कोभिडका बीच पनि यात्रा जारी छ
गोरक्ष दैनिक १६ औ बर्ष प्रबेश गर्दै गर्दाको प्रकाशकीय
यो वर्ष हामी अत्यन्त अप्ठेरो समयबाट गुज्रिरहेका छौँ । यतिबेला हामी मात्र होइन सिङ्गो विश्व नै कोभिड-१९ को महामारीबाट आक्रान्त भएको छ । यस परिस्थितिमा पनि हाम्रा ग्राहकवर्गमा सूचना, समाचार निरन्तर पुर्याइरहेका छौँ ।
हामी आजदेखि १६औँ वर्षमा प्रवेश गरेका छौँ । गोरक्ष राष्ट्रिय दैनिक पत्रिकाले विगतका वर्षहरुमा जस्तो भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन असमर्थ रहेको कुरा पनि जानकारी गराउँछु । यस वर्ष कार्यक्रमको आयोजना गरी पाठक र ग्राहकवर्गसँग प्रतिक्रिया लिनका लागि मञ्च तयार गर्न सकेनौँ ।
हरेक पलमा सँगै रहेका हामी र सम्पूणर् पाठक अनि विज्ञापनदाताबीचको सहकार्यले नै गोरक्ष दैनिकको यो यात्राको निरन्तरतालाई सम्भव तुल्याएको हो । यो अवसरमा हामी हाम्रा आदरणीय पाठकलाई सम्झिन चाहन्छौँ, जसले हामीलाई निरन्तर खबरदारी गरिरहनुभएको छ ।
लेखकहरु जो हाम्रो पत्रिकामार्फत् आम पाठकलाई वैचारिक बहसमा सामेल गराइरहनुभएको छ । पाठकहरु जसले रचनात्मक सुझावमार्फत् हामीलाई परिस्कृत हुन सुझाव दिइरहनुभएको छ । हरेक पलमा पत्रिका पुगेको नपुगेको खबर दिइरहनुभएको छ अनि विज्ञापनदाता, जसले हाम्रो आर्थिक पक्षको व्यवस्थापनमा महत्वपूणर् जिम्मेवारी निर्वाह गरिदिनुभएको छ ।
नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा यो पत्रिकालाई स्थापित गर्न खटिने हाम्रा सबै कर्मचारी सदस्यहरुप्रति पनि हामी आभार प्रकट गर्दछौँ । हाम्रा कर्मचारी समूह जो प्रकाशन गृहको हितका निम्ति रातदिन खटेको छ, आम पाठकको हातहातमा पत्रिका पुर्याउनका लागि जसले मिहेनत र लगनशीलता देखाइरहनुभएको छ, सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । गोरक्ष प्रकाशन हुँदा गरिएका यसका सैद्धान्तिक प्रतिबद्धताहरुबाट हामी पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ ।
आम मानिसको जनजीविकाको सहयात्री बन्ने हाम्रो ध्येयसँगै विधिको शासन र लोकतान्त्रिक संस्कारयुक्त समाज निर्माण हाम्रो प्रतिबद्धता हो । यस अनुरुप समाजका मुद्दाहरुलाई सम्बोधन गर्ने लोकतान्त्रिकीकरणको अभियानमा हामीले साथ दिँदै आएका छौँ ।
अहिले दाङका केही विशेष र दूरगामी महत्व राख्ने सवालहरु हाम्रा सामू उपस्थित छन् । हामीले हरेक मुद्दाहरुलाई स्थानीयतामै केन्द्रित गराउन पनि चाहन्छौ, यो गर्दै पनि आएका छौँ । स्थानीय विषयहरु पनि पत्रिकाका पहिलो समाचार बन्न सक्छन् भन्ने कुरा हामीले स्थापित गरिदिएका छौँ ।
यहीँका नागरिकको सवाल, उनीहरुको आवश्यकता, ती आवश्यकता पूर्तिका उपायहरुको खोजी र ती उपायहरुलाई कार्यान्वयनको तहसम्म पुर्याउनका लागि आवश्यक सामूहिक भावनाको विकास हाम्रो अर्को चाहना हो । हाम्रा प्रकाशनका हरेक सामग्रीहरु कसैप्रतिको आग्रह वा पूर्वाग्रहभन्दा पनि विशुद्ध जनआवाज हुन् ।
हाम्रो सम्पादकीय नीति, सीमित स्रोत र साधनको अधिक्तम् उपयोग गरेर आम पाठकको रुचिलाई समेट्ने क्रममा हामी कतिपय ठाउँमा चुकेका पनि छौँ होला । तर पनि हाम्रा पाठकहरुले त्यसलाई स्वीकार गर्नुभएको छ । हाम्रा कमी-कमजोरीले गर्दा पाठकमा पुग्ने असुविधाप्रति हामी क्षमा याचना पनि गर्दछौँ र आगामी दिनहरुमा यस्ता कमी-कमजोरीहरु सुधार्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।
आम पाठकको सबै रुचिलाई अझै पनि हामीले समेट्नसकेका छैनौँ र १६औँ वर्षको प्रवेशसँगै हामी अझै पाठकको रुचिअनुसार परिस्कृत हुँदै जाने प्रतिबद्धता व्यक्त गर्दैछौँ । र, यहाँहरुको आलोचनात्मक सहयोगको सदा अपेक्षा गर्दछौँ । पत्रिकामा लगानी कसैको भए पनि यो आम पाठकको सम्पत्ति हो । यो सम्पत्तिको जगेर्ना गर्नका लागि पाठकहरु स्वयम्को भूमिका आवश्यक पनि पर्छ । तर त्यसका लागि पाठकहरुले ‘यो मेरो पत्रिका हो’ भन्ने महशुस गर्ने गरी सामग्रीहरु पस्कनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।
हाम्रो यही प्रयत्न जारी छ । यो पत्रिकालाई तपाईहरुको अझ प्रिय पत्रिका बनाउने योजनाका साथ १६औँ वर्ष प्रवेशको यो सुखद् घडीमा हामी अविरल यात्रामा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
सुलाचना गौतम
प्रकाशक
