Goraksha

National Daily

नयाँ बजारमा शहरी स्वास्थ्य क्लिनिक सेन्टर सञ्चालन

दाङ,२८ साउन । बिरामीको स्वास्थ्य उपचारको व्यवस्था थप प्रभावकारी बनाउन दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा नयाँ बजार शहरी स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी शहरी स्वास्थ्य क्लिनिक सेन्टर संचालनमा ल्याउन लागिएको छ ।

सांसद विकास कोष स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त ५० लाख अनुदानबाट ४ कोठा र सौँचालय भएको भवन निर्माण गरी बिहीबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । भवनको प्रतिनिधि सभा सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन ।

वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सांसद महराले संविधानको निर्देशक सिद्धान्तमा शिक्षा स्वास्थ्य, रोजगारीलाई राज्यले उत्तरदायित्व बहन गर्ने कुरा उल्लेख गरिएपनि त्यो सही रुपमा कार्यान्वयनमा आउन नसकेको बताए । नागरिकको आधारभूत आवश्यकता पुरा गर्ने सवालमा राज्य चुक्न पुगेको उनको तर्क थियो ।

आफ्नो दायित्वबाट राज्य पन्छिएका कारण सबै कुरा व्यावसायिक बन्दै गएकाले सर्वसाधारणका लागि सहज सेवा पाउन कठिन बन्दै गएको उनको अभिव्यक्ति थियो । ‘हरेक कुरालाई नीजिकरण गरेर अघि बढ्न खोज्दा राज्यबाट नागरिकले सुलभ रुपमा आधारभूत सेवा पाउनबाट वञ्चित हुँदै गएको मैले महसुस गरेको छु, यो न्यायोचित हुनै सक्दैन’–उनले भने।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वसभामुख महराले आधारभूत सेवा प्रदान गर्न राज्यलाई उत्तरदायी बनाउन निरन्तर खबरदारी र दवाब आवश्यक रहेकोमा जोड दिए । प्राप्त भएका उपलब्धीलाई सकारात्मक रुपमा स्थानीय सरकारमार्फत अधिकतम प्रयोग गर्न अनुरोध गर्दै उनले आगामी दिनमा आफुले पनि नागरिकको स्वास्थ्य सेवालगायत आधारभूत आवश्यकतामा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरबासी स्वास्थ्यको अधिकारबाट कही कतै वञ्चित हुनु हुँदैन भन्ने मान्यताका साथ उपमहानगर अघि बढेको बताएका छन् । हरेक वडामा त्यहाँको आवश्यकतालाई मध्येनजर गर्दै स्वास्थ्य चौकी, स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्वास्थ्य क्लिनिकलगायत स्वास्थ्य सेवा केन्द्र सेवा प्रदान गर्दै आएको र त्यसको अवस्था अझ सुधार्दै लगेको बताए।

वडा नम्बर १४ मा निर्मित शहरी स्वास्थ्य क्लिनिक सेन्टरबाट प्रसुति सेवा सहितको अन्य सेवा पनि सहज रुपमा उपलब्ध गराउने गरी भवन निर्माण गरिएको हो । हालसम्म नयाँ बजार शहरी स्वास्थ्य केन्द्रबाट २ जनाले सेवा प्रदान गर्दै आएकोमा अब शहरी स्वास्थ्य क्लिनिक सेन्टरबाट ६ जना जनशक्ति व्यवस्थापन गरी सेवा प्रदान गर्न लागिएको घोराही उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।