादनका लागि करिब दुई वर्ष बढी ड्रयागनफ्रुटका लागि मिहिनेत गरे । करिब दुई वर्षमै विरूवाले फल दिन थालेपछि विष्ट उत्साहित समेत बनेका छन् ।
उनले लकडाउनका क्रममा करिब ११÷१२ क्विण्टल ड्रयागनफ्रुट बेचेको बताए । ड्रगनपु्रmट प्रतिकेजी सेतो सात सय र रातो आठ सय रुपैयाँका दरले विक्री गर्दै आएका छन् ।

उत्पादन भएको फल अहिलेसम्म फर्मबाटै विक्री भइरहेको समेत उनले बताए । ‘जिल्लामा नौलो प्रकारको फल भएकाले पनि होला अहिले फल फर्मबाटै विक्री भयो’–उनले भने–‘सुरु भएकाले थोरै फल दिने गरेको छ, पु¥याउनै गाह्रो भयो ।’ अहिले तेस्रो लटको फल पाक्ने तयारीमा भएकाले किन्न आउनेहरु रित्तै फर्कने गरेको समेत बताए ।

पहिलो लटमा रोपेका विरूवाले प्रतिबोट ४÷५ वटादेखि कुनै विरूवाले २५ वटासम्म फल दिएका छन् । पछिल्लो लटमा रोपेका विरूवाले फल दिने क्रममा रहेको समेत बताए । वहुपयोगी फलका रुपमा रहेको ड्रयागनफ्रुट फल विक्री गर्न समस्या नरहेको समेत विष्ट बताउँछन् ।

रुकुममा विद्यालय पढ्दापढ्दै राजनीतिमा लागेका विष्टले करिब चारदशक लामो राजनीति गरे । विद्यार्थी राजनीतिबाट माओवादी पार्टीमा प्रवेश गरेका विष्ट पार्टीको केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य, हेडक्वाटर, सांसद हँुदै दुई पटक मन्त्रीसम्म भए ।

तत्कालीन समयमा माओवादीले पुरानो राज्य व्यवस्थालाई परिवर्तन गर्दै नयाँ व्यवस्था स्थापनाको लागि गरेको सशस्त्र युद्धमा कमाण्डरका रुपमा लडेका विष्ट अहिले भने कृषि क्रान्तिको अभियानमा लागेका छन् ।

तत्कालीन राज्य व्यवस्था परिवर्तनका लागि लडेका उनी शान्ति प्रक्रियासँगै अघि बढ्दा पार्टीको मूल एजेण्डामा विचलन आएको उनी बताउँछन् । पार्टी नेतृत्व आफ्नो मुख्य उद्देश्यभन्दा पनि पुरानै व्यवस्थामा रमाउन थालेपछि २०७२ साल साउनको ३२ गते पार्टीको बैठकमा करिब डेढघण्टा लगाएर आफ्नो असन्तुष्टिसँगै तत्कालीन पार्टीको कृषि सहकारी विभाग प्रमुख समेत रहेका विष्टले पार्टीका सम्पूर्ण केद्रीय तहका नेतादेखि तल्लो स्तरसम्मका नेताहरुले राजनीतिसँगै कृषि उत्पादन वा व्यवसाय गर्नुपर्छ भन्ने कुरा राखे ।

तर उनको कुरालाई पार्टी नेतृत्वलगायतका नेताले पत्याएनन् । विष्टले पार्टीका नेतादेखि कार्यकर्ताहरु कृषि वा अन्य उत्पादनका कार्यमा जोडिनुपर्छ भन्ने मुख्य उद्देश्य फोहर बन्दै गएको राजनीतिलाई सफा गर्नका लागि थियो । राजनीति मात्र गर्दा पैसाका अभाव हुने र पैसाकै लागि नेताहरु भ्रष्टाचार, जालझेल, अपराध, सड्यन्त्रलगायतका क्रियाकलापमा लाग्दा राजनीति धमिलिनुका साथै पार्टीको मुख्य नेतृत्व मुख्य उद्देश्यबाटै विचलित हुने उनको डर थियो ।

तर पार्टीले उनको कुरा पत्याएन । शान्ति प्रक्रियामा आउँदा दशक लामो द्वन्द्व उपलब्धि रक्षा गर्ने, क्रान्तिका बाँकी काम सदन र सरकारबाट पूरा गर्ने र नभए फेरि फर्केर क्रान्ति गर्ने शर्तमा युद्धलाई विश्राम दिए पनि नेतृत्वले यी काम पूरा गर्नुभन्दा पनि पुरानो व्यवस्थामा रमाउन थालेपछि आपूm राजनीतिदेखि टाढा भएको विष्ट बताउँछन् ।

‘पुरानै संसदीय व्यवस्थामा रमाउने भए, दश वर्र्षीय जनयुद्ध गरेको अर्थ भएन’–उनले भने–‘त्यसैले जनयुद्धको मूल कार्यभार पार्टी नेतृत्वले भुलेपछि मैले पार्टी अध्यक्षलाई राजनीति बुझाएर बाहिरिएको हुँ ।’ करिब चारदशक लामो राजनीतिबाट अलग भएका विष्ट अहिले राजनीतिदेखि टाढा रहेका छन् ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को बिजौरीमा ड्रयागनफ्रुटको व्यावसायिक खेती गर्दै आएका विष्ट अहिलेको राजनीतिबाट सन्तुष्ट छैनन् । उनी राजनीति निश्चित समयका लागि गर्नुपर्छ भन्ने मान्नता राख्छन् ।

त्यही मान्यताका कारण राजनीतिबाट आपूmले विश्राम लिएर कृषि क्रान्तिमा जुटेको समेत बताए । ‘मेरो जीवनको उद्देश्य राजनीति गर्ने मात्र थिइन्, राजनीतिपछि कृषिमा लागेर आर्थिक क्रान्ति गर्ने उद्देश्य रहेको थियो’–उनले भने–‘अहिले म कृषि क्रान्तिमा लागेको छु, नयाँ अनुभूति भइरहेको छ, म यसैमा सन्तुष्ट छु ।’

नेपालमा राजनीतिलगायत उच्च ओहदामा पुगेको मान्छेले कृषि व्यवसाय गर्नै हुन्न भन्ने छ, त्यसलाई बदलेर नेताहरुले पनि जनतालेजस्तै श्रम गर्न सक्छन् भन्ने सन्देश दिनका लागि पनि आपूmले राजनीति छोडेर कृषि व्यवसाय रोजेको उनको भनाइ छ ।

त्यसो त उनी राजनीति छोड्नुको मुख्य कारण राजनीति जटिल बन्दै गएको बताउँछन् । ‘अहिलेको राजनीति असाध्यै जटिल बनेको छ, अँध्यारो कोठामा बसेर राजनीति चल्न थाल्यो, आम जनताका कुरा छाड्नुस् पार्टीकै केन्द्रीय नेताहरुले समेत पार्टीमा हुने निर्णय थाहा नपाउने अवस्था भयो, जसले देश र जनताको हित गर्दैन, त्यस्तै राजनीतिमा भ्रष्टाचार बढ्यो, राजनीति महँगो भयो, पैसा नहुनेले गर्न नसक्ने अवस्था आयो, राजनीति क्रिमिनल भयो, राजनीति आपराधिकृत र अपराध राजनीतिकृत बन्दै गएपछि मलाई पार्टीमा बस्न मन लागेन’–उनले भने–‘ राजनीति जटिल बन्दै गयो, हुँदा खानेले गर्नै नसक्ने खालको फोहरी, घुसखोरी र भ्रष्टाचारले डुबाउन थालेपछि म पार्टीमा बस्न सकिन ।’

राजनीतिलाई सेवाका रुपमा लिनुपर्ने भए पनि राजनीतिलाई जीवनभर गर्ने व्यापारको पेशाजस्तो बनाउँदा बिग्रिँदै गएको उनी बताउँछन् ।राजनीतिमा आफ्नो मिशन र जनताको सोचमा परिवर्तन आएपछि राजनीतिबाट व्याक हुने र अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने विष्टको मान्यता रहेको बताए । त्यसैले राजनीतिलाई जीवनको अन्तिम उत्तरार्धसम्म तन्काइरहनु हुँदैन भनेर कृषिमा लागेको उनी बताउँछन् ।

पार्टीका लागि जीवन नै बाजी मारेर सशस्त्र द्वन्द्वमा लागेका विष्ट दश वर्ष जेल जीवन समेत बिताएका छन् । दुई पटक संसद्सँगै एक पटक १४ दिनको स्वास्थ्यमन्त्री र दोस्रोपटक ६ महिना पर्यटनमन्त्री समेत भएका विष्टलाई अहिले राजनीतिभन्दा कृषि व्यवसाय प्यारो लाग्ने गरेको छ ।

२०७२ सालमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएका विष्टले सुरुमा काभ्रेको भकुण्डेबेसीमा कालोधानको खेती गरेका थिए । त्यहाँ राम्रो नभएपछि एक वर्ष काठमाडौंमा धान र गहूँखेती गरेका विष्ट त्यसपछि दाङमा कालोधानसँगै ड्रयागनफ्रुट खेती गर्दै आएका छन् ।

विष्टले करिब ३ विगाह ६ कठ्ठा जमिनमा ड्रयागनफ्रुटको व्यवसाय गर्दै आएका छन् । १५ वर्षलाई जग्गा भाडामा लिएर ड्रयागनफ्रुटको व्यवसाय गरिरहेका विष्टले ७ हजार ड्रयागनफ्रुटको विरूवाहरु रोपेका छन् । जसमा २ हजार ७ सय सेतो र ४ हजार ५ सय रातो प्रजातिको विरूवाहरु रापेको बताए ।

यी विरूवाहरुबाट पाँच वर्षमा लगानी उठाउने र दश वर्षसम्म नाफा लिने उद्देश्य समेत रहेको बताए । तीन जनाको संयुक्त लगानीमा सुरु गरेको व्यवसायमा करिब एक करोड बढी लगानी गरेको समेत बताए । विष्टले अहिले फलसँगै विरूवा समेत विक्री गर्दै आएका छन् ।