प्रादेशिक अस्पताल ‘हाउसफूल’

खेमराज रिजाल
तुलसीपुर । पाठेघरमा बस्नुपर्ने बच्चा नलिमै हुर्कदा अत्यधिक रक्तश्रावले मृत्युको जोखिममा परेकी तुलसीपुरकी सरिता वलीले प्रादेशक अस्पताल तुलसीपुरमै सफल शल्यक्रिया सेवा पाएपछि मृत्युको जोखिमबाट मुक्त भएकी छिन् । चिकित्सकीय भाषामा एक्टोपिक प्रेग्नेन्सी भनिने सो समस्या सयौमा एक महिलालाई मात्र हुने गर्छ, त्यही सम्भावनामा उनको ८ हप्ताको भ्रुण देव्रेपट्टिको फेलोपियन ट्युवमा बढ्दै जाँदा नली फुटेर अत्यधिक रक्तश्राव भएको थियो ।

गम्भीर अवस्थामा अस्पताल आइपुगेकी सरितालाई अन्यत्र रिफर गर्न समयका हिसावले झनै जोखिम थियो । अस्पतालका गाइनोकोलोजिष्ट डा. शेखर थापाको नेतृत्वको टिमले उनको सफल शल्यक्रिया ग¥यो, त्यसमा एनेस्थेसियाको नेतृत्व डा. सगुनको टिमले गरेको थियो । मंगलवार उनको सफल शल्यक्रियासँगै दुइपोका रगत चढाइएपछि उनको स्वास्थ्य अहिले सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । पाठेघर खसेका महिला, पाठेघरमा मासु पलाएका, बच्चा निकाल्नका लागि शल्यक्रियालगायतका ४० शल्यक्रिया थापाले ११ दिनमै गर्न भ्याए । त्यसमा सरिता वलीजस्तै धेरै महिलाहरुले सेवा लिएका छन् ।

पछिल्लो समयमा प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्रवाह प्रभावकारी भएपछि बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । पछिल्लो एक महिनामै साना ठूला गरी कम्तीमा १ सय ८४ शल्यक्रिया भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रताप पोख्रेलले बताएका छन् । अस्पतालको मेडिकल रेकर्ड अनुसार मंसिर १ गतेदेखि पुस १ गतेसम्म मेजर अपे्रशन १६, माइनर अप्रेशन ४४, हाडजोर्नीको शल्यक्रिया ९ वटा, गाइनोतर्फ मेजर शल्यक्रिया ४७ र माइनर शल्यक्रिया ८ वटा रहेका छन् । बिरामीहरुको दैनिक फ््लो करिब १ सय ५० भन्दा बढी रहेको छ ।

हाल अस्पतालमा हाडजोर्नी विशेषज्ञ २, फिजिसियन २, जनरल सर्जन २, गाइनोकोलोजिष्ट २, छाला रोग विशेषज्ञ १, एनेस्थेसिया १, दन्तरोग विशेषज्ञ २, बालरोग विशेषज्ञ १ जना र ३ जना मेडिकल अफिसर रहेका छन् । यी विशेषज्ञ सेवासँगै अस्पतालमा स्वास्थ्य उपचारसेवा समेत सहज र प्रभावकारी बन्दै गएको मेसु पोख्रेलले गोरक्षलाई बताएका छन् । अब अस्पतालमा तत्काल नाक, कान, घाँटी र मानसिक रोग विशेषज्ञ उपलव्ध हुन सके सेवा थप प्रभावकारी हुने पनि बताए । यसका लागि अस्पताल प्रशासनले पहल गरिरहेको पनि उनले बताए ।

५० शैयाको प्रादेशिक अस्पताल तुलसीपुरमा अहिले बेड संख्या थपेर ९० पु¥याइएको छ । तैपनि कुनै पनि बेड खाली छैनन् । हरेक दिन बेड भरीभराउ रहेको अस्पताल प्रशासनले जनाएको छ । आकस्मिक कक्षमा पनि ११ बेड प्रायः खाली हुँदैनन् । हेमोडायलायसिस मेसिन थप गरी ५ पु¥याइएपछि सो अस्पतालमा हेमोडायलायसिस सेवा लिने मृगौला रोगीहरुको संख्या पनि ६० पुगेको छ । नेपाल सरकारको नीतिअनुसार सबैलाई निःशुल्करुपमा हेमोडायलायसिस सेवा उपलव्ध गराइँदै आएको अस्पतालले जनाएको छ । दैनिक दुई सिफ्टमा हुने सो सेवामा कन्सल्टेन्ट फिजिसियन डा. मीनचन्द्र अधिकारीले सेवा दिइरहेका छन् ।

अस्पतालमा बिरामी बढेसँगै भौतिक संरचना र प्यारामेडिकल जनशक्तिको अभाव भएको अस्पतालले जनाएको छ । अस्पतालमा तला थप्न अघिल्लो बर्ष आएको कम्तीमा १५ करोड रुपैयाँ टेण्डर प्रक्रिया नमिलेर भवन डिभिजन कार्यालयले रद्द गर्नुपरेको थियो । तर यो बर्ष पनि सो बजेट अस्पतालका नाममा आइसकेको छ । तर अझै पनि टेण्डर नभएको अस्पतालका निमित्त मेसु डा. पोख्रेलले बताए । त्यसैगरी बालरोग वार्ड निर्माण गर्न १ करोड रुपैयाँ बजेट आएको भए पनि त्यस कक्ष निर्माणको प्रक्रियासमेत अझै शुरु भएको छैन । भौतिक संरचनाको अभावका कारण अस्पतालमा विशेषज्ञ उपचार सेवा अनुसारका बिरामी भर्ना वार्ड हुन सकेका छैनन् । अस्पतालमा अहिले मेडिकल वार्ड र सर्जिकल वार्ड मात्र रहेका छन् । भौतिक संरचना निर्माण भइसकेको अवस्थामा बच्चालगायतका अन्य विभागीय भर्ना वार्ड निर्माण गर्न अस्पताल प्रशासन तयार रहेको मेसु पोख्रेलले बताए ।

भवनको टेण्डर खोलिदै

यसैबीच अघिल्लो बर्ष विभिन्न प्राविधिक कारणले रद्द गरिएको टेण्डर यो बर्ष फेरि खोलिने शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । अघिल्लो बर्ष विड रकम नमिल्दा टेण्डर स्वीकृत हुन सकेको थिएन । सो टेण्डरलाई रद्द गर्न केही समय लाग्ने भएकाले भर्खरै मात्र पहिलेको टेण्डर रद्द भइसकेको कार्यालयका इन्जिनियर नारायण वलीले गोरक्षलाई बताए । सडक, भवन, सिचाईलगायतका विभिन्न ठेक्का विभिन्न लटमा खोल्नुपर्ने भएकाले केही समय लाग्ने पनि उनको अभिव्यक्ति थियो । ‘एक साताभित्रै अस्पताल भवनको टेण्डर खोल्दैछौं’, इन्जिनियर वलीले भने ।

प्याडियाट्रिक वार्डको टेण्डर भने केही समयपछि मात्र खोलिने पनि उनले बताए । टेण्डर स्वीकृत भएसँगै हालको अस्पताल भवनको माथिल्लो तलामा अर्को फ्ल्याट थपिने बताइएको छ ।