लिलाधर वली
देवेन्द्रसिंह ठकुरी क्रिकेटका धेरै गेम खेलेका छन् । कति गेममा खेलाडी बनेर खेलेका छन् त कति गेममा कप्तानी समेत गरेका छन् । खेलको दौरानमा उनले कोचको भूमिका समेत पूरा गरेका छन् । त्यही भूमिका पुरा गर्दाको एउटा क्षण देवेन्द्रसिंह ठकुरीको खुशीको पल हो ।
मिति त भुलिए छ, तर १०–१२ वर्ष पहिलेको कुरा हो । नेपालमै पहिलो पटक नेपालगञ्जमा विद्यालय स्तरीय राष्ट्रिय महिला क्रिकेट खेल भएको थियो । त्यो खेलमा १७÷१८ वटा विद्यालयका महिला क्रिकेट टिमको सहभागिता रहेको थियो । त्यो खेलमा म कोचको रुपमा र सुदीप गौतम व्यवस्थापकका रुपमा भएर घोराहीको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको महिला क्रिकेट टिम लगेर नेपालगञ्ज क्रिकेट खेल खेल्न गएका थियौँ । दाङको त्यो जिल्ला बाहिर गएर खेल्ने पहिलो महिला टिम थियो । त्यो खेलको सेमिफाइनल खेलमा हामी भैरहवाको टिमसँग पराजित हुने अवस्थामा थियौँ ।
उनीहरुलाई जित्नका लागि ८ रनको आवश्यकता थियो । उनीहरुसँग सात विकेट बाँकी थियो । जुन हिसाबले उक्त टिमको जित लगभग निश्चितजस्तै थियो । हार्ने निश्चितजस्तै भएपछि हाम्रो टिम व्यवस्थापक सुदीप दाइले दाङ फर्कनका लागि गाडी समेत मगाइसक्नुभएको थियो । तर अहिले महिला राष्ट्रिय टिमबाट खेल्ने इन्दु बर्मा त्यही टिमबाट खेलिरहेकी थिइन् । उनलाई हाम्रो टिमले आउट गर्ने बित्तिकै हाम्रो महिला टोली एकाएक चम्कियो । उनीहरुलाई हराएर फाइनल प्रवेश ग¥यो । ‘त्यो खेल जित्दाको समय मेरा लागि निकै खुशीको क्षण हो’– उनले भने–‘त्यो गेममा म कोचको भूमिकामा थिएँ, आपूmले कोच गरेर गएको टिम उपविजेता भए पनि सेमिफाइनल गेम जित्दाको त्यो पल जीवनकै खुशीको क्षण हो ।
त्यस्तै अर्काे खुशीको क्षणका रुपमा लिन्छन् उनले पहिलो पटक जिल्ला स्तरीय क्रिकेट टिममा पर्दाको क्षणलाई । उनी २०५४ सालदेखि नै क्रिकेट खेल्न सुरु गरे । घोराही–१५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दा मैले क्रिकेट खेल्न सिके । मलाई क्रिकेट खेल्न सिकाउने गुरुको महत्वपूर्ण भूमिका रहेको छ । मैले उक्त विद्यालयमा पढ्दा विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठलगायतका सरहरु क्रिकेट खेल्नुहुन्थ्यो । सरहरु विद्यालयमा पनि खेल्नुहुन्थ्यो । हामीले रहर गर्ने भएकाले सरहरुले विद्यालयमा शिक्षक विद्यार्थीका दुई वटा टिम बनाएर क्रिकेट खेलाउने गर्नुहुन्थ्यो । म पनि त्यही टिममा उत्साहित भएर क्रिकेट खेल्ने गर्थे । सरहरुसँग खेल्दाखेल्दै मैले क्रिकेट खेल्न सिकेँ ।
२०५७ सालतिर भैरहवामा क्षेत्रीय स्तरको खेल खेल्न जानुपर्ने भयो । त्यतिबेलामा जिल्लामा कैलाश रोका, अशोक रोकालगायतका दाजुहरु जिल्लाबाट क्रिकेट खेल्ने गर्नुहुन्थ्यो । सायद मैले खेलमा राम्रो गरेकाले होला, मलाई भैरहवा जाने जिल्लाको टिममा राख्नुभयो । घोराहीमा क्रिकेट खेल्दै गरेको मलाई जिल्ला स्तरीय क्रिकेट टिममा छनोट हँुदाको त्यो क्षण मेरो जीवनको अर्काे खुशीको क्षण हो । जसलाई म मेरो क्रिकेट खेलमा विशेष क्षणका रुपमा लिने गरेको छु ।
त्यसपछि उनले थुप्रै क्षेत्रीय तथा राष्ट्रिय गेमहरु खेलेँ । ती गेमहरुमा कतियमा विजयी हासिल गरे भने कतिमा पराजिय भोगे । तर उनलाई अर्काे सम्झनलायक गेम हो दाङमा भएको अण्डर–१९ क्रिकेट प्रतियोगिता । त्यसको पनि समय त ठ्याक्कै थाहा छैन, तर मैले कप्तानी गरेर पहिलो पटक गेम खेल्दै थियौं । क्षेत्रीय गेममा दाङ, बाँके, बर्दियालगायतका जिल्लाहरुको सहभागिता थियो । जसमा हाम्रो जिल्लाको टिमलाई सबैभन्दा कमजोर टिम मानिएको थियो । जसमा सबैभन्दा बलियो टिम भनेको बाँकेको थियो । टिम जति बलियो भए पनि खेलमा केही भर हुँदैन भनेजस्तै त्यो बेलामा पनि खेल खेल्दै जाँदा कमजोर भनेको हाम्रो टिम फाइनलमा बाँकेसँगै प्रतिष्पर्धा गर्न पुगेका थियौँ । उक्त प्रतियोगितामा समान खेल प्रस्तुत गरेपछि दाङ र बाँकेलाई जोइन्ट वीनर घोषणा गरिएको थियो । त्यो क्षण पनि मेरो जीवनको अर्काे खुशीको क्षण हो ।
उनी खेलाडी मात्र होइन क्रिकेटका प्रशिक्षक समेत हुन् । ठकुरीले मलेसियामा गएर क्रिकेटमा टु लेवलको प्रशिक्षण समेत लिएका छन् । सन् २०१४ मा त्यो लेवलको प्रशिक्षण लिनका लागि नेपालबाट तीन जना छनोट भएका थिए । ‘नेपालबाट छनोट भएका तीन जनामा एउटा म पनि छनोट भएको थिएँ’–उनले भने–‘रहरै रहरमा क्रिकेट खेल्न सिकेको म, क्रिकेट प्रशिक्षणका लागि मलेसिया जान पाउँदा निकै खुशी लागेको थियो ।’ पहिलो पटक ठूलो विमान चढेर, ठूलो सहर पुग्दाको त्यो क्षण मेरो जीवनको अर्काे खुशीको क्षण हो ।’
सानैदेखिको खेलप्रतिको रुचिका कारण पढाई अघि बढाउन सकेनन् । जसका कारण उनले ठूलै जागिरको आश पनि गरेनन् । तर उनले दाङकै ठूलो विद्यालयका रुपमा रहेको पद्मोदयमा खेल शिक्षकका रुपमा २०६९ साल बैशाख ३० गते नियुक्ति पाए । ‘पैसा धेरै थिएन, तर जागिर खाएको अनुभव भने अर्कै हुने रहेछ’–उनले भने–‘त्यो बेला एक महिनामा कमाएको दश हजार रुपैयाँ बुबालाई दिँदाको त्यो क्षण पनि खुशीको क्षण हो ।’
ठकुरी २०४० साल पुसको १ गते बुबा भीमबहादुरसिंह ठकुरी र आमा सीताकुमारी शाहीको जेठो सन्तानका रुपमा घोराही उपमहानगरपालिका वडा नं. १५ को गौतम टोलमा जन्मिएका थिए । २०७२ सालमा यासिका चन्दसँग विवाह गरेका ठकुरीका एक छोरा छन् भने उनका एक भाइ र एक दिदी रहेका छन् । ठकुरी क्रिकेट संघ दाङ, भ्याली जुनियर क्रिकेट क्लव, नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला सदस्यमा आबद्ध रहेर विभिन्न काम गर्दै आएका छन् ।