Goraksha

National Daily

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

दाङ,३० साउन । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार बढि पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ९४ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका विरामी २५ हजार ५ सय ५१ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रवार मात्रै देशका विभिन्न जिल्लाहरुमा ५९४ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् ।

त्यसैगरी संक्रित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २४० जना डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए । त्यसैगरी उनका अनुसार हालसम्म १७ हजार ७७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रवारसम्म देशभर १४ हजार ६३८ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बढि जोखिमयुक्त स्थानमा निषेधाज्ञा समेत गरिदै आइएको छ ।