६४४ कोरोना संक्रमित मध्य ६१० निको भएर घर फर्किए

लिलाधर वली
दाङ, १३ साउन । दाङमा कोरोना संक्रमित ६ सय ४४ जनामध्ये ६ सय १० जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरी आइसोलेसन सेन्टर लालमटिया, घोराही आइसोलेसन सेन्टरलगायतका ठाउँबाट सोमवारसम्म ६ सय १० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

सरकारले एकपटक पोजेटिभ रिपोर्ट आएर लक्षण नदेखिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेपछि दोस्रो पटक परीक्षणविनै घर पठाउन निर्देशिका जारी गरेसँगै क्वारेन्टाइन र आइसोलेसन खालि हुँदै आएका हुन् ।

उपचारपछि घर फर्किने बिरामीहरु सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका २ सय ६२ जना रहेका छन् । त्यसैगरी बंगलाचुली गाउँपालिकाका १ सय ५७ जना, तुलसीपुर उपमहानगरपालिकाका ४९ जना, लमही नगरपालिकाका २४ जना, गढवा गाउँपालिका ३५ जना, राजपुर गाउँपालिकाका १६ जना, राप्ती गाउँपालिकाका १९ जना रहेका छन् । त्यसैगरी दंगीशरण गाउँपालिका ३ जना, बबई गाउँपालिका २० जना र शान्तिगर गाउँपालिका १५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

३२ जना उपचारत

दाङमा कोरोना संक्रमितहरुमध्ये अब ३२ जनाको उपचार भइरहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा १४ जना र देउखुरी आइसोलेसन सेन्टर लालमटियामा १८ जना गरी ३२ जनाको उपचार भइरहेको छ । एकजनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट उपचारका लागि बुटवल रिफर गरिएको छ ।

क्वारेन्टाइनमा १ सय ९२ जना

दाङमा अझै क्वारेन्टाइनमा १ सय ९२ जना रहेका छन् । उनीहरुमध्ये २४ जना महिला र १ सय ६९ जना पुरुषहरु रहेका छन् । जिल्लाका दशवटा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १ सय २६ जना रहेका छन् । जसमा १ सय ६ जना पुरुष र २० जना महिला रहेका छन् ।

त्यसैगरी राजपुर गाउँपालिकामा २५ जना पुरुष, राप्ती गाउँपालिकामा १० जना पुरुप र एकजना महिला गरी ११ जना, दंगीशरण गाउँपालिकामा र बबई गाउँपालिकामा ७÷७ जना पुरुष, लमही नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना र शान्तिनगर गाउँपालिकामा ३ जना पुरुषहरु क्वारेन्टाइनमा बस्दै आएका छन् ।

उनीहरु भारतलगायत तेश्रो मुलुकबाट घर फर्किएकाहरु रहेका छन् । जिल्लाका दशवटा स्थानीय तहहरुमध्ये घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाले पछिल्लो समय तेस्रो मुलुक तथा भारतबाट फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने गरेका छन् ।

१४ वटा क्वारेन्टाइन

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लाका २ सय ३ वटा क्वारेन्टाइनमध्ये अहिले १४ वटा क्वारेन्टाइनहरु मात्र रहेका छन् । दश स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहका १४ स्थानमा क्वारेन्टाइनहरु रहेको जिल्ला आपतकालीन केन्द्रका प्रदेश सूचना संकलनकर्ता अजेन्द्र केसीले जानकारी दिएका छन् ।

उनका अनुसार देउखुरीको राप्ती गाउँपालिकामा ४ वटा, तुलसीपुर उपमहानगरपालिकामा ३ स्थानमा क्वारेन्टाइन रहेका छन् । त्यसैगरी लमही नगरपालिकामा २ स्थान, गढवा गाउँपालिका, राजपुरगाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाको १÷१ स्थानमा क्वारेन्टाइनहरुमा मात्र मानिसहरु बस्ने गरेका छन् ।