५६ बोरा अवैध युरिया मलसहित पसल सञ्चालक पक्राउ
दाङ,३१ साउन । दाङको तुलसीपुरबाट प्रहरीले ५६ बोरा अवैध भारतीय युरिया मलसँगै पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
भारतीय अवैध यूरिया मल विक्रि वितरण भैरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा शनिवार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका–७ शिवनगर टोलमा रहेको आचार्य ट्रेडसबाट अवैध ५६ बोरा यूरिया मल बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।
‘तुलसीपुरको शिवनगरमा गौरा न्यौपानेले संचालन गरेको आचार्य टे«डसबाट अबैध भारतीय मल (युरिया) बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले छापा मारेको थियो’–प्रहरी प्रमुख सिंहले भने–‘संयुक्त प्रहरी टोलीले पसलमा छापा मार्दा पसल सञ्चालकसँग मल खरिद गरेको आवश्यक कागजपत्र नभेटिएपछि पसल सिल गरेर सञ्चालकलाई नियन्त्रणमा लिएका हौ ।’ उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको उनले बताए ।
भारतबाट भन्सार नतिरी अवैध तरिकाले भित्राएको मल आइतवार भन्सार कार्यालय पठाउने समेत डिएसपी सिंहले जानकारी दिएका छन् । ‘आज शनिवार भएकाले पसल सिल गरेका छौ’–उनले भने–‘भोली आइतवार उक्त मललाई भन्सार कार्यालय पठाउने तयारी भैरहेको छ ।’
लकडाउनका कारण जिल्लामा रासायनिक युरिया मलको अभाव रहेको छ । धान खेतीका लागि टिप गर्ने मल नपाउँदा केही दिन पहिले घोराही उपमहानगरपालिका–२ रामपुरका किसानहरुले हलो जुवाँसहित प्रदर्शन गरेका थिए ।
