‘तपाईको मास्क खोइ ?’ भन्दै सडकमा पुलिस

  •   
  •  

लिलाधर वली
दाङ, १६ साउन । यो कार्यक्रम निर्देशनात्मक थिएन, प्रहरी र नागरिकको सहकार्यबीच भएको एउटा सचेतनामूलक अभियान हो । जसमा जिल्लाका प्रहरी प्रमुखकै नेतृत्वमा प्रहरीले आफुले मास्क लगाएर प्लेकार्ड बोक्दै पसल-पसल र चोक-चोकमा सचेतना जगाएका छन् । शुक्रवार दिउँसोको यो परिदृश्यले आम नगरवासीलाई फेरि कोरोनाको संक्रमणप्रति अझै थप गम्भीर हुन सिकाएको अनुभूति बजारबासीले गरेका छन् ।

‘यो केन्द्रीय क्वाटरको निर्देशित कार्यक्रमभन्दा पनि हामी आफैले समुदायलाई कोभिड-१९ को सचेतनाबाट जोगाउनका लागि गरेको एउटा कार्यक्रम हो’, जिल्ला प्रहरी प्रमुख गणेश चन्दले गोरक्षलाई भने ।

आफूहरु पनि स्वास्थ्य सचेतनामा केही भूमिका खेल्न सकिने भन्दै सामुदायिक प्रहरीको मिसनमा सहभागी भएको पनि जिल्ला प्रहरी प्रमुखको अभिव्यक्ति थियो । त्यसमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्कासहित सबै प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

सामाजिक दूरी कायम गर्न पनि उनीहरुले सिकाएका थिए, कोरोनाको सचेतनाका बारेमा पनि सिकाएका थिए, अनि मानव स्वास्थ्यलाई हेलचक्रयाइँ नगर्नसमेत नगरवासीहरुलाई आग्रह गरेका थिए । यो एउटा सकारात्मक अभियान थियो ।

‘लकडाउन त सकियो, तर कोरोनाको संक्रमणको जोखिम अझै उच्च हुनसक्छ, त्यसैले जिल्ला प्रहरी कार्यालयले नागरिकसँगको सहकार्यमा यो अभियान चलाएका हौं, त्यसैले पनि नागरिकलाई सचेत गराउन अझै दायित्व बढेको छ’, जिल्ला प्रहरी प्रमुख चन्दले गोरक्षलाई भने । लकडाउन सकिएको भनेर स्वास्थ्यमा खेलवाड नगर्न पनि उनीहरुले बजारबासी, उद्योगी, व्यवसायी, बैंककर्मीहरुलगायतका सबै तह र तप्कालाई सुझाएका थिए ।

लकडाउन खुलेसँगै बजारमा भीडभाड बढेपछि प्रहरीले घोराहीमा नयाँ अभियान शुरु गरेको नागरिकको बुझाइ छ । बजार निस्कँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्ने बातावरण बनाउनका लागि पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीहरुलाई सचेत बनाउने उद्देश्यले वडा प्रहरी कार्यालय घोराहीले दैनिकरुपमा ‘तपाईको मास्क खाई ?’ अभियान शुरु गरेको हो । दाङमा कोरोनाको जोखिम नहेटकाले जनतालाई सचेत गराउनका लागि प्रहरी लागेको वडा प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।

‘लकडाउन हटेपछि बजारमा भीडभाड बढेको छ, भीडभाड बढेपछि जोखिम हुने भएकाले अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै बिहीवारदेखि अभियान शुरु गरेका हौ’, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक रिमालले भने- ‘अभियानका क्रममा मास्क प्रयोग नगर्नेहरुलाई प्रयोग गर्न लगाएका छौं, पसलहरुमा सामाजिक दूरी कायम गरेर मात्र सामानहरु बिक्री गर्न र अनिवार्यरुपमा पञ्जा प्रयोग गर्न र पसलमा सेनिटाइजर राख्न लगाउनेदेखि ग्राहकका लागि गोलो घेरा बनाउन लगाउने गरेका छौं ।’

उनका अनुसार प्रहरीले सवारी साधनहरुमा पनि सामाजिक दूरी कायम हुने गरी यात्रुहरु राख्न र अनिवार्यरुपमा मास्कको प्रयोग गर्न लगाउने गरेको बताए । अभियानका क्रममा प्रहरीले मास्क गोजीमा राखेर हिँड्ने गरेका, कसैले मुखमा लगाउने मास्क चिउडोमा झुण्ड्याएर हिँड्ने गरेका र जानीजानी मास्क प्रयोग नगर्नेहरुलाई पहिलोपटक सचेत गराउने गरेको र दोस्रो पटक पुनः त्यसरी नै भेटाए कारबाही गर्ने समेत बताए ।

सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिने गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको सिकोअनुसार नै घोराहीमा सचेतनामूलक अभियान थालेको प्रहरी निरीक्षक रिमालले बताएका छन् । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पनि कोरोना संक्रमणको जोखिम रहेका पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन कम गरेकाले मास्क अनिवार्य लगाउनका लागि दबाव दिनुपरेको उनले बताए ।

त्यसका दिन प्रहरी बजारका चोकचोक तथा सडकहरुमा दैनिक एक पटक पुगेर सन्देश दिने गरेको प्रहरी निरीक्षक रिमालले बताए । ‘प्रहरीले जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेको हो, प्लेकार्डमा पनि ‘तपाईको मास्क खोई ?’ भनेर लेखेका छौं’, उनले भने- ‘जसले गर्दा हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझून् भन्ने हामो चाहना हो ।’ उनका अनुसार प्रहरीले अभियानका क्रममा बजारमा भेटिएका मास्क किन्नै नसक्ने अवस्थाका नागरिकहरुलाई मास्क निःशुल्क उपलव्ध गराउने गरेको छ ।

अभियानका क्रममा केही ज्येष्ठ नागरिक तथा बालबालिकाहरु पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताएपछि त्यस्ता व्यक्तिहरुलाई हामीले निःशुल्क मास्कसमेत दिने गरेका छौ । ‘बजारमा मास्क नलगाएर हिडेको भटिए किन्न लगाउँछौ’, उनले भने- ‘यदि कोही मास्क किन्नै नसक्ने अवस्थामा छन् भने जस्ता व्यक्तिहरुलाई निःशुल्करुपमा मास्क दिएर भए पनि प्रयोग गर्न लगाउने गरेका छौं ।’

कोरोना भाइरसबाट जोखिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरुपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिनसमेत सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको जोखिममा प्रहरीसमेत रहेकाले प्रहरीले लकडाउनका क्रममा घोराहीमा ‘स्टिकी क्याच’ तयार गरेर समात्ने गरेको थियो ।