स्रोताको मन छामिरहेको शान्त तलाउ…
तुलसीपुर, ३० साउन । एउटा रेडियो कार्यक्रम जसलाई सुनेर मानिसले सोच बदल्छन् । १८ वर्षदेखि मानिसमा सकारात्मक सोचको विकास गर्न निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रम हो, शान्त तलाउ । त्यही कार्यक्रमको मियो बनेर स्रोताको मन निरन्तर छामिरहेका छन्, तुफानवाबु श्रेष्ठ ।
‘रेडियो पनि सुन्छन् र ? भन्नेलाई उनका कार्यक्रमका श्रृंखलाहरु नै काफी छन्’, सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष अर्जुन गिरीले भने । नेपाली रेडियोको इतिहासमा शान्त तलाउ लिपिवद्ध हुने कार्यक्रम भएको उनले बताए । शान्त तलाउले शुक्रवार २ सय ५० वटा श्रृंखला पूरा गरेको छ ।
त्यस अवसरमा समीक्षात्मक कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रमका नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले समाज रुपान्तरणमा कार्यक्रमले अहम् भूमिका खेलेको बताए । केन्द्रबाट प्रशारित कार्यक्रम स्थानीय रेडियोले प्रशारण गरिरहेको अवस्थामा शान्त तलाउ स्थानीयस्तरमा उत्पादन भएर केन्द्रमा प्रशारण हुने नमुनायोग्य कार्यक्रम भएको भन्दै प्रशंसा समेत गरे ।
‘रेडियोमा कार्यक्रम सञ्चालन गर्नभन्दा तयारी गर्न गाह्रो छ ,उहाँले निकै तयारी गरेर कार्यक्रम सञ्चालन गर्नुहुन्छ’, उपाध्यक्ष पोख्रेलले भने । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले रेडियो कार्यक्रमको लोकप्रियताका बारेमा सुनेर उत्साहित भएको बताए । समाज रुपान्तरणका लागि रेडियो कार्यक्रमले खेलेको भूमिकाको उनले प्रशंसा समेत गरे । ‘हामी सबैको मिसन समाज परिवर्तन नै हो, यस्ता कार्यक्रमले समाजमा धेरै राम्रो भूमिका खेल्छन्’, सिहले भने ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले शान्त तलाउ गुणात्मक कार्यक्रम भएको बताउँदै निरन्तरताको कामना गरे । कार्यक्रममा कार्यक्रम सञ्चालक तुफानबाबु श्रेष्ठले सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य अनुसार कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
‘मेरो जीवनको अंशजस्तै भएको शान्त तलाउ’ उनले भने– ‘कार्यक्रम सञ्चालन गरेपछि स्रोतको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको छ ।’ शान्त तलाउको गौरबपूर्ण २ सय ५०औं श्रृंखलाको समीक्षा कार्यक्रममा मल्टिपल मिडिया प्रालिका प्रवन्ध सम्पादक संगीत बस्याल, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन, रेडियो पाठशालाका पूर्ण केसी, स्रोता मनोहरी थापालगायतले सफलताको कामना गरेका थिए ।
माधव कँडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वसन्त आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष देवबहादुर केसीले गरेका थिए ।
