Goraksha

National Daily

अट्वारीमा सार्वजनिक विदा

दाङ, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सहसचिव माधवराज मरासिनीले सूचना जारी गर्दै थारु समुदायको बड्का अट्वारी भदौ ७ गते परेकोले सोही दिन सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । प्रदेश सरकार (मन्त्रिपरिषद्का) २०७७ वैशाख १० गते निणर्य अनुसार दाङ, बाँके, बर्दिया जिल्लामा सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिएको उनले जानकारी दिए ।

हरेक वर्ष कृष्ण जन्माष्टमी अर्थात अष्टिम्की पछिको दुई आइतबार अर्थात कुशे औशीपछिको पहिलो आइतबार अट्वारी मनाउँदै आएकोले यस बर्षको भदौ ७ गते थारु समुदायले अट्वारी मनाउन लागेका हुन् । यसैबीच थारु समुदायको अट्वारीमा सार्वजनिक विदा दिएको भन्दै थारु संघसंस्थाहरुले प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूणर्बहादुर चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केबी चौधरी, ख्याल बगालका अध्यक्ष सवि थारु, थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरीलगायतले प्रदेश सरकारलाई धन्यवाद दिएका हुन् ।

संघीय लोकतन्त्र गणतन्त्र स्थापनापछि आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको कला, संस्कृति तथा चाडपर्वलाई सम्मान गर्दै राज्यले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिँदै आएको छ ।