दाङमा पनि राष्ट्रिय परिचय

  •   
  •  

दाङ, १८ साउन । दाङमा पनि आइतवारबाट राष्ट्रिय परिचय-पत्र वितरण शुरु गरिएको छ । राष्ट्रिय परिचय-पत्र वितरण सम्बन्धी कार्यविधि, २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय दाङले पनि राष्ट्रिय परिचय-पत्र वितरण शुरु गरेको हो ।

जिल्लामा अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । केही दिनपछि इलाका प्रशासनमार्फत पनि काम शुरु हुने प्रमुख जिल्ला अधिकारी रिजाललेको भनाइ रहेको छ ।

राष्ट्रिय परिचय-पत्र जिल्लामा पहिलोपटक घोराही उपमहानगरपालिकामा उपप्रमुख सीता सिग्देल न्यौपानले बनाएकी हुन् । परिचय-पत्रमा नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृतरूपमा भण्डारण तथा अभिलेख हुने गर्दछ ।

ब्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचय-पत्रको रुपमा प्रयोग गर्न सकिने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचय-पत्र उपयोग गर्न सकिन्छ । हाललाई नागरिकताको प्रमाण-पत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचय-पत्र प्राप्त गर्ने ब्यवस्था छ ।