Goraksha

National Daily

युगपुरूषको अवसान : नेपाली साहित्यमा ठूलो रिक्तता

टिप्पणी
डा. कृष्णराज डिसी
वि.सं. १९७६ साल आश्विन ७ गते मंगलवारका दिन हालको गण्डकी अञ्चल, लम्जुङ जिल्लाको बाहुनडाँडास्थित भीरपुस्तुन भन्ने ठाउँमा पिता गौरीशंकर घिमिरे र माता द्रौपदीदेवी घिमिरेका जेष्ठ सुपुत्रको रूपमा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भदौ २ गते ५ः५५ बजे उनकै निवास काठमाडौंको लैनचौरमा भएको दुःखद् निधनले एक साहित्यिक युगपुरुषको अवसानमात्र होइन, एक युगकै अन्त्य भएको छ ।

खासगरी कवि शिरोमणि लेखनाथ पौड्यालले औपचारिकरूपमा नेतृत्व गरेको परिष्कारवादी भावधारा र महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेतृत्व गरेको स्वच्छन्दतावादी भावधारा दुबैको संयुक्तरूपमा नेतृत्व गर्दै आएका राष्ट्रकवि घिमिरेको अवसानसँगै आगामी पुस्ताका कुन स्रष्टाले यसको नेतृत्व लिन सक्लान् भन्ने प्रश्नचिन्ह यतिखेर नेपाली साहित्यमा उत्पन्न भएको छ ।

वि.सं. १९९२ साल भदौ १६ गतेको गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकको कविता प्रकाशन गरी आफ्नो साहित्यिक यात्राको औपचारिकरुपमा थालनी गरेका कवि घिमिरेको दुःखद् निधनले नेपाली साहित्यलाई अपूरणीय क्षति भएको छ । अघिल्लो पुस्ताका साहित्यकार लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटासँगैका कवि घिमिरेले मूलरुपमा फुटकर कविताहरु, खण्डकाव्यहरु, गीति नाटकहरु, गीत संग्रह, निबन्ध संग्रह, समालोचनात्मक ग्रन्थहरु आदिको प्रकाशन गरेका छन् ।

उनको जीवनको उत्तराद्र्धमा ‘ऋतम्भरा’ महाकाव्य सिर्जना भइसकेको छ । बीच-बीचमा आफू बिरामी हुनुको कारणले उनले सो महाकाव्य पूरा गर्न पाएका थिएनन् । सम्भवतः पछिल्लो चरणमा पूरा भयो होला भन्ने लाग्दछ । यदि सो महाकाव्य प्रकाशन भयो भने यसले नेपाली साहित्यमा नयाँ आयाम थप्ने आशा राखिएको छ । राष्ट्रकवि घिमिरेले आफ्नो साहित्यिक यात्राको प्रारम्भिक चरणका केही फुटकर कविताबाहेक खासगरी वि.सं. २००४ सालको ‘राष्ट्रिय झण्डा’ शीर्षकको कविताको प्रकाशनसँगै राष्ट्रवादी स्वर लिएर नेपाली साहित्यमा उदाएका हुन् ।

तत्पश्चात् उनका विभिन्न गीतहरु, फुटकर कविताहरुका साथै राष्ट्रनिर्माता (खण्डकाव्य), राजेश्वरी (खण्डकाव्य), धर्तीमाता (खण्डकाव्य), पापिनी आमा (खण्डकाव्य), मालती-मंगले (गीति नाटक), किन्नर-किन्नरी (गीत संग्रह), चैत-वैशाख (कविता संग्रह), हिमालपारि-हिमालवारि (गीति नाटक) आदिजस्ता उनका प्रायः समस्त रचनाहरुमा नेपाली प्रकृति, संस्कृति, भूगोल, हिमाल, पहाड, तराई, नदी, नाला, ताल-तलैया, विभिन्न धार्मिक स्थलहरु आदिलाई विषयवस्तु बनाएर शास्त्रीय छन्द विधानको अनुशासनभित्र रही उनले आफ्नो सिर्जनाहरुको रचना गरेको पाइन्छ । ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘तिम्रो प्रीति पहिले हो कि मेरो प्रीति पहिले’, ‘आजै र राति के देखेँ सपना, मै मरी गएको’, ‘फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा’, ‘आजभोलि दुख्दैन गोडा’, ‘शिरको टोपी भुइँमा राखी’, ‘यही हो मेरो मिथिला’, ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो’, ‘सारङ्गी त रेटे पनि बोल्छ मीठो धुन’ आदि शीर्षकका उनका विभिन्न कालजयी गीतहरुले नेपाली मन र मुटुलाई एकैचोटि स्पर्श गरेका छन् ।

यसको साथै कवि घिमिरेका अश्वत्थामा (गीति नाटक), शकुन्तला (गीति नाटक)ले महाभारतको विषयवस्तुलाई आत्मसात् गरी विश्व मानवतावादको वकालत गरेका छन् भने ‘बालकुमारी’ र ‘पापिनी आमा’ गीति नाटक तथा खण्डकाव्यले नेपालको सामाजिक संस्कृतिभित्रको विकृतिलाई उद्बोधन गरेका छन् । खासगरी संस्कृत साहित्यमा सर्वदर्शनशास्त्री राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय अखण्डतालाई जोगाउनका लागि आदिदेखि अन्त्यसम्म उनले दिएको विशिष्ट योगदानको कदर गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा उनलाई राष्ट्रकविको सम्मान प्रदान गरिएको थियो ।

कवि घिमिरेले आत्मसात् गरेको प्रवृत्तिगत विशेषता र समग्र राष्ट्रलाई दिएको योगदानको आधारमा उनलाई प्रदान गरिएको उक्त उपाधिले कवि घिमिरेलाई न्याय प्रदान गरिएको अनुभूति समग्र नेपाली स्रष्टाजगतलाई भएको हुनुपर्छ ।