बेवारिसे बिरामीलाई आर्थिक सहयोग
गोरक्ष समाचारदाता
तुलसीपुर, १३ साउन । बिजौरीको सडकबाट प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएका एकजना अन्दाजी ४० बर्षका बेवारिसे बिरामीको उपचारसँगै खानपानका लागि स्थानीय समाजसेवीले आर्थिक सहयोग समेत गर्न थालेका छन् ।
अस्पताल प्रशासनले उपचारमा आनाकानी गरी भर्ना नलिएको गुनासा विभिन्न सन्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य जगप्रसाद शर्माले ती बेवारिसे बिरामीलाई पौष्टिक खानाका लागि भन्दै २ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहको रोहवरमा लोपोन्मुख राउटे तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा सामाजिक अभियन्ता यज्ञबहादुर बुढाले ती बेवारिसे व्यक्तिको स्वास्थ्य उपचार तथा खानपिनका लागि भन्दै ५ हजार रुपैयाँ अस्पतालका सुरक्षा इन्चार्जलाई उपलब्ध गराएका छन् ।
बोल्न नसक्ने र इशाराले मात्र बुझ्ने ती व्यक्ति कहाँका हुन भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । खुट्टामा भएको घाउ पाकेर किरा परेका ती व्यक्तिको घाउ सफागरी कम्तीमा ६० ग्रामजती किरा निकालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
यसैबीच बिजौरीस्थित नयाँपाइला पुनःस्थापना केन्द्र बिजौरीले मानसिक सन्तुलन ठीक नभएका जस्ता देखिने ती बेवारिसे व्यक्तिलाई स्वास्थ्यलाभ नहुञ्जेलसम्म आश्रय दिने तथा उपचारमा पनि सहयोग गर्ने जनाएको छ ।
संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले ती व्यक्तिलाई आश्रय र उपचार दिने सन्दर्भमा स्थानीय प्रहरी तथा तुलसीपुर उपमहानगरपालिकाको समेत ध्यानाकर्षण गराएको कार्यकारी निर्देशक भुसालले बताएका छन् ।