कुम जोडेर नाच्ने छैनन्, मुख जोडेर गाउने छैनन् चेलीहरु
लिलाधर वली
दाङ, ४ भदौ । यसबर्षको हरितालिका तीज आज मनाइँदैछ । सम्भव हुने महिला दिदी-बहिनीहरु माइत गएका छन् भने अधिकांश महिलाहरु अहिले घरमै तीज पर्व मनाउँदैछन् । विगतका बर्षहरुमा दर खाने दिनसम्म आइपुग्दा बजारदेखि गाउँघरसम्म तीजको रौकन छाइसकेको हुन्थ्यो । महिलाहरुसँगै पुरुषहरु समेत दर खाने र नाच्दै रमाइलो गरेका हुन्थे तर यो बर्ष त्यस्तो हुन सकेको छैन । कोरोना भाइरस त्रासका कारण अधिकांश महिलाहरु घरमै भए पनि तीज पर्वलाई रमाइलो र खुसी बनाउने तयारीमा जुटेका छन् ।
माइत गएर, आमा, दिदी-बहिनीलगायतका संगीहरुसँग मनका दुःख साट्ने र दर खाएर नाच्दै रमाइलो गर्ने इच्छालाई अर्को बर्ष थाती राखेर घरमै रमाइलो गरी तीज मनाउने तयारीमा लागेका छन् । लाग्छ यो बर्षको तीजमा कुम जोडेर नाच्ने छैनन्, चेलीहरु । कम्मर जुधाएर नाच्ने छैनन् चेलीहरु ।
माइत नगएर घरमै तीज मनाउँदासमेत अधिकांश महिलालाई कोरोना भाइरसको त्रासले भने छोडेको छैन । पछिल्लो समय दिनहुँ नेपालमा बढिरहेका कोरोना संक्रमितसँगै मृत्यु हुनेहरुको तथ्यांकले तसाईरहेको छ । त्यसैमा तीज पर्वका लागि बजारदेखि गाउँ फर्किएकाहरुसँगै नजिकै गाउँमा माइत हुनेहरु माइत आएका महिला दिदीसँगै सजक हुनुपर्ने अवस्था आइपुगेको घोराही उपमहानगरपालिका-५ धर्ना निवासी सदीक्षा बस्नेतले बताइन् । ‘विगतका तीजहरुमा पुराना साथीसँगै आफन्तीहरुसँग भेट गर्दा खुसी लाग्थ्यो, सँगै बसेर कुरा गर्न पाउँदा रमाइलो लाग्ने गथ्र्यो’, बस्नेतले भनिन्- ‘तर यो बर्ष साथीसँगै आफन्तीहरु घरमा आउँदा पनि तर्सिनुपर्ने अवस्था आएको छ । तीजमा एकै ठाउँमा जम्मा भएर कसरी नाच्ने ?’ उनले विगतका बर्षहरुमा तीज आउनभन्दा धेरै दिन पहिलेदेखि तीजका नाचगान गर्ने, पिङ हालेर रमाइलो गर्नेदेखि माइत आउने तथा जाने दिदीबहिनीहरुको संख्यामा आएको समेत बताइन् ।
गाउँघरमा मात्र होइन यो बर्ष सहरमा समेत तीजको रौनकता छैन । अघिल्ला बर्षहरुमा तीज आउने एक महिनादेखि नै होटलमा जम्मा भएर दर खाने, नाचगान गर्दा रमाइलो हुने सहर कोरोनाका कारण सुनसान बनेको छ । बर्ष दिनमा एकपटक आउने चाडमा रमाइलो गर्ने मन भए पनि कोरोना त्रासका कारण मन मार्नुपरेको घोराही उपमहानगरपालिका-१५ निवासी मिना थापाले बताइन् । कोरोना त्राससँगै सरकारले साँझ ७ बजेदेखि गरेको बन्दका कारण बजारसमेत सुनसान भएको उनको भनाइ छ । ‘कोरोना भाइरसको जोखिमसँगै सरकारले गरेको बन्दका कारण नाजगान नहुँदा अहिलेको तीज सुनसान रहेको छ’, थापाले भनिन्-‘एकअर्काको घरमा गएर दर खान सक्ने अवस्था भए पनि, जम्मा भएर नाच्न सक्ने अवस्था छैन ।’ विगतमा तीज आउन करिब एक हप्ता अघिदेखि नै आफ्नै घरमा नाचगान गर्ने र रमाइलो गर्ने गरेको अनुभव भए पनि यसपटक विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलने डरका कारण अहिलेसम्म नाच्न नपाएको उनले बताइन् । ‘गएका बर्षहरुमा आफ्नै घरमा पूरै टोलका जम्मा भएर नाचगान गर्दै रमाइलो गर्ने गरेका थियौं तर यो बर्ष त्यस्तो भएन’, उनले भनिन्- ‘बाँचियो भने अर्को साल फेरि सबैजना जम्मा भएर रमाइलो गरौंला, यो बर्ष घरमै तीज मनाउने सोचेकी छु ।’ उनले अहिले कोरोनाको जोखिम रहेकाले अन्य दिदीबहिनीहरुलाई समेत घरमै तीज मनाउन आग्रह गरेकी छिन् । सदीक्षा र मिना मात्र होइन अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण धेरै महिलाहरु घरमै तीज पर्व मनाउने तयारीमा जुटेका छन् । त्यही अनुसार जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले समेत अहिले कोरोना भाइरसको जोखिमको समय रहेको भन्दै महिलाहरुलाई घरमै तीज मनाउन समेत आग्रह गरेका छन् ।
